नोबेल कोरोना भाइरस (कोभिड १९) को हल्लासँगै धरानका सबै ग्यास डिलरबाट ग्याँस गायव आयल निगम भन्छ पर्याप्त छ अभाव छैन : सर्वसाधारण एउटा सिलिण्डरका लागि कैयौ दिन पर्खन बाध्य

धरान÷सोमबार धरान १० स्थित प्रिमा उद्योगको खाना पकाउने एलपी ग्याँसका तीनसय सिलिण्डर आयो । सर्वसाधारणहरुले दश दिन अगावै खाली सातसय सिलिण्डर डिलरमा बुझाएका थिए । अगाडि नै खाली सिलिण्डर बुझाउनेहरुले लाम लागेर बल्ल तल्ल एउटा पाए भने अन्य उपभोक्ताहरु न्यास्रो भएर फर्किए ।
धरानमा आधा दर्जन भन्दा बढी ग्याँस उद्योगका डिलरहरु रहेका छन । तर विगत दश दिन यता कुनै पनि डिलरमा खाना पकाउने ग्याँसका सिलिण्डर पाइदैनन् । अधिकांश डिलरले ग्याँस छैन नयाँ लैजाने हो भने ३ हजार ४ सय दिनुस् भन्दै धमाधम नयाँ सिलिण्डर बेची रहेका छन् । बाध्य भएर उपभोक्ताहरुले समेत नयाँ सिलिण्डर खरिद गरिरहेका छन् ।
नोवेल कोरोना भाइरस (कोभिड १९) को हल्लासँगै धरानका सबै ग्याँस डिलरबाट एक साथ खाना पकाउने एलपी ग्याँस गायव भएको हो । बजारबाट ग्याँस गायव भएको यो पहिलो पटक भने होइन । भुकम्प र मधेश आन्दोलनका समयमा पनि यसैगरी खाना पकाउने ग्याँस गायव भएको थियो । त्यसबेला समेत उपभोक्ताहरुले चर्को मूल्य तिरेर ग्याँस खरिद गरेका थिए । नेपाल आयल निगम भन्छ सरकारसँग पर्याप्त मौज्दात छ आत्तिनु पर्दैन । तर सर्वसाधारण एउटा सिलिण्डरका लागि कैयौ दिन पर्खन बाध्य छन् । पर्याप्त मौज्दात भए बजारमा किन खाना पकाउन ग्यासको अभाव भयो त ? यसै सम्बन्धमा नेपाल आयल निगम प्रदेश नं. १ विराटनगरका प्रमुख अशोक साह भन्नुहुन्छ हामीले व्यवसायीको माग बमोजिम बोटलिङ्ग तथा रिफलिङ्ग उद्योगलाई उत्पादन प्रडक्ट डेलिभरी अर्डर (पिडिओ) दिइरहेका छौं । आइतबारमात्र २६ बुलेट, सोमबार ३५ बुलेट र मंगलबार समेत ३४ बुलेट ग्याँस पूर्वाञ्चलका उद्योगका लागि भित्रिएको छ । धरानमा ग्याँसको अभाव भएको कुरा आफूलाई थाहा नभएको भन्दै त्यसमा के भएको हो तुरुन्त पूर्वाञ्चलका उद्योगीहरुसँग बुझ्ने पनि साहले बताउनुभयो । ग्याँसको अभाव हुन नदिन प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको भन्दै साहले प्रशासनसँग समन्वय गरेर बजार अनुगमन गर्ने र बदमासी गर्ने त्यस्ता डिलरहरुलाई कार्वाही गर्ने समेत बताउनुभयो ।
यसै सम्बन्धमा नेपाल आयल निगम केन्द्रीय कार्यालयका कार्यकारी निर्देशक
सुरेन्द्रकुमार पौड्यालसँग ९८५१२३१६८५ मा सम्पर्क राख्दा सम्पर्क हुन सकेन । तर आयल निगमको केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार सरकारसँग मौज्दात नभएर अभाव भएको होइन । विगतका घट्ना क्रमले उपभोक्ताहरु तर्सिएर चाहिने भन्दा बढी मात्रामा जगेडा राख्न थालेका कारण पनि बजारमा असहज देखिएको हुनसक्छ । निगम स्रोतका अनुसार फागुनमा नियमित कोटा अनुसार ४५ हजार मेट्रिक टन प्रडक्ट डेलिभरी अर्डर (पिडिए) जारी गरिएको छ । तर उपभोक्ताको माग बढेपछि पुन एक हजार टन प्रस्ताव गरेका छौेंं आयल निगम स्रोतले भन्यो । उसले दिएको जानकारी अनुसार पौषमा ३९ हजार १ सय २७ र माघमा ४१ हजार ट्रन ग्याँस आयात हुँदा पनि बजारमा अभाव थिएन । तर अहिले एक्कासी अभाव देखिनु उपभोक्ताहरुले आवश्यकता भन्दा बढी संचिति गर्न थालेकैले हो ।
उता एलपी ग्याँस उद्योग संघका अध्यक्ष गोकुल भण्डारीसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो सोमबारसम्म उद्योगीहरुसँग ७ लाख ४० हजार सिलिण्डर ग्याँस मौज्दात रहेको छ । यो मौज्दात कम हो भन्दै भण्डारीले सरकारले ५० हजार ट्रन आयातको अनुमति दिनुपर्छ । ५० हजार ट्रन आयात भएमा समस्या हुँदैन । भण्डारीले भन्नुभयो नेपालमा ४९ वटा ग्याँस कम्पनी छन् । उनीहरुका १ करोड ५ लाख सिलिण्डर छन् । अपवाद बाहेक ती उद्योगहरुले मासिक ३० लाख सम्म सिलिण्डर भर्ने गरेका छन् । विगतमा यत्तिकै परिमाण अर्थात ४५ हजार ट्रनले नेपालमा पर्याप्त पुगे पनि हाल न्यून देखिनुको प्रमुख कारण आत्तिएका उपभोक्ताहरुको सञ्चिति गर्नेै प्रवृत्ति नै भएको भण्डारीको तर्क छ ।
जे भएपनि कोरोना भाइरसको हल्लाले उपभोक्तामा पारेको प्रभावलाई ग्याँस उद्योगी, डिलरहरुले कालो बजारीको माध्यम बनाएका हुनसक्ने उपभोक्ता मञ्च सुनसरीका पूर्व अध्यक्ष धुव्रराज घिमिरेको कथन छ । उहाँ भन्नुहुन्छ अहिले उपभोक्ताहरु लाइनमा मात्र लागेका छन् । कारोना भाइरसका कारण
भारतले आफने नेपालसँग जोडिएका धेरै नाकाहरु बन्द गर्दैछ भन्ने सुनेको छु । यदि त्यसो भएमा ग्याँसको अभाव त्यसबेला देखिन्छ । अहिले लाइन लागेर भए पनि ८÷१० दिनमा एउटा सिलिण्डर पाउदैछन् । यसमा समयमै सावधानी अपनाउनु पर्ने पनि घिमिरेले बताउनभयो ।

तपाईको प्रतिक्रिया