नेपाली काँग्रेसले जागरण अभियानको नाममा बिना मौसमको बाजा बजाउन थालेको छ । अधिकांश कार्यकर्ताले कँग्रेसेको जागरण अभियानलाई नेतृत्वको नौटंकीको संज्ञा पनि दिएका छन् ।
पहिलो चरणको जागरण अभियान उत्साहप्रद भएको भन्दै केन्दं्रीय नेतृत्वले दोस्रो चरणको कार्यक्रम गर्ने भनेर डंका पिटिरहेको छ । जबसम्म केन्द्रीय नेतृत्व संगठनको वास्तविक अवस्था प्रति सम्बेदनशील हुँदैन तवसम्म जागरण अभियान चलाएर, सन्दर्भ बिनाको भाषण ठोकेर, एक अर्कालाई गाली गर्नुलाई जागरण अभियान सम्झने र त्यसले संगठन सुदृढ हुने भन्ने कुरा आफैमा हाँस्स्यास्पद हुन्छ ।
नेपाली काँग्रेसको भातृ संगठन यतिबेला लथालिंग अवस्थामा छ । नेपाल विद्यार्थी संघको नेतृत्व कोल्याप्स छ, तरुण दललाई पूर्णता दिन सकेको छैन । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले युवा संगठनहरुलाई पूर्णता दिन धेरै पटक नेतृत्वलाई आग्रह गरेका छन् । तर केन्द्रीय नेतृत्व युवाहरुको वर्चस्व रहने नेपाल विद्यार्थी संघ र तरुण दल दुवैलाई पूर्णता दिने मनस्थितिमा देखिदैन । यो केन्द्रीय नेतृत्वको गैर जिम्मेवारीपन हो । भातृ संगठनका केन्द्रीय समिति विस्तार गर्न नसक्ने नेतृत्वले जागरण अभियानको औचित्य पुष्टि गर्न पनि सक्दैन । यतिबेला पार्टी सभापति शेरबहादुर देउवाकै कारण नेपाल तरुण दललाई चार जनामा सीमित राखिएको छ भने नेविसंघको नेतृत्वलाई शून्यमा राखिएको छ । नेपाली काँग्रेसको केन्द्रीय समिति आफै जागृत हुन सकेको छैन । अहिलेसम्म केन्द्रीय समितिमै कतिपय उपसमितिहरुले पूर्णता पाएका छैनन् । यस्तो अवस्थामा पार्टीका केन्द्रीय स्तरका नेताहरु गाउँमा गएर संगठनलाई जागृत
गराउँछु भन्नु भ्रम मात्र हो । भातृ संस्थालाई बेहाल बनाउने, युवाहरुको राजनैतिक भविष्य डावाडेल बनाउने काम स्वयम् नेतृत्वले गर्दै आएको छ ।
आज नेपाली काँग्रेसको संगठन गर्ने लडाकु दस्ताका रुपमा चिनिने नेपाल विद्यार्थी संघ र तरुण दललाई अपांग बनाउँदा गाउँ–गाउँमा सगठन कमजोर भएको छ । कुनैपनि ठाउँमा एक दुई जना नेताहरु भेला भएर एक आद्य घण्टा भाषण गर्दैमा संगठन मजबुत हुने होइन । त्यहाँका स्थानीयहरुलाई वास्तविकताको बोध गराउन सक्नुपर्छ । बारम्बार उनीहरुलाई काउन्सिलिङ्ग गर्नुपर्छ । तर त्यो कस्ले गर्ने ? जिम्मेबारी विना संगठनमा हिड्नुको औचित्य पनि रहँदैन । अब साँच्चै नै केन्द्रीय नेतृत्वले नेपाली काँग्रेस संगठनलाई गाउँ गाउँसम्म मजबुत बनाउन चाहेको हो भने नेपाल विद्यार्थी संघ र तरुण दललाई प्रभावकारी ढगले जिम्मेबारी सुम्पनु पर्छ । एमालेले देश बर्बाद ग¥यो, जंगलमा भड्किएका माओवादीहरुलाई हामीले मूलधारको राजनीतिमा ल्याएका हौ, हिजो राणा फाल्ने पार्टी हो, पञ्चायत फाल्ने पार्टी हो, राजा फाल्ने पार्टी हो भनेर अब काँग्रेस प्रति कोही आकर्षित हुने वाला छैन । अब यस भाषणको औचित्य समाप्त भइसकेको छ । अब युवाहरुमा जोश भर्दै ग्रामीण जनताप्रति अपनत्व दर्शान सक्नुपर्छ । वडामा चुनाव जित्न सक्ने हैसियत नभएकाहरुलाई चाकडी र आर्थिक प्रलोभनमा पनि सांसद बनाउने, केन्द्रीय समितिका मनोनित गर्ने पवृत्तिको अब अन्त्य हुनुपर्छ । अझै पनि अनावश्यक नौटंकी छोडेर नेतृत्वले सच्चिने मौका
छ ।
