धरान १५ मा आगलागी, दुई जनाको मृत्यु

धरान, २२ जेष्ठ ः सुनसरीको धरानमा आगलागी हुदा दुई जनाको जलेर मृत्यु भएको छ ।
धरान १५ साम्पाङ्ग चौकमा रहेको नरबहादुर श्रेष्ठको घरमा आगलागी हुदा आमा छोरीको जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा ९७ बर्षीया आमा धनकुमारी श्रेष्ठ र उनकी छोरी ५२ बर्षीय सीता श्रेष्ठको मृत्यु भएको धरान प्रहरीले जनाएको छ ।
विहान ८ ः१५ मा आगलागी भएपछि आमा धनकुमारी बाहिर निस्कन सफल भएपनि छोरी अपांग –बोल्न नसक्ने) घरभित्रै चिच्याउन थालेपछि छोरीको उद्धार गर्न जाने क्रममा आगोको ज्वालाको मुस्लोको कारण बाहिर निस्कन नसक्दा दुवै जनाको मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
दुई तले काठको घरमा भएको भएको हो । आमा छोरी माथिल्लो फ्ल्याटमा बस्ने गरेका थिए भने एउटा कोठा विद्यार्थीलाई भाडामा दिएका थिए । आगलागीका समयमा आमा छोरीमात्र घरमा रहेको स्थानीयले बताएका छन् । नरबहादुर श्रेष्ठ समेत घरमा नभएको र छोरा राजन श्रेष्ठ जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटामा ट्राफिक प्रहरीमा कार्यरत हुनुहुन्थ्यो । आगलागीमा परिवारको मृत्यु भएको खबर आउने वित्तिकै उहा समेत घर आइपुग्नु भएको छ ।


आगलागीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, धरान उपमहानगरपालिकाको दुईवटा दमक, इटहरी नगरपालिकाको एउटा दमकलले आगो नियन्त्रणमा लिएको थियो ।
आगलागी भएको थाहा पाउनसाथ स्थानीय तथा आफन्त तारा शाक्यले धरान उपमहानगरपालिकाको वारुण यन्त्र, नगर प्रमुख तिलक राईलाई नै फोन सम्पर्क गरेपनि फोन नउठेको आफन्त एवम छिमेकी तारा शाक्यले गुनासो पोख्नुभयो । उहाले विहान ८ः १५ मा आगलागी भएपछि आगो नियन्त्रणा लागि सम्बन्धित निकायमा फोन गर्दा फोन रिसिभ नभएको र अन्तमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेलाई फोन गर्दा फोन रिसिभ भएपछि मात्र उद्धारका लागि प्रहरी आएको बताउनुभयो । उहाले खबर गरेको करिब १ घण्टापछि मात्र दमकल आएका कारण ठूलो क्षति भएको गुनासो उहाको छ ।
आगोलागी भएको देख्नेवित्तिकै सबैतिर खबर गर्दा पनि समयमा दमकल नआएका कारण मानवीय क्षति भएको आफन्त राजकुमार श्रेष्ठ बताउनुहुन्छ । आमाले छोरीलाई बचाउने क्रममा दुई जनाको ज्यान गएको दमकल आउन अझ ढिला भइदिएको भए अन्य घरमा पनि ठूलो क्षति पुग्ने उहाले बताउनुभयो ।
प्रहरीले भने समयमै पुगे पनि क्षति हुनबाट बचाउन नसिकएको बताएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले आगलागी के कारणल भयो र कति क्षति भयो भन्ने कुरा यकिन जानकारी नभएपनि आगलागीका कारण दुई जनाको मृत्यु भएको बताउनुभयो ।
हुन त धरान उपमहानगरपालिकाले विपत्तका समयमा तयारी नगरेकै कारण यसतो घटना घट्ने गरेका छन् । केही समय अगाडि धरान ८ को एक सुकुम्बासी टोलमा आगलागी हुदा समयमै दमकल नपुग्दा ठूलो क्षति पुगेको थियो । समय समयमा दमकल विग्रिरहनु पनि धरानमा आगलागीका घट्ना समयमै नियन्त्रण हुन नसकेका धेरै उदाहरण हुन् । विपत जोखिमका समयमा सम्पूर्ण संयन्त्र कोरोना भाइरस नियन्त्रणमा लागेका कारण पनि समयमै आगलागी नियन्त्रण हुन नसक्दा ठूलो क्षति भएको स्थानीयहरुको आरोप छ ।

तपाईको प्रतिक्रिया