धरान÷नेपाल भारतको संयुक्त लगानीमा निर्मित दक्षिण एसियामै ख्याति आर्जन गर्न सफल नन्प्राक्टिसिङ मेडिकल कलेज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान यतिबेला चरितार्थ हुन थालेको छ ।
वर्तमान स्वास्थ्यमन्त्री भानुभक्त ढकालको जोडबलमा प्रधानमन्त्री केपी शर्मा ओलीको असहमति हुँदा हुँदै पनि उपकुलपतिको पद हत्याउन सफल विराट मेडिकल कलेजका सेयर होल्डर तथा सञ्चालक डा. ज्ञानेन्द्र गिरी पद वहाली गरेको एक महिना नपुग्दै आर्थिक अनियमितताका अनेकौ काण्डमा मुछिन थालेका छन् ।
अत्यन्तै हैकमवादी शैलीमा प्रशासन चलाउन खोज्ने डा. गिरीले प्रतिष्ठानका शिक्षाध्यक्ष, अस्पताल प्रमुख र कार्यकारिणी समिति सदस्यहरुलाई तर्साएर राख्ने अनि धमाधम आर्थिक निर्णयहरु एकल रुपमा गर्दै उठन्ती धन्दा चलाउने समान्तर संयन्त्र निर्माण गर्न समेत भ्याइसकेका छन् ।
उपकुलपति हैन, ‘खरिद अधिकारी’ जस्ता छन् डा. गिरी
डा. गिरी उपकुलपति भएर आएको भोलिपल्ट देखि नै निर्माण र उपकरण खरिद तिर ध्यान दिन थालेका छन् । हालको अस्पताल, कलेज तथा विद्यार्थी आवासमा उनले मुख पनि देखाएका छैनन् । कोरोनाको नाममा पूँजीगत खर्च गरी कमाउन सक्ने देखेर उनले विना कुनै छलफल र तयारी प्रतिष्ठानको रिह्याविलिटेशन भवनमा आर्थिक ऐन नियम मिचेर तोडमोड गरी १ सय शैøयाको कोरोना अस्पताल बनाएको घोषणा गर्दै प्रदेश न ं १ का मुख्यमन्त्री शेरधन राईबाट हतार हतार उद्घाटन गर्न लगाए । उनले उक्त अस्पताल उद्घाटन गराउनुको पछाडि कोरोना विरामीको उपचार भन्दा पनि सो अस्पतालको नाममा उपकरण खरिद गरी मोटो रकम कमिशन हत्याउनु हो भन्ने कुरा झापाबाट आएका २७ जना विरामीलाई १२ घण्टासम्म भर्ना लिन नसक्नुले प्रष्ट पार्छ । त्यसो त डा. गिरीको अधिकांश समय नै व्यापारी र मेडिकल माफियासँग उठबस र उनले प्रशासनिक सल्लाहकार भनि नियुक्त गरेका दिलिप भट्टराईसँग बसेर शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल र अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साह विरुद्ध षड्यन्त्र गर्नमा मात्र वित्ने गरेको र आफूहरुले प्रतिष्ठानको जरुरी कामले समेत भेट्न समय नपाउने गरेको प्रतिष्ठानका लेखा शाखाका एक अधिकृतले बताए ।

अघिल्लो दिन आफू अनुकूल मुल्यांकन समिति गठन गरी भोलिपल्ट २० करोड भुक्तानी
प््रातिष्ठानमा विगत दुई बर्षदेखि स्थगित रहेको मातृ शिशु भवनलाई सुचारु गर्न तत्कालीन कार्यवाहक उपकुलपति प्रा.डा. गुरुप्रसाद खनालले प्रयत्न गरी पूर्व स्वास्थ्य मन्त्री उपेन्द्र यादवबाट सुचारु गर्ने अनुमति लिइसकेको हुँदा उक्त कार्य अगाडि बढाउन र ठेक्काको म्याद थप गर्न कार्यकारिणी समितिमा निर्णय गरी मुल्यांकन समिति मार्पmत मुल्यांकन गरी भुक्तानी गर्नुपर्ने हुन्छ ।
यस कार्यमा करिब ३६ करोड भुक्तानी ठेकेदारलाई गर्नुपर्ने हुँदा डा. गिरीले नियुक्तिको दिनदेखि नै यसमा आखा लगाए । उनले रातारात तत्कालीन कार्यवाहक उपकुलपति प्रा.डा. गुरुप्रसाद खनालले गठन गरेको मुल्यांकन समिति विघटन गरेर डा.मोहनचन्द्र रेग्मीको अध्यक्षतामा आफू अनुकूल मुल्यांकन समिति गठन गर्दै कासमा कुनै छलफल नै नगरी आफ्नो निवासमा मुल्यांकन समितिका अध्यक्ष र ठेकेदारलाई राखी दुई बर्ष ठेक्का म्याद थप्दै त्यसैदिन अर्थात गत शुक्रबार १६ गते २० करोड भुक्तानी दिए ।
यस्तो विवादास्पद आयोजनासँग सम्बन्धित यत्रो ठूलो रकम भुक्तानी सम्बन्धमा का.स.मा कुनै निर्णय नगर्नु र आफ्नो निवासमा ठेकेदार बोलाएर सबै निर्णय गर्नुले डा. गिरीले रंगेहात समातिएका निवर्तमान उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई समेत उछिन्न थालेको प्रतिष्ठानका का.स.का एक सदस्यले बताए । त्यसो त डा. मोहनचन्द्र रेग्मी र केही दिन अगाडि टन्न रक्सी खाएर राति एक बजे प्रतिष्ठानका स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्ने डा. गिरीका प्रशासनिक सल्लाहकार दिलिप भट्टराई आजकल प्रत्येक दिन उपकुलपतिको कार्यकक्षमै बसेर नेपाल र भारतका मेडिकल सप्लायर्सँग डिल गर्ने गरेको चर्चा प्रतिष्ठानका शिक्षक तथा कर्मचारी चर्चा गर्ने गर्छन् । यस सम्बन्धमा बुझ्न पटक पटक उपकुलपति डा. गिरीसँग फोन सम्पर्क गर्दा उठेन ।
रातारात खरिद अधिकृत परिवर्तन
मूल्यांकन समिति आफू अनुकूल बनाए पश्चात डा.गिरीले खरिद अधिकृत सागर ताम्राकारलाई रातारात सरुवा गरेर सो स्थानमा आफू अनुकूलको मान्छेलाई राखेका छन् । डा. मोहनचन्द्र रेग्मीले सागरलाई राख्न मान्दै मानेनन् । रेग्मीकै सल्लाह अनुसार गिरीले ताम्राकारलाई हटाएको कर्मचारीहरु बताउछन् ।
सल्लाहकार नियुक्तिमा मासिक लाखौ खर्च
उपकुलपति डा. गिरीले प्रतिष्ठानका कर्मचारीहरुलाई बाइपास गरी कार्य गर्ने उद्देश्यले सल्लाहकार भन्दै विभिन्न व्यक्तिहरुको नियुक्ति गरी प्रतिष्ठानलाई मासिक लाखौ आर्थिक व्ययभार बढाएका छन् । उनले आर्थिक सल्लाहकारमा विर्तामोड झापाका बासुदेव चौधरी, प्रशासनिक सल्लाहकारमा दिलिप भट्टराई, कानुनी सल्लाहकारमा दुई जना नियुक्ति गरेका छन् । जसमध्ये विराटनगरका १ जना र अर्का काठमाण्डौका रहेका छन् । यसगरी इजिनियरिङ्ग सल्लाहकारमा विराटनगरका जीवी श्रेष्ठलाई नियुक्ति गरेका छन् ।
प्रतिष्ठानमा त्यत्रो ठूलो संख्यामा देशमै ख्याति कमाएका प्राध्यापकहरु हुँदा हँुदै किन त्यत्रो आर्थिक भार बढाएर सल्लाहकारहरु नियुक्ति गरिएको हो भनेर सबै चकित भएका छन् । यही प्रतिष्ठानका प्राध्यापकहरु मन्त्रालयदेखि विश्व स्वास्थ्य संगठन सम्मका सल्लाहकार छन् । यसरी अनेकौ मान्छेलाई सल्लाहकार नियुक्त गरेर उपकुलपतिले के गाइजात्रा गरेको भनेर कर्मचारीहरु बताउँछन् । त्यसो त जिन्दगीभरि निजी क्लिनिकमा विरामीसँग पैसा उठाउने आदत बसेका डा. गिरीले उपकुलपतिको हैसियतले सिधै माग्न नमिल्ने देखेर यसरी आफ्नो ‘उठन्ती समूह’ निर्माण गरेको जो कोहीले बुझ्न सक्छन् ।
कोरोना अस्पतालमा बिना टेन्डर करोडौ काम

डा.गिरी नियुक्ति भएर आएको भोलिपल्ट देखि नै १०० वेडको कोरोना अस्पताल निर्माणको नाममा विना टेन्डर सार्वजनिक खरिद ऐन नियम मिचेर धमाधम मेडिकल उपकरणर खरिद र निर्माण कार्य गराइरहेका छन् ।
करोडौ खर्च गर्दा पनि कोरोना विरामी आउँदा प्रतिष्ठानमा भर्ना गर्न समेत हारगुहार गर्नुपर्ने परिस्थिति हुनु उदेक लाग्दो छ । जनशक्ति व्यवस्थापन सम्बन्धी योजना विना नै कमाऊ खाऊको नियतले स्थापना गरिएको यो अस्पताल डा. गिरीको उठन्ती धन्दाको निमित्त सरकारसँग पैसा माग्ने भाँडो बनेको छ । अझ अस्पताल निर्देशकलाई भूमिका विहीन बनाएर डा. कृष्ण पोखे्रललाई नियम विपरीत यस अस्पतालको निर्देशक तोकेर डा. गिरीले आफ्नो ‘माग्ने भाँडो’ मा जम्मा रकम सिधै आफ्नो पकेटमा आउने वातावरण बनाएका छन् ।
रजिष्ट्रार नियुक्तिको सकस
प्रतिष्ठानमा रिक्त रहेको रजिष्ट्रार पदमा आफू अनुकूल व्यक्ति नियुक्ति गरेर आफ्नो उठन्ति समूहलाई पूर्णता दिन हिजो आज गिरी राजधानीमा छन् । रजिष्ट्रार बन्ने प्रयासमा स्वास्थ्य मन्त्री ढकालका भतिजा तथा मकालु टेलिभिजनका पूर्व निर्देशक धर्मकान्त ढकाल, प्रतिष्ठानका स्त्री रोग विशेषज्ञ डा. मोहनचन्द्र रेग्मी लागेका छन् । उपकुलपति डा.गिरी समेत सकेसम्म आफ्नो अनुकूल रजिष्ट्रार बाहिरबाट ल्याउने तर सो सम्भव नभएमा डा. रेग्मीलाइ नै नियुक्ति गर्ने सोचमा रहेको कुरा निजका प्रशासनिक सल्लाहकारले आफ्नो बेलुकाको सुरापानको भेलामा बताउने गरेका छन् ।
धरानको ओली समूह र प्रतिष्ठान बाहिरको उपकुलपति ल्याउन लाग्नेको छटपटी
प्रा.डा. गुरुप्रसाद खनाल र प्रा.डा.सञ्जिव शर्माले प्रतिष्ठान सञ्चालन गर्न सक्दैनन भनेर बाहिरबाटै उपकुलपति नियुक्त गर्न लाग्ने प्रतिष्ठानको स्वार्थी समूह तथा आफूले नियुक्ति गरेको उपकुलपतिबाट अकुत कमाउने आशा राख्ने धरानको नेकपाको ओली समूहमा अहिले सबै भन्दा बढी छटपटी देखिएको छ ।
उपकुलपति डा. गिरीले यी दुवै समूहलाई वाइवास गरेर आफ्नै सल्लाहकार समूह बनाएर आर्थिक क्रियाकलाप गर्न थालेकाले ती दुवै समूहको छटपटी अहिले हर्न लायक छ ।
