तामाङहरुले मनाए सोनाम ल्होसार

धरान÷धरानमा चारदिनदेखि भव्यतासाका साथ सोनाम ल्होसार मनाइएको छ । माघ ११ गतेदेखि शुरु भएको सोनाम ल्होसार १५ दिनसम्म चल्ने आयोजक नेपाल तामाङ घेदुङले जानकारी दिएको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयेजना भएको सोनाम ल्होसार धरान–१५ स्थित श्याम चोकमा भइरहेको छ । तामाङ जातिहरुले मनाउने यो महोत्सवमा धरानका २० वटै वडाका तामाङ समुदायको सहभागीता रहको धरान –१५ स्थित ङाग्युर ञीङ्मा ङ्युङ्ने ल्हाखाङ गुम्बा गुम्बाका लामा राजेन्द्र स्याङ्बोले बताउनुभयो ।
विगतमा आ आफनो घरमा मनाउदै आएको यो पर्व पछिल्लो समयमा सामुहिक रुपमा मनाउन थालिएको छ । लामा स्याङबोले यो वर्षको सोनाम ल्होसार ‘फलाम पुरुष मुसा वर्ष’ को रुपमा मनाइएको बताउनुभयो । महोत्सवमा तामाङ जातिले आफ्नो मौलिक साँस्कृतिक भेषभुषा, कला संस्कृति समेत प्रदर्शन गर्दै आएका छन् । महोत्सवको उद्घाटन धरान उपमहानगरपालिकाका मेयर तिलक राईले गर्नुभएको थियो । महोत्सव अवधिभर तामाङ जातिका सांस्कृतिक पहिचान झल्काउने नृत्य प्रस्तुत गर्नुका साथै स्थानीय तथा
राष्ट्रिय कलाकारहरुले समेत वेजोड प्रस्तुति दिइरहेका छन् । महोत्सवमा २० वटा स्टलहरु राखिएको घेदुङका नगर अध्यक्ष प्रेम वाइबाले बताउनुभयो । उहाका अनुसार स्टलमा तामाङ जातिको मौलिक खानाका परिकार, भेषभुषा, संस्कृतिका सामग्रीहरु राखिएका छन् । आगामी बर्षहरुमा समेत यसरी सामुहिक रुपमा सोनाम ल्होसार मनाउदै जाने उहाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया