धरान÷सुनसरी उद्योग वाणिज्य संघ धरानको आयोजना, प्रदेश नं. १ सरकार, नेपाल उद्योग वाणिज्य महासंघ, धरान उपमहानगरपालिकाको प्रवद्र्धन, गोरखा बु्रअरीको मुख्य प्रायोजन तथा ग्लोबल आइएमई बैंकको प्रायोजनमा फागुन १५देखि शुरु भएको औद्योगिक मेला यतिबेला सबैका लागि आकर्षणको केन्द्र भएको छ ।
फागुन २४ गतेसम्म सञ्चालन हुने औद्योगिक मेलामा नेपालसँगै भारत, बंगलादेश, पाकिस्तानका औद्योगिक उत्पादनहरु रहेका छन् । औद्योगिक उत्पादहरुसँगै खेल तमासा, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुबाट हरेक साँझ आगन्तुकहरुको मनोरञ्जनका लागि आयोजकले आयोजना गरेका कार्यक्रमहरु औद्योगिक मेलाका थप आकर्षण बनेका छन् ।
यद्यपि, औद्योगिक मेलामा बाहिर तथा नेपालका दुर दराजबाट स्टल राखेर बसकोहरुको गुनासाहरु पनि देखिने गरेको छ । खास गरेर कमजोर सुरक्षा अवस्था, स्टलहरुमा व्यवसायिका लागि आधारभूत आवश्यकताहरु नभएको, स्टल शुल्कमा द्वैध नीति अर्थात कमजोर व्यवस्थापन
रहेको व्यवसायीहरु बताउँछन् । संखुवासभा अल्लो ऊनी तथा सूर्ति कपडा उद्योगका सञ्चालक नरेन्द्रकुमार राई भन्नुहुन्छ मेलामा व्यवस्थापनको धेरै कमजोरी देखिएको छ । खासगरी शान्ति सुरक्षाको अवस्था फितलो छ । एउटा मोवाइल चार्ज गर्न समेत स्टलमा व्यवस्था छैन । विराटनगरको एक्सो समाप्तीपछि धरान आएका राई भन्नुहुन्छ विराटनगर धरान औद्योगिक मेलाको तुलना नै हुन सक्दैन । विराटनगरको एक्स्पो अत्यन्तै व्यवस्थित थियो । राई भन्नुहुन्छ तै पनि जे जति भएको छ ठीकै छ ।

राइले संखुवासभा अल्लो ऊनी तथा सुती कपडा उद्योग वि.सं. २०५० सालबाट शुरु गर्नुभएको हो । उहाँले विराटनगरको एक्स्पोमा चार लाख बराबरको समान विक्री गरेको सुनाउनु भयो । हाल स्टलमा १० लाख बराबरको सामान राखेर बस्नु भएका राई धरान औद्योगिक मेलामा खासै व्यापार होला जस्तो नदेखिएको बताउनुहुन्छ । उता झापाको शनिश्चरेबाट आउनु भएका शिवबाबा अचार जुस घरेलु उद्योगका प्रोपाइटर दिनानाथ शिवाकोटी राई जस्तो निराश देखिनु हुन्न । उहाँ भन्नुहुन्छ काम गर्दै जाँदा केही कमजोरी हुन्छन् । हामी व्यापार गर्न भन्दा पनि आफ्ना उत्पादनहरुको प्रचार तथा प्रवद्र्धन गर्न आएका हौं । नौ दिनमा ठूलो अंकमा व्यापार होला भन्ने पनि छैन । आफ्ना परिवारसँगै बाहिरका समेत गरी आफ्नो घरेलु उद्योगमा आठ जनाले काम गर्ने गरेको सुनाउदै शिवाकोटी भन्नुहुन्न्छ मैले यो घरेलु उद्योग २०६६ सालदेखि शुरु गरेको हुँ । जुस, अचार उत्पादनमा २० औ बर्षको अनुभव समेट्नु भएका शिवाकोटीको स्टल विराटनगरको विराट एक्स्पोमा ३४० मध्ये सर्वोत्कृष्ट भएको थियो ।
जुस अचार उत्पादन सम्बन्धी प्रशिक्षक समेत रहनु भएका शिवाकोटीले हालसम्म ९० वटा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिसक्नु भएको छ । त्यसबाट अर्थात त्यस्ता प्रशिक्षणबाट हालसम्म ४ हजार भन्दा बढी प्रशिक्षित भइसक्नु भएको र अधिकांशले यतिबेला घरैमा जुस, अचार उत्पादन गरेर विक्री वितरण गर्दै आएको समेत उहाँले बताउनुभयो । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघको निवर्तमान सदस्य समेत रहनु भएका शिवाकोटीले धरान औद्योगक मेलामा एक लाख ५० हजार मूल्य बराबरको समान स्टलमा राख्नु भएको छ ।
उता शितल थोपा सिँचाई प्रविधिको स्टल राखेर बस्नु भएका लोकेन्द्र थापा उत्साहित देखिनुहुन्छ । कृषि सम्बन्धी दर्जन भन्दा बढी अत्याधुनिक उपकरण लिएर बस्नु भएका थापा शितल थोपा सिँचाई प्रविधि नेपालको एकमात्र उद्योग रहेको बताउनुहुन्छ । काठमाण्डौबाट उत्पादित कृषि प्रयोजनका सामाग्रीसँगै शितल थोपा हाल कृषहरुका लागि बरदान नै सावित भएको छ । शितल थोपा कार्यक्रम धरानका लागि अत्यन्तै उपयोगी हुने थापाको कथन छ । शितल गोपा कार्यक्रमबाट तरकारी उत्पादन अत्यन्तै राम्रो भएको छ । अन्य प्रविधिबाट सिँचाई गर्दा माटोको माथिल्लो भागबाट पानी जाने हुँदा चाँडै सुक्ने, माटो जाम हुने हुन्छ तर यो प्रविधिबाट सिँचाई तलबाट हुन्छ । माटोको चिस्यान समेत धेरै समय रहने उहाँले बताउनुभयो । मेलामा व्यवस्थापन सम्बन्धमा उहाँ भन्नुहुन्छ समग्रमा ठीकै छ ।
नेपाल बाहिर अर्थात बंगलादेशबाट गार्मेन्ट्सका सामान लिएर आउनु भएका कलाम हुसैन औद्योगिक मेलाप्रति उत्साहित हुनुहुन्छ । नेपालमा आयोजना हुने प्रायजसो सबै औद्योगिक मेलामा सहभागिता जनाउदै आउनु भएका हुसैन राम्रोसँग नेपाली भाषा बोल्न र लेख्न जान्नु हुन्छ । करिब १० लाख मूल्य बराबरको लेडिज,जेन्ट्स, बच्चाका फिटिङ सम्बन्धी गार्मेन्ट्सको सामान लिएर बंगलादेशबाटै आउनु भएको हो । उहाँले विराटनगर एक्स्पोमा समेत ३लाख बरारबरको सामान विक्री गरेको सुनाउदै धरानमा पनि त्यही हाराहारीमा समान विक्री हुने विश्वास हुसैनको छ । यसैगरी पाकिस्तानबाट आएका सम्पूर्ण लेदर सामानरुको स्टल औद्योगिक मेलाको आकर्षक बनेको छ । अल मदिना पाकिस्तान इन्टर नेशनलबाट उत्पादित लेदरका ज्याकेट, कोट, लङकोट ओभरकोट, लेडिज एण्ड जेण्डस् व्याग, वालेट जस्ता सामानले औद्यागिक मेलामा जानेहरुको ध्यान तानेको छ । अल मदिना पाकिस्तान इन्टर नेशतलका सञ्चालक साजिद अन्सारी भएपनि मेलामा उद्योगका प्रतिनिधिको रुपमा विलाल अन्सारी र याकुव गिलानीले स्टल सञ्चालन गर्दै आएका छन् । दुवै पाकिस्तानी नागरिक हुन् । उनीहरुले विराटनगर एक्स्पोमा समेत स्टल राखेका थिए । स्टल सञ्चालक विलाल अन्सारी भन्नुहुन्छ धरान औद्योगिक मेलाका लागि हामीले ३० लाखको सामान ल्याएका छौं हेरौ कस्तो व्यापार हुन्छ ।
उद्योग वाणिज्य संघ सुनसरीका सदस्य अनिल सिंघल भन्नुहुन्छ मेला अत्यन्तै राम्रो व्यवस्थापनमा सञ्चालन भइरहेको छ । नेपाल, भारत, बंलादेश पाकिस्तानका औद्योगिक उत्पादनका आलावा थाइल्यण्डमा उत्पादन भएका मोटर साइकल समेत मेलामा राखिएको छ । ८४ वटा स्टल रहेको औद्योगिक मेलामा कृषि जन्य उत्पादन, औद्योगिक उत्पादन, बराहको किचन घर, रमपम (एसिएन थाइ फुड्स प्रा.लि.) को स्टल, सेन्चुरी मसलाको स्टल, ग्लोबल बैंक र सनराइज बैंक, विराटनगरको प्लाटिक्स उत्पादन, नेपालका ९ वटा कम्पनीबाट उत्पादित जुत्ता चप्पल, नेपाल प्लाष्टिक्स इण्डष्ट्रिज प्रालिका प्लास्टिक्सका पाइप उत्पादन लगायत धरानस्थित विजयपुर हस्पिटल प्रा.लि.ले निःशुल्क स्वास्थ्य परीक्षणको स्टल समेत राखेको छ् ।
मेला व्यवस्थापनमा कुनै कमजोरी भएको छैन-गिरीधारी सापकोटा, अध्यक्ष, सुनसरी उद्योग वाणिज्य संघ
औद्योगिक मेला लगाउनुको मुख्य उद्देश्य के हो ?
–औद्योगिक व्यापार मेला भनेको प्रदर्शन पनि हो । यसमा सबैभन्दा बढी फोकस हामीले नेपाली उत्पादनलाई गरेका छौ, अर्गानिक उत्पादनहरुलाई गरेको हो । हाम्रो उद्देश्य पनि यही हो ।
अर्गानिक सामानहरु मेलामा कहाँ कहाँबाट आएका छन् त ?
–सामान्यतया स्थानीय नै छन् । घरेलु उद्योगहरु आएका छन् । खाँडीका कपडा आएका छन्, ढाकाका कपडा आएका छन्, जुम्लाका स्याउहरु आएका छन् । जुम्लाबाट मार्सी चामल, दाल लगायत आएका छन् । यसका अलावा बाहिरबाट पाकिस्तान, बंगलादेश, भारतबाट आएका छन् । त्यहाँका उत्पादन कस्ता कस्ता हुँदा रहेछन् भन्ने कुराको जानकारी पनि मेला प्रदर्शनी हो ।
औद्योगिक मेलाबाट सकलित रकम केमा खर्च गर्ने सोच बनाउनु भएको छ ?
–औद्योगिक मेलाबाट संकलित रकम एउटा फन्ड बनाउँछौं । त्यसबाट दैवी प्रकोपमा खर्च गर्ने गरेका छौं । हामीले यस भन्दा अगाडि पनि रकम संकलन हुँदा त्यो सामाजिक कार्यमै लगाउँदै आएका छौं ।
सम्भावना के छ ? रकम संकलन हुन्छ कि हुँदैन ?
–सम्भावना छ । अहिलेसम्मको मेलाको सिनारिटी हेर्दा राम्रै होला भन्ने लागेको छ । जति संकलन हुन्छ त्यो सामाजिक काममै लगाउँछौं ।
तपाईहरु आयोजक हुनु भएको छ अर्थात सुनसरी उद्योग वाणिज्य संघ आयोजक भएको छ । प्रायोजनमा प्रदेश सरकार, उद्योग वाणिज्य महासंघ, धरान उपमहानगर पालिका रहेका छन् । मेलामा उनीहरुले आर्थिक सहयोग गरेको छ कि छैन ?
–आर्थिक सहयोग सरकारबाट अलि कम भएको छ । हाम्रो पनि कमजोरी भएको छ । आर्थिक सहयोग पर्यटन बोर्ड, पर्यटन मन्त्रालय, प्रदेश सरकारले गर्न सकेन । किन सकेन भने हामीले वैसाख जेठतिरै प्रपोजल हाल्नुपर्ने रहेछ । हामी मेला महोत्सव गर्छौ भनेर त्यसो गरेको भए
सरकारले बजेट छुट्याउने थियो । त्यो काम हामीले गर्न सकेनौं । हामी औद्योगिक मेलाका लागि तीन महिना अगाडिदेखि मात्र लाग्यौ । सरकारका निकायहरुमा जाँदा तपाईहरुले असार महिना भन्दा पहिला निवेदन हाल्नु भएको भए हामी बजेट छुटयाइ दिन्थ्यौ । तर अहिले आएर आर्थिक सहयोग, प्रायोजनका कुरा गर्दा सम्भव हुँदैन भन्नुभयो । त्यसकारण हामीले सरकारी निकायबाट आर्थिक सहयोग पाउन
सकेनौं ।
त्यसो भए संघीय सरकार, प्रदेश सरकारबाट आर्थिक सहयोग पाउनु भएन ?
–पाइएन ।
त्यसो भए यत्तिका स्टलहरु राख्न स्रोत साधन कसरी जुटाउनु भएको छ त ?
–प्राइभेट सेक्टरहरुले प्रायोजन
गरेका, सहप्रयोजनबाट स्रोत जुटेको हो ।
मेलाको व्यवस्थापन कमजोर भयो भन्ने गुनासा आइरहेको छ । तपाई यो कुरा मान्नु हुन्छ ?
–त्यस्तो त महसुस भएको छैन । व्यवस्थापन कमजोर छैन । हामीले भरसक राम्रो गरेका छौं । अर्को पटक मेला लगाउँदा आज यहाँ आउनु भएका व्यवसायी पुन ः आउनु सकून भनेर हामीले काम गरिरहेका छौं । सानो तिनो छिटपुट कमजोरी भएका होलान् तर त्यसलाई हामी सुधार गर्दै जान्छौं ।
औद्योगिक मेलामा सामानहरु बाहिरी बजार भन्दा सस्तो हुन्छ भन्ने आम बुझाई हुन्छ तर यहाँ महंगो छ भन्ने ग्राहकको गुनासो छ नि । तपाई यसमा के भन्नुहुन्छ ?
–हैन त्यस्तो छैन । तपाई जुत्तामा गएर हेर्नुस । ६० प्रतिशत सम्म छुट छ नेपाली ९ वटा उद्योगका जुत्ताको मूल्यमा । त्यसैगरी अल्लोको कपडा बेच्नेहरुले, ढाका कपडा बेच्नेहरुले बाहिर भन्दा कम मूल्यमा बेच्नु भएको छ ।
औद्योगिक मेलाका सम्बन्धमा आम सर्वसाधारणलाई के भन्न चाहनुहुन्छ ?
–तपाईहरु आउनुस, अवलोकन गर्नुहोस्, आफूले खरिद गर्न इच्छाएको सामानहरु खरिद गर्नुहोस् ।
व्यापार प्रबद्र्धन गर्न मेलाको आयोजना गरिएको हो-शिवराज श्रेष्ठ, मूल संयोजक औद्योगिक व्यापार मेला
औद्योगिक व्यापार मेला आयोजना गर्नुको मूल उद्देश्य के हो ?
–यसको मूल उद्देश्य भनेकै धरानका उद्योगी, व्यवसायीहरुको व्यापार प्रवद्र्धन गर्नु हो । सुनसरी उद्योग वाणिज्य संघले धरानमा मात्र नभएर प्रदेश नं. १ मै पर्यटन, कृषि, सूचना प्रविधि, कला संस्कृति, शिक्षा तथा औद्योगिक व्यापार प्रदर्शन विगतदेखि नै गर्दै आएको छ । यो त्यसैको निरन्तरता हो ।
औद्योगिक मेलाका प्राथमिकता के के हुन् ?
–मेलामा देशका विभिन्न स्थानका व्यवसायीहरुले हस्तकला, वैज्ञानिक कृषि पद्धति, स्थानीय साधन स्रोतबाट उत्पादित वस्तु पहिलो प्राथमिकतामा छन् । यसैगरी निकासी, पैठारी, आधुनिक चेतनामुलक विषयहरुलाई दोस्रो सूचिमा राखी व्यवसायिक चेतना अभिवृद्धि, सूचना प्रविधि सम्बन्धी जानकारी, आन्तरिक तथा वाह्य पर्यटकलाई लोपोन्मुख कला, संस्कृति र धार्मिक स्थलहरुका बारेमा जानकारी गराउने नै प्राथमिकताका विषय हुन् ।
मेलामा के कस्ता उत्पादनका स्टलहरु रहेका छन् ?
–यस क्षेत्रका उद्योग वाणिज्य संघहरु, उद्योगी व्यवसायीहरुले उत्पादन गरेका समानहरुको विक्री कक्षहरु रहेका छन् । पर्यटन, कला सँस्कृति, शिक्षा, खेलकुद, स्वास्थ्य, सूचना प्रविधि, आम उपभोक्ताका दैनिक उपभोग्य वस्तुहरु, औद्योगिक सामाग्रीहरु, सवारी साधनका विभिन्न उत्पादनहरु, सुपथ मूल्यका कृषिजन्य सामानहरु रहेका छन् ।
औद्योगिक मेलाबाट कतिले अवलोकन गर्लान् र कतिको कारोबार होला ?
–हामीले मेला अवधिमा ५लाखले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार गर्ने अनुमान गरेका छौं ।
मेलाका मुख्य आकर्षण के के हुन ?
–यसको आकर्षण भनेकै औद्योगिक प्रदर्शनी तथा खरिद विक्री, दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी तथा खरिद विक्री, कृषि उत्पादनका वस्तुहरुको प्रदर्शनी तथा खरिदविक्री, बाल उद्यान, राट्रिय स्तरको साँस्कृतिक तथा हाँस्य व्यङ्ग्य कार्यक्रम, निकासी योग्य वस्तु सम्बन्धी गोष्ठी, प्रदेश स्तरीय उद्योग वाणिज्य सघको पद्र्धन, प्याराग्लाइडिङ्ग, हेलिकोप्टर उडान, ¥याÏिटङ्ग, साइकिलिङ्ग, शैक्षिक प्रदर्शन, आर्थिक विश्लेषणका लागि कार्यशाला गोष्ठी, अटो मोवाइल्स प्रदर्शन, गार्मेन्ट्सका तयारी पोसाक, जुत्ता, चप्पल, खेलौना, गरगहना प्रर्दशन, निर्माण सामाग्री, कृषि औजार, इलेक्ट्रोनिकस साानको प्रदर्शन नै हो ।
औद्योगिक मेलाबाट के कस्ता फाइदा हुने देख्नु भएको छ ?
–मेलाबाट फाइदा भन्दा पनि उत्पादन कर्ता र उपभोक्ताबीचको सम्बन्ध विस्तार हुने, उद्योगी र व्यापारी बीच सुमधुर सम्बन्ध स्थापित हुने, पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन, आयात निर्यातकर्ताबीच बजार विस्तारमा सामानजस्यता, उत्पादन बृद्धि र गुणस्तरीय बस्तुको पहिचान,लगानीकर्तालाई लगानीको अवसरको खोजी मेलाबाट प्राप्त हुने फाइदा एवम् उपलब्धी हुन सक्छ ।


