कुरै बुझिनन् वरै
अस्तिका दिन एउटा कार्जेक्रममा लाँँग्रेसका सभापति स्यालबहादुरले बोलेको कुरा राष्ट्रपतिले ज्यान गए नि बुझिनछिन् । हुन त झालेमाले,
अरिंगाल, मण्डले, मसालेले बोलेको मात्र बुझ्ने बानी परेकी विचरीले बुझिनन बरिलै । नबुझेको कुरा बुझिन पनि भन्न नपाउनु ? न आत्तिइकन विस्तारै बोल्न स्यालबहादुर पनि जान्ने हैनन् । जहिल्यै नि हवड हवड ग¥यो । दाँत फुस्एिको मान्छेले मक्याल्याक मुक्लुक मुख हल्लाएर सुलित्त निले जस्तो गरी बोलेपछि कसरी बुझ्नु ? आफ्नो बलबुतमा राष्ट्रपति बन्या मान्छेले देउवाको बोली पक्कै बुझ्ने थिए । अरुले चाँकडी लगाएर बनाइद्या राष्ट्रपतिले देउवाको बोली बुझ्ने कुरा पनि भएन । मैले बोली नै बुझिन, अरुले के बोलेर ताली पिटे कुन्नि, के बोल्या हो मिडियामा हेरेर बुझौला भनेसीचाहिँ विचरीलई सामाजिक सञ्जालल उल्लीविली नै पा¥या छन् । हैन हौ नबुझे बुझ्नेसम्म बुझ्नु पर्दैन ? त्यत्रो पर्तिपक्षे दलको नेताको बोली नै बुझिन भनेर डंका नपिट्दया भए नि त हुन्थ्यो । खै के गर्नु किलकिले नभएसी विचारीले उल्ली विल्ली हुनु प¥यो वरै ।
उर्दी जारी गरेर मनाइयो
यसपटकको संविधान दिवस नेपालमा बडो गज्जबले मनाइएको छ । पहिले पहिले मनाइने पौष १ गते र यस पटक मनाइएको संविधान दिवसको शैली काटीकुटी उस्तै थिए । पौष १ गते मनाउन त्यसबेला पञ्चहरुले उर्दी जारी गर्थे भने यसपटक गणतन्त्रका छोेटे राजाले उर्दी जारी गरे । उर्दी पनि कम्ता खतरा खालको थिएन । संविधान दिवसमा घर–घरमा दिपावली नगर्ने, चौक चौकमा भेला भएर संविधानको बढाई गर्ने, त्यसो नगरे कारबाही गर्ने भनेर गोडा दुईक हप्तादेखि डंका पिटिएको थियो । कारबाहीमा परिने डरले नेकपाका जनप्रतिनिधि, प्रहरी, प्रशासन सबै अमिलो मुख लगाएर चोक चौकमा भेला भए, प्रहरी, कर्मचारी, जनप्रतिनिधि, निचोर्दा ओठबाट दूध आउने विद्यालयका सिँगाने बालबालिका भेला गरेर संविधान दिवस मनाउने सम्मको काम भयो । उर्दी जारी गरेर भए नि सरकारले संविधान दिवसचाहिँ मनाएरै छोड्यो गाँठे ।
कडै दिए बुढाले
राजपाका नेता महन्त ठाकुरले संविधान दिवसका दिन अलि कडै खालको अभिव्यक्ति दिएछन् । हुन त बुढा अघिपछि पनि कडै अभिव्यक्ति दिन्थे । यसपटक त झन खतरै दिएछन् । बुढाको पार्टीले बारम्बार संविधान संसोधन गर्नुपर्ने माग राख्दै आएको थियो । तर पर्धानमन्तरी खप्रओबाले तिन्का कुरा बुझ्दै बुझेनन् । राष्ट्रपतिले देउवाको कुरा नबुझे झै । लाष्टाँ आएर बुढाले अहिलेको संविधान हाम्रो होइन, संविधान संसोधन नगरे मधेश अलग देश हुन्छ भनेर पड्किएछन् । भ्रष्टाचारको मुद्दा उठाउने ज्ञानेन्द्र शाही र रवि लामिछानेमाथि डन्डा बर्साउने खप्रओ वाले के सोच्या होलान् ? बाले संविधान संसोधन गर्लान भनेर त कसैले सोच्या पनि छैनन् । कही ठाकुर माथि डन्ठा बर्साउने सोच पो बना’छन् कि ? अर्काको मनको कुरा कसरी जान्नु ? वा बुढाको व्यवस्था गर्न अरिंगाल पो पठाउने हुन कि ?
स्वदेशी तंग्रिने भयो
हाम्रा अर्थमन्त्री खतिवडाका योजना कतिवटा हो कतिवटा । कहिले गुन्द्रुक बेच्नेबाट कर असुल्न उर्दी जारी गर्छन्, कहिले एक मुठ्ठी साग बेच्नेसँग, कहिले मजदुरसँग, कहिले कुल्ली कवाडीसँग । जे होस कर असुल्ने मामलामा खतिवडा बाजेले विश्व किर्तिमान कायम ग¥या छन् । त्यसरी कर नअसुल्द्या भे संघ, प्रदेश र स्थानीय तहका टकनटाँकहरु छोेटे महाराजा बन्नै पाउँददैनन् थिए । हुन त एउटाको जरा नउखेली अर्कालाई उपचार पनि त गर्न सकिदैन । पछिल्लो पटक खतिवडाले गज्बकै योजना ल्याएका छन् । अब प्रहरी, कर्मचारी, सेनाले स्वदेशमै उत्पादन भएको कपडा लगाउनु पर्ने रे । अब चाहिँ स्वदेशी कपडा उद्योगहरु तंग्रिन्छन् कि ? हुन त मुलुकाँ स्वदेशी कपडा उद्योगहरु नै छैनन् । भएकाहरु बन्द छन् । प्रहरी, कर्मचारी, सेनाले मात्र लगाउनपर्ने ? मन्त्री, सांसद, जनप्रतिनिधि, नेताहरुलेचाहिँ स्वदेशी कपडा लगाउन नहुने ? इज्जत जान्छ क्यारे । कि कसो हौ ?
राजिन्दरलाई जानकारी चाहियो रे
राजपाका नेता राजिन्दर महतो हिजो आज कमाउ धन्दामा लाग्या छन् कि क्या हो ? घण्टाघरलाई त शंका लाग्न थाल्या छ । अस्तिका दिन तिन्ले भन्या वाल्वाटार विक्री भैसक्यो । सिंहदररबार कहिले विक्री हुहुछ जानकारी चाहियो रे । सिंहदरबार जहिल्यै सुकै विक्री होस्
राजिन्दरलाई किन जानकारी दिनुप¥यो ? सिंहदरबार विक्री भएको थाहा पाए कमिशन खाम्ला भनेर हो कि ? विक्री नै भए पनि राजिन्दरले सुँघ्न पनि पाउलान् जस्तो छैन । वाल्वाटार विक्री हुँदा तिन्लाई कसैले सुइँको सम्म दिएनन् । भित्र–भित्रै ठाकठुक पारे । भाग शान्ति लिएर हिडे । अब सिंह दरबारको हालत पनि त्यस्तै त हो । झ्याली पिटेर कसैले विक्री गर्ने हैन क्यारे ।
मन्त्रीका भाइ छुटे
नेपालको कानुन दैवले जानुन भन्थे हो रै’छ । जनताका नाममा ठूला पल्टिएकाहरुले यहाँ जे गर्दा नि हुने रैँछ । ठूलाका आफन्तहरुलाई त झन कानुनले छुँदा नि छुँदैन । हब हेरम न हाम्रा घरेलु मन्तरी रामबहादुर थापा मगरका भाइलाई पुलिसले अपराधीसँगको साँठगँठमा अठ्यायो । दुई चार दिन जेल भित्रको डिलक्स कोठामा बसेर छुटे । हुन त नेपालका पुलिसले ठूलै ग¥या हुन् । त्यत्रा ठूला मान्छे घरेलु मन्तरीका भाइलाई पनि कहँी अँठ्याउने हो ? यसो सोच विचार गर्नुपर्दैन ? यसो दायाँ बायाँ बुझ्नुपर्छ । घरेलु मन्तरीका साख्खै भाई । पाँच दश खत त त्यसै गुपचुप हुन्छ । यहाँका खैजडी जन्ता यिनै हुन् । विरोध गर्न नसकेर कोठामै मुचुक्क परेर बस्छन् । जाबो एउटा निर्मला पन्तको बलात्कारपछि हत्या हुनु ठूलो कुरा होइन, सामान्य कुरो हो भनेर बोल्ने घरेलु मन्तरीका भाइ जेल जान्छन् सजाये पाउँछन भनेर नचिताए पनि हुन्छ । कसैबाट फिरौती उठडाउने धन चलाउनु छ , कसैलाई अपरहण गर्नुछ, कसैलाई सफाया गर्नुछ भने आफन्त ठाममा त हुनैपर्छ । कोही डिंगाले नि छुँदैन । हैन र ?
वित्थामा किन गुनासो
यस पटकको सविधान दिवस दुई प्रकारले मुलुकैभरि घुमधामसँगले मनाइएको छ सत्तासीन गणतन्त्रेहरुले उज्यालो भन्दै मनाए भने सत्ता बाहिरका सडकका गाणतन्त्रेहरुले कालो दिन भनेर मनाए । सत्तासीनहरुले प्रदेशै पिच्छे गनतन्त्र दिवस मनाए, ढोल ढ्यांग्रा बजाएर नाचगन गराए, उत्कृष्ट संविधान भनेर चिच्चाए । सडकमा भएकाहरुले कालो झण्डामा डन्डा लगाए, सविधान खरोज गरर भनेर चर्का नारा लगाए । सत्ता पक्षेले सडकका आवाज दबाउन खोजे, ठाम ठाममा विथोले । सत्तामा पुग्न सडकमा जनता उफार्ने, सत्तामा पुगेपछि प्रहरी र सेनाको घेराभित्र संविधान दिवस मनाउने र सर्वसाधारण लगार्ने । संविधान दिवस हेर्न टुँडिखेल पुगेकाहरुलाई असुरक्षा हुन्छ भनेर लछारिएछ । क्या गजबको छ हाम्रो देशको गणतन्त्र । जता लघारेर गणतन्त्र दिवस मनाइन्छ । हाम्लाई हेर्न दिएनन् भनेर जन्ताले फुइøयाँ खान गुनासो गर्नु ?
अन्तेमा
पर्यटन मन्तरी योगेश भट्टराईले देशका केही लछारपाटो लगाउलान् जस्तो छ । मन्तरी भएकै केही दिन पछि पशुपति नाथ राष्ट्रिय धुन बजाउन उर्दी जारी गरे, बृद्धबृद्धलाई नेपाल एयर लाइन्समा ५० प्रतिशत छुट दिन दिर्नेशन दिए अलि मैमत्त भएर होला नेपालगञ्ज विमान स्थलमा १ घण्टा २५ मिनेट ढिलो पुग्दा जन्ताबाट राम्रै वाकद्वन्द्वको सामना गर्नुप¥यो । त्यसपछि ज्ञानेन्द्र साही माथि सबै
रिस पोख्न पुगे । अँठ्याउन लगाए, पत्रकार सम्मेलनमा अरिंगाल पठाएर चिल्न लगाए र सडकमा अरिंगाल मास्ने भीड बढ्न थोपछि छोड्न लगाए । अस्तिका दिन हाम्रा पल्लाघरे काइलाले सराद गर्दै थिए । बाहुन मन्त्र पढ्दै थिए । एक्कासी काइला झक्किए आच्या गुरु राष्ट्रिय गान त गाउनै बिर्सिएछ । अरिंगालहरुले आएर दुःख पो दिने हुन कि भनेर चिन्तित भए । बाजेले नि गाइगुई गरेर के के भने कुन्नि त्यसपछि मात्र उनी ढक्क भए । जे होस् यतिबेला चर्चा भन्या योगेशकै छ ।
