विराटनगर÷झण्डै दुई बर्ष वितिसक्दा पनि प्रदेशको नामाकरण गर्न नसकेको, जनअपेक्षा अनुरुप प्रदेश सरकार चल्न नसकेको, प्रदेश मन्त्रीहरु सुविधा भोगी भएको आरोप खेप्दै आएको प्रदेश नं. १ ले दुई दिने सुरक्षा गोष्ठी भने सम्पन्न गरेको छ ।
शनिवार र आइतबार गरी दई दिनसम्म विराटनगरमा नेपाल सरकार गृहमन्त्रालय र प्रदेश नं. १ को आन्तरिक मामला तथा कानुन मन्त्रालयको आयोजनामा सम्पन्न वैठकलाई सम्बोधन गर्देै मुख्यमन्त्री शेरधन राईले विगतको तुलनामा सुरक्षा स्थिति सुदृढ भएको बताएका थिए । शान्ति सुरक्षामा खलल पु¥याउनेलाइ छोडिन्न भन्दै मुख्यमन्त्री राईले कानुनको उल्लंघन गर्ने जोकोहीलाई पनि कानुनी कठघरामा ल्याउने बताए ।
यसैगरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गृह मन्त्रालयको निर्देशन अनुसार प्रहरी काम गर्न कटिबद्ध भएको भन्दै भारतसँग सीमा जोडिएको सुनसरी, मोरङ्ग, झापा, इलाम, पाँचथर, ताप्लेजुमा सुरक्षा सम्वेदनशीलता रहेको भएपनि त्यसप्रति प्रहरी सजग रहेको बताए । कार्यक्रममा प्रदेश नं. १ का आन्तरिक तथा कानुन मन्त्री हिकमत काकी, गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण सुवेदी, १ नं. प्रदेशका प्रमुख सचिव सुरेश अधिकार, १ नं. प्रदेशका प्रहरी प्रमुख डिआइजी ठाकुरप्रसाद ज्ञवाली, चौधवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
