इनरुवा÷सुनसरी जिल्लाको भान्टाबारी स्थित कोशी व्यारेजमा इन्डो नेपाल सहायता कक्षको स्थापना भएको छ । भारतबाट नेपाल आउने मालवाहक सवारी साधन लगायत अन्य सवारी साधनलाई नेपाल प्रवेश गर्दाको अवस्थामा सहजताका लागि इन्डो नेपाल ट्रान्सर्पोार्ट कम्पनीले सहायता कक्ष गत हप्ता स्थापना गरेको हो ।
भारतबाट नेपाल आउने सवारी साधनहरुलाई यहाँको कानुनका बारेमा जानकारी नहुने भएकोले सहायता कक्षा स्थापना गरिएको बताइएको छ । कोशी गाउँ पालिका वडा नं. ८ मा स्थापना गरिएको कोशी व्यारेज सेतुबन्ध भन्सार कार्यालयका भन्सार अधिकृत प्रमोद दाश, सशस्त्र प्रहरी भान्टाबारीका विओपी प्रहरी निरीक्षक प्रेमसिंह विष्ट, कोशी व्यारेजका सहायक प्रहरी निरीक्षक विनबहादुर पाण्डे, व्यवसायी, स्थानीय राजनीतिक दलका नेता, भन्सार एजेन्टको उपस्थितिमा सहायता कक्ष स्थापना गरिएको हो । सो अवसरमा इन्डो नेपाल ट्रान्सपोर्ट कम्पनीका अध्यक्ष समेत रहेका वसन्त तिवारीले कम्पनीको प्रधान कार्यालय काँकडभिट्टामा रहेको र शाखा कार्यालय विराटनगरमा समेत रहेको जानकारी दिनुभएको थियो ।
