हिमाल बचाऔं नदी जोगाऔं अभियानमा मानव अधिकार तथा शान्ति समाज

धरान÷हिमाल बचाऔ, नदी जोगाऔ भन्ने े मूल उद्देश्यका साथ मानव अधिकार तथा शान्ति समाजले आइबार बीपी
कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
मानव अधिकार, शान्ति,लोकतन्त्र अहिंसाको क्षेत्रमा काम गर्ने उद्देश्यले २०५३ साल जेठ १९ गते स्थापना भएको मानव अधिकार तथा शान्ति समाज एउटा स्वयम्सेवी संस्थाको रुपमा रहँदै आएको छ । अधिकारकर्र्मी, अहिंसा एवम् शान्तिवादी लोकतान्त्रिक आन्दोलनका अगुवा कृष्ण पहाडी समाजका अध्यक्ष रहनु भएको छ ।


वि.सं. २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनको पृष्ठभूमिमा लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ महत्वपूर्ण योगदान गरेको मानव अधिकार तथा शान्ति समाजले विगत १४ बर्षदेखि जलवायु परिवर्तन, विश्वव्यापी उष्णता र त्यसबाट परेको प्रभावका सम्बन्धमा सचेतना आन्दोलन सञ्चालन गर्दै आएको छ । धरानमा सम्पन्न कार्यक्रममा समेत जलवायु परिवर्तन, विश्वव्यापी उष्णताको दुस्प्रभाव र हिमालय क्षेत्रको विनाशका कारण हुन सक्ने विस्थापनलाई रोक्न बेला छँदै गम्भीर भएर आवश्यक कदम चाल्न समाजले ध्यानाकर्षण गराएको छ ।
शान्ति समाजद्वारा हिमालय बचाआ नदी जोगाऔ आन्दोलनका क्रममा सहभागी प्रस्तोता तथा वक्ताहरुले हिमालय बचाऔ आन्दोलनलाई सामुहिक र व्यापक बनाउनुपर्न कुरामा जोड दिएका थिए । शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी प्रमुख वक्ता रहेको गोष्ठीमा जलवायु परिवर्तन विश्वव्यापी उष्णता र विभिन्न क्षेत्रमा परेको प्रभावबारे दिल्ली पब्लिक स्कूलका प्रिन्सिपल पिके शंकरालिंघम, प्रा.डा.
पारस पोख्रेल, प्रा.डा. पशुपति चोधरीले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । मानव अधिकार तथा शान्ति समाज सुनसरी शाखाका सभापति पुरुषोत्तम घिमिरेको सभापतित्व र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा. गुरु प्रसाद खनालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शान्ति समाजका सभापति उत्तम पुडासैनीले नदी सफाई अभियान र फोहोर व्यवस्थापनका सम्बन्धमा आफ्ना धारणा राख्नु भएको थियो । समाजका महासचिव सुशिल बस्नेतले १० बुँदे अवधारणा प्रस्तुत गर्नुका साथै समाजको अभियानका बारेमा उपसभापति गोविन्द खनालले जानकारी गराउनु भएको थियो । त्यस अवसरमा कवि अर्जुन पराजुलीले वातावरण संरक्षण लगायतका विषयमा कविता वाचन गर्नुभएको थियो भने प्राध्यापक, डाक्टर, विद्यार्थी लगायत झण्डै २ सय जनाको कार्यक्रममा सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया