कोरोनाको संक्रमण बढ्न नदिन धनकुटाको भेडेटारमा कडाई

धरान÷ विश्वभरि महामारीको रुपमा कोरोना भाइरसको संक्रमण फैलिदै गएको बेला पूर्वी पहाडी जिल्ला भित्रिने तथा बाहिरिने नाकाको रुपमा रहेको धनकुटाको भेडेटारमा अत्यन्तै सुरक्षित संयन्त्र अपनाइएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले मुलुकमा लकडाउनको घोषणा गरेसंगै यस्ता नाकाहरुमा कडाई गरिएको हो ।
धनकुटा र सुनसरीको संगम स्थलको रुपमा चिनिएको सागुरीगढी गाउपालिका वडा नं.६ मा रहेको भेडेटोर पर्यटकीय गन्तव्य स्थलको रुपमा नेपाल सरकारले सुचिकृत गरेको छ । यो स्थान हुदै भारत लगायत तराईका जिल्लाबाट पूर्वी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, भोजपुर, ताप्लेजुङ,संखुवासभा जाने मुख्यनाका नै भेडेटार हो भने यी पहाडी जिल्लाबाट तराईका जिल्लामा भित्रिने नाका पनि यही नै हो । यसलाई लक्षित गरी सागुरीगढी गाउपालिका, धनकुटा नगरपालिका, जिल्ला प्रशासन कार्यालय धनकुटा, जिल्ला प्रहरी कार्यालय धनकुटाले यहाबाट छिर्ने सवारी साधन र व्यक्तिलाई सुरक्षित भएर मात्र आउजाउ गर्न दिएको छ ।
पूर्वी पहाडी जिल्ला भित्रिने तथा धरानलगायत तराईका जिल्लामा भित्रिने सवारी साधनलाई त्यहाँ रोकेर सवारी साधनकै सेनेटाइइज गर्ने गरिएको छ भने सवारी चालक तथा त्यसमा आएका व्यक्तिको ज्वरो नापेर मात्र निस्किन दिने गरिएको छ । सागुरीगढी गाउँपालिकाको स्वास्थ्य स्वयम्सेविकामार्फत त्यहाँ ज्वरो नाप्ने गरिएको छ भने सवारी साधनमा सवारी धनीले नै सेनेटाइजर गरेर आउजाउ गर्न दिएको छ ।
गाउपालिकाबाट खटिएकी स्वास्थ्य स्वयम्सेविका सविता रम्जेलले यस नाकाबाट भित्रिने तथा बाहिरिने सबैलाई ज्वरो नाप्ने, ज्वरो नर्मल भएमा जाने अनुमति दिने र बढी भएको भए एकछिन बस्न लगाएर पुनः ज्वरो नाप गर्ने गरिएको बताउनुभयो । उहाले पुनः नाप्दा पनि ज्वरो बढी भएको पाइएमा उसलाई सम्बन्धित क्वारेन्टाइमा पठाइने बताउनुभयो ।
विशेष गरेर यस स्थानबाट आउतजावत गर्दा प्रशासनले अनुमति दिएका सवारी साधनहरुलाई मात्र छोडिने भएपनि व्यवहारिक रुपमा मरुमराउ, विरामी हुदा समेत छोडिदिने गरिएको त्यहा खटिएका सुरक्षाकर्मीहरुले बताएका छन् । इलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख प्रहरी नायव उपरीक्षक यदुकुमार खड्काले कोरोनाको जोखिमलाई मध्यनजर गरी सवारी साधन भित्रिने र बाहिरिने नाका भेडेटार भएकोले कडा गरिएको बताउनुभयो । उहाले पास लिएर आएका सवारी साधनको सेनेटाइजर गरेर र सवारीमा आएका व्यक्तिहरुको ज्वरो नापेर मात्र आउतजावत गर्न दिएको बताउनुभयो । उहाले यदाकदा मरुमरुवा र विरामी भएको अवस्थामा भने कडाइ नगरी सहज रुपमा छोडिदिने गरेको समेत बताउनुभयो ।
त्यहाबाट भित्रिने तथा बाहिरिने सवारी साधन तथा व्यक्तिको समेत लगत रखिने गरिएको छ । यसले गर्दा यहाबाट कति सवारी साधन भित्रिए, को को व्यक्तिहरु भित्रिए भन्ने रेकर्ड समेत हुने गरेको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा जोखिम नहोस् भनेर यसरी कडाई गरिएको प्रहरी प्रशासनले जनाएको छ । यसले धेरै जोखिम न्यूनिकरण हुने पनि स्थानीयहरुले विश्वास गरेका छन् ।

 

तपाईको प्रतिक्रिया