धरान÷ स्थानीय तहबीच सहकार्य गरेर अगाडि बढ्ने उद्देश्यले धरान उपमहानगरपालिका र धुलिखेल नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।
दुवै नगरपालिकाको भौगोलिक अवस्था, सांस्कृतिक परम्परा, विकासका मोडलहरु फरक फरक भए पनि यी सबै कुरा आदान प्रदान गर्दै दुवै स्थानीय तहलाई समृद्धितर्फ लैजाने उद्देश्यले भगिनी सम्बन्ध कायम गरिएको हो ।
धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदी र धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्यञ्जुले सहमति पत्रमा हस्ताक्षर गर्दै दुवै नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको घोषणा गरिएको थियो ।
संघीय सांसद जयकुमार राई, प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारी, प्रदेश नं. १ का सांसद चन्द्रप्रसाद श्रेष्ठ, सावित्री श्रेष्ठ लगायत धरान उपमहानगरपालिकाका जनप्रतिनधि, कर्मचारी तथा धुलिखेल नगरपालिकाकाका जनप्रतिनिधि, कर्मचारीहरुको उपस्थितिमा सो ७ बुदे सहमति पत्रमा हस्ताक्षर गरिएको थियो ।
सो अवसरमा धरान उपमहानगरपालिकाका तर्फबाट धरानमा रहेका राईहरुको सांस्कृतिक पहिचान बोकेको नाच साकेला र धुलिखेल नगरपालिकाकाको तर्फबाट कुमारी नृत्य प्रस्तुत गरिएको थियो । सो अवसरमा बोल्दै धुलिखेल नगरपालिकाका प्रमुख व्यञ्जुले यो भगिनी सम्बन्ध ऐतिहासिक सम्बन्ध भएको र यसले दुवै नगरपालिकाको सम्बन्धमा सुदृढ गर्ने मात्र हैन दुवै नगरपालिकाको हरेक क्षेत्रको विकासमा सहयोग पुग्ने बताउनुभयो । यता धरान उपमहानगरपालिकाकी प्रमुख मञ्जु भण्डारी सुवेदीले धुलिखेल नगरपालिका धरान उपमहानगरपालिका जनसंख्या र क्षेत्रफलको हिसाबले सानो भए पनि समृद्धि नगरपालिका भएको बताउदै यो भगिनी सम्बन्धले दुवै नगरपालिकाको शिक्षा, पर्यटन, कृषि, व्यापार व्यवसाय लगायतको विकासमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।
भगिनी सम्बन्धले नगरको विकास हुने अभिप्रायले यस भन्दा अगाडि धरान उपमहानगरपालिकाले पोखरा र इलाम नगरपालिकासंग समेत भगिनी सम्बन्ध कायम गरिसकेको छ ।

