धरान÷धरान उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष माधव गोविन्द श्रेष्ठलाई सदैव एउटै कुराले झस्काइरहन्छ । आज धरान बस स्टेन्डमा कुनै मावनीय क्षति हुने गरी कुनै दुर्घटना त भएन ? धरान बस स्टेन्डमै घर भएका श्रेष्ठले बस स्टेन्डमा कैयौ मानिसले दुर्घटनामा ज्यान गएको देख्नु भएको छ ।
वि.सं. २००६ सालदेखि सञ्चालनमा आएको धरान बस स्टेन्ड भित्रैको दुर्घटनामा यातायात कर्मचारी पारस साह, नेपाल प्रहरीका असई जनक कार्की, यात्रु सुनिता राई लगायत कैयौको विभत्स मृत्यु भएको छ ।
धरान बस स्टेन्ड यमराजको द्वार जस्तो लाग्ने श्रेष्ठको बुझाई छ । सत्तरी बर्षमा धरानमा धेरै कुरा परिवर्तन भए, धेरै नयाँ सरचनाहरु बने तर सडक र बस स्टेन्डको दुरावस्था ज्यूँका त्यूँ छ । स्थानीय निकाय धरान उपमहानगरपालिकामा धेरै नेतृत्व परिवर्तन भए, हरेक निर्वाचनमा व्यवस्थित बस स्टेन्डको मुद्दा राजनीतिक दलहरुले जोडतोडका साथ उचाले तर नेतृत्वमा पुग्नेहरुको जीवन स्तर उकासियो बस स्टेनन्डको
दुरावस्थामा परिवर्तन भएन ।
आइतबार मात्र धरान बस स्टेन्डमा ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ । ब्रेक फेल भएको धरान विराटनगर चल्ने कालिका यातायातको को १ ख १८९१ नम्बरको बसले त्रिरत्न यातायात प्रा.लि.को काउन्टर पूरै ध्क्वस्त बनाएको थियो भने धरानबाट पहाड चल्ने को १ च ९८१० र मे १ च ३३४० नम्बरको बोलेरोलाई ठक्कर दिएर क्षति पु¥याएको थियो । त्रिरत्न यातायात प्रा.लि.का अध्यक्ष धु्रवराज घिमिरे भन्नुहुन्छ, धन्न कुनै मानवीय क्षति हुन पाएन । सदैव काउन्टरमा मानिस वा स्टाफहरु बसेका हुन्थे, स्टाफहरु ग्रुप गु्रपमा वार्ता गरिरहेका हुन्थे तर त्यसदिन संयोगले भनौ काउन्टरको नजिक कोही उभिएका रहेनछन् । उहाँले भन्नुभयो अत्यन्तै साँघुरो बस स्टेन्डमा सिटी सफारी, टेम्पो, माइक्रो बस, बस सबै हुन्छन् । अझ पनि बस स्टेन्डको व्यवस्थापन नगर्ने हो भने कुनै दिन ठूलै दुर्घटना हुन सक्छ, घिमिरेले भन्नुभयो ।
बस स्टेन्ड व्यवस्थित गर्ने काम धरान उपमहानगरपालिकाको भएपनि हालसम्म उसले यसतर्फ गम्भीर ध्यान दिएकै छैन, सवारी चालक राजेश श्रेष्ठ भन्नुहुन्छ । पहाड जाने गाडीहरु पनि त्यही थुप्रिएका छन्, पूर्व पश्चिम जाने गाडीहरु पनि त्यही थुपिएका छन्, टेम्पो र सिटी सफारीको कुरै छाडै उहाँले भन्नुभयो । धरान उपमहानगरपालिकामा निरन्तर २८ बर्षदेखि एमालेले नेतृत्व गरेपनि व्यवस्थित बस स्टेन्ड उसको चुनावी नारा मात्र भयो । धरान ८ स्थित सुन्दर बस्तीमा नाम मात्रको मुआब्जा दिएर स्थानीयको जग्गा बस स्टेन्डको नाममा धरान उपमहानगरपालिकाले अधिग्रहण गरे पनि कर्मचारी र नेतृत्वले आफ्नो नाममा जग्गा राखेपछि स्थानीइहरुले संघर्ष समिति नै गठन गरी आन्दोलन गर्दै आएका छन् । गत बर्ष धरान उपमहानगरपालिकाको एमाले नेतृत्वले बस स्टेन्डको सुन्दर बस्तीमा बिना डिपिआर शिलान्यास गरेर धराने जनताको आँखामा धुलो हाल्ने काम समेत ग¥यो । हावामा शिलान्यास गरेको भन्दै सर्वत्र आलोचना भएपछि काम अगाडि बढ्न सकेको छैन ।
विद्यमान बस स्टेन्ड, धरानको अत्यन्तै साँघुरो सडक, उच्च सवारी चापलाई अब धरानले धान्न नसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानका ट्राफिक प्रहरी निरीक्षक अन्जनकुमार कोइराला बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ट्राफिक रेकर्ड अनुसार धरानमा दैनिक दश हजार सवारी साधन आउजाउ गरको तथ्यांक देखिन्छ । जसमा मोटरसाइकल ५ हजार २ सय ९५, साना सवारी साधन १८ सय ८९, ट्रिपर र ट्रक ३२७, बस १ हजार ६३, ट्याक्टर ६६ रहेका छन् । यत्तिका सवारी साधन आउजाउ गरेपनि व्यवस्थित बस स्टेन्ड र साँघुरा सडकले ट्राफिकलाई व्यवस्थापन गर्न हम्मे हम्मे पर्ने गरेको छ । मुख्य सडक सबैतिर भत्किाएका छन्, ठूला ठूला खाल्डाखुल्डी रहेका छन् जसका कारण जाम र दुर्घटनाको उच्च जोखिम रहेको कोइरालाको कथन छ ।
