विराटनगर÷नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल र भारत बीचमा पछिल्लो समय यता देखिएका सीमा विवादलाइ बढी उछाल्ने र अन्तर्राष्ट्रिय तहमा लैजान नमिल्ने बताउनु भएको छ ।
शनिवार विराटनगर आउनु भएका नेपालले विमान स्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै त्यस्तो बताउनु भएको हो । खासगरी पछिल्लो पटक नेपाली सञ्चारमाध्यम, राजनैतिक दलका भातृ संघ संगठनका कार्यकर्ता, केही अभियन्ताहरुले भारतले कार्तिकमा प्रकाशित गरेको नयाँ भारतीय नक्सामा नेपालको लिम्यिाधुरा, कालापानी, लिपुलेकलाई समेत गाँभेको भन्दै विरोध हुदै आएकोप्रति लक्षित गर्दै नेपालले भन्नुभयो यस्ता गतिविधि गलत हुन् । दुई देशबीचको सम्बन्ध विगार्न सुनियोजित रुपमा यस्ता गतिविधि भएको हुन सक्ने भन्दै नेता नेपालले सत्य र यथार्थ भन्दा कोही पनि बाहिर जान नमिल्ने बताउनुभयो ।
उहाँले भन्नुभयो नेपाल सरकार र भारत सरकार बीचमा उच्च स्तरीय कुटनीतिक तवरमा वास्तविकता के हो, विवादको समाधान के हुन सक्छ भनेर वार्ता हुनुपर्छ । सतहीमा आएका कुराले सम्बन्धमात्र विगार्छ । यसतर्फ सबैले मनन गर्नुपर्छ । एक अर्काे प्रसंगमा नेता नेपालले भन्नुभयो केही यथार्थ र प्रमाणसहितको कागजात नेपाल सरकारले भारत सरकारलाई बुझाइ सकेके छ । यदि समस्या छ भने छलफल र वार्ताबाटै समाधान खोज्न सकिने समेत उहाँले प्रष्ट पार्नुभयो । अर्काे एक प्रसंगमा नेपालले भन्नुभयो आफूलाई सीमा विवादका सम्बन्धमा वार्ता गर्न विशेष दूत नियुक्त गरिएको भन्ने कुुरा भ्रामक र हल्ला मात्र हो । मलाइ कुनै किसिमको दूत नियक्त गरिएको छैन ।
