धरान÷नेपालको उत्तरी छिमेकी चीनले उत्तरी सीमामा ३६ हजार हेक्टर नेपाली भूमि मिचेको भन्दै तुरुन्त फिर्ता गर्नुपर्ने माग गदै देशका विभिन्न स्थानमा चीन विरुद्ध प्रदर्शनसँगै चिनिया राष्ट्रपति सि जिङ्गपिङ्गको पुत्ला दहन गरिएको छ ।
भारतले आफ्नो राजनीतिक नक्सामा कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत स्थानहरु राखेको भन्दै विरोध भइरहेको अवस्थामा युवाहरुले चीनले समेत नेपाली भूमि अतिक्रमण गरेको भन्दै आन्दोलन चर्काएका छन् ।
सोमबार युवाहरुले सप्तरीको राजविराज, सुनसरीको इनरुवा, बर्दियाको गुलरिया, रौतहटको चन्द्रनिगाहापुर लगायतका स्थानमा चीन विरुद्ध चर्का नारा लगाउदै राष्ट्रपति सि जिङ्गपिङ्गको पुत्ला दहन, फाटो जलाउने काम गरेका छन् । उनीहरुले नेपाली भूमि मिच्न पाइदैन, गो ब्याक चाइना, नेपाली भूमि फिर्ता गर, नेपाली भूमि प्राणभन्दा प्यारो छ जस्ता नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए । उनीहरुले नेपालको ताप्लेजुङ्ग, संखुवासभा,सिन्धुपाल्चोक, रसुवा, हुम्ला, जुम्ला, कालिकोट र सोलुखुम्बुको सगरमाथाको सीमासमेत हडपेको आरोप लगाएका थिए । कृषि मन्त्रालय अन्तर्गतको नापी शाखाले तयार पारेको अध्ययन प्रतिवेदन अनुसार चीनले नेपालको ३६ हजार हेक्टर भूमि मिचेको छ ।
