धरान÷ कोरोना संक्रमणले भन्दा पनि नेपालमा आत्महत्या गर्नेको संख्या बढी रहेको पाइएको छ । कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले गरेको लकडाउन अवधिभरि कोरोना संक्रमणबाट भन्दा पनि आत्महत्या गर्नेको संंख्यामा बृद्धि भएको पाइएको हो ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ जना हुँदा सरकारले गरेको लकडाउनको अवधिभरि नेपालमा झण्डै ११ सय जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
लकडाउनको अवधिमा खुलेर कही जान नपाउनु, साथीभाइसंगको भेटघाट निरन्तर नहुनु, कामधन्दा चौपट भएपछि विहान बेलुका छाक टार्न धौ धौ हुनु, करोडौ ऋणमा लिएर चलाएको व्यवसायमा पूर्ण रुपमा बन्द हुदा ऋण थपिदै जानु लगायतका विविध
कारणले यो अवधिमा संक्रमण भन्दा आत्महत्या भयावह अवस्थामा देखिएको हो ।
चैत्र ११ गते देखि सरकारले घोषणा गरेको लकडाउनको समयमा सुनसरीमा मात्रै ५९जनाले आत्महत्या गरेका छन् । त्यस मध्ये धरानमा मात्रै २० जनाले आत्महत्या गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्क अनुसार सबै भन्दा बढी विभिन्न पारिवारिक समस्या, दिर्घरोगीहरुले आत्महत्या गरेका छन् । चैत्र १३ गते देखि यता धरानमा १५ जना पुरुष र ५ जना महिलाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुमा १३ वर्ष उमेरका बालबालिका देखि लिएर ४० वर्ष उमेर समुहका मानिसहरु १५ जना रहेका छन् भने ४० वर्ष देखि ८५ वर्ष उमेर समूहका ५ जना रहेका छन् ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतका अनुसार सबै भन्दा बढी पारिवारिक कलहका कारण आत्महत्या भएको छ । त्यस पछि
दिर्घरोगीहरुले आत्महत्या गरेका छन् । उहाले लकडाउनकै कारण आत्महत्या गरेको नखुले पनि यो समयमा हेर्ने हो भने एक किसिमको तनावकै कारण, बाहिर घुमफिर बन्देज हुदा घरमै बस्नुपर्ने बाध्यता् जस्ता कुराले मानसिक तनाव भइ आत्महत्या गरेको हुन सक्ने बताउनुभयो ।
लकडाउनको समयमा सबै किसिमका सेवा सुविधाहरु ठप्प छन् । सामाजिक रुपमा घुलमिल नहुँदा, आफ्नो समस्याहरु समाधान गर्न नसक्दा तनाव बढ्दै गएपछि मानिसहरुले आत्महत्या गर्ने गरेको पाइएको छ । मनोरञ्जन तथा सामाजिक रुपमा सक्रियता नहुँदा तनाव व्यवस्थापन गर्न नसक्दा आत्महत्या गर्न सक्ने मनोचिकित्सकहरुको भनाई छ ।
कतिपय अवस्थामा औषधी खाइरहेको बिरामी जसले यो लकडाउनको कारण औषधीकालागि पहुँच नपुगेको अवस्थामा तनाव व्यवस्थापन गर्न नसक्दा आत्महत्या गरेको हुन सक्ने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मनोचिकित्सक डा. निदेश सापकोटाको भनाई छ । उहाँले तनाव व्यक्त गर्न नपाउनु, विद्यालय बन्द हुदा साथीभाईसँग भेटघाट नहुनु जस्ता कारणले धेरै मानसिक रोगहरु बल्झिने, नयाँ मानसिकहरु उत्पन्न हुन सक्ने सम्भावनाहरु रहेका कारण लकडाउनका समयमा आत्महत्याको घट्ना बढेको हुनस्क्ने बताउनुभयो ।
दैनिकजसो आत्महत्या र हत्या प्रयासको घटना बढेको कारण प्रहरीलाई समस्या भइरहेको छ । तनावको कारण मानिस डिप्रेसनमा जाने र यो नै आत्महत्याको प्रमुख कारण पनि बन्दै गएको छ । आत्महत्या गर्नेको संख्या बढ्दै जानुले समाजमा पनि नकारात्मक सन्देश फैलिदै गएको छ । त्यसलाई निरुत्साहित गर्न समाज, परिवारनै सचेत हुन जरुरी छ ।
