धरान ८ वैसाख ः धरान ८ लांगाली सामुदायिक वन उपभोक्ता समितिको भवनमा राखिएका सडक मानवमध्ये एक महिलालाई ज्वरो आएपछि धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले त्यहा रहेकाहरुलाई कोरोनाको टेष्ट शुरु गरेको छ ।
कोरोनाको जोखिम न्यूनिकरण गर्न राखिएका ८६ जनामध्ये त्यहा रहेकी एक महिलालाई ज्वरो आएपछि आरडिटी प्रविधिमार्फत टेष्ट शुरु गरिएको हो ।
पहिलो दिन १३ जनाको टेष्ट गरिएको छ । टेष्टपछि पोजेटिभ देखिएमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर प्रविधिमार्फत टेष्ट गर्ने र नेगेटिभ देखिए पनि १४ दिन क्वारेन्टाइनमा राखिने गरिएको स्वास्थ्य महाशाखा प्रमुख डा. उमेश मेहतोले जानकारी दिनुभयो ।
नेपालमा कोरोनाको संक्रमण वृद्धि हुदै गएपछि धरान उपमहानगरपालिकाले शंकास्पद व्यक्तिहरुलाई यो विधिबाट टेष्टलाई तिब्रता दिएको छ । उपमहानगरपालिकाले संक्रमण मुलुकबाट आएकाको धरान वडा नं. १ र १८ बाहेकका वडाका १ सय २५ वटाको लिष्ट नगरपालिकामा आएपछि टेष्टलाई तिब्रता दिन थालिएको मेहताले बताउनुभयो । उहाले सरकारबाट १ सय वटा किट आएकोमा हालसम्म ७६ वटा टेष्ट गरिएको र सबैमा नेगेटिभ रहेको बताउनुभयो ।
कोरोनाको जोखिम बढ्दै जादा धरानका चारवटा नाकामा शिल गरेसंगै शंकास्पद व्यक्तिहरुलाई समेत टेष्ट शुरु गरिएको छ । खासगरी कोरोनाको संक्रमण भएको मुलुकबाट आएका, क्वारेन्टाइनमा राखेका र अन्य शंकास्पद व्यक्तिहरुलाई धरान उपमहानगरपालिकाले वार्ड वार्डमै गएर कोरानाको टेष्ट गर्ने गरेको छ ।
