अशोक अविरल राई । नेपाली काँग्रेसको राजनीतिमा थोर बहुत जानकारहरु यो नामसँग अपरिचित सायदै होलान् । स्थानीय स्तरदेखि केन्द्रीय स्तरसम्म अशोक अविरल राई एउटा चीर परिचित नाम हो । वि.सं. २०३६ सालको विद्यार्थी आन्दोलनसँगै नेपाल विद्यार्थी सँघबाट आफ्नो राजनीतिक यात्रा शुरु गर्नुभएका राई काठमाण्डौको शिक्षा सदन माविमा कक्षा ९ मा पढ्दापढ्दै गर्दा बलबहादुर केसीको नेतृत्वमा नेपाल विद्यार्थी संघले गरेको आन्दोलमा सक्रिय हुनुभयो ।
विद्यार्थी आन्दोलन लगत्तै वि.सं. २०३६ सालको जनमत संग्रह घोषणा भएपछि उहाँ विद्यार्थीहरुको मोर्चा बनाएर बहुदलको पक्षमा प्रचार प्रसारमा जुट्नृु भयो । वि.सं. २०३७ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय महाधिवेशन प्रतिनिधि भएर जनकपुर महाधिवेशनमा पुग्नुभयो । उहाँ नेपाली काँग्रेसका वर्तमान उपसभापति विमलेन्द्र निधी, जिताऔ अभियानमा लाग्नु भयो र निधि जनकपुर महाधिवेशनबाट नेविसंघको केन्द्रीय सभापतिमा निर्वाचित हुनुभयो । एसएलसी उत्तीर्ण भएपछि उहाँ नेपाल ल क्याम्पस पुग्नुभयो र नेपाल विद्यार्थी संघको क्याम्पस इकाइको सचिवमा निर्वाचित हुनुभयो । त्यसबेला राजधानीका धेरै क्याम्पसहरुमा नेपाल विद्यार्थी संघले जितेको थियो । शंकरदेव क्याम्पसबाट धु्रव वाग्ले, पदम कन्या क्याम्पसबाट मिना पाण्डे, त्रिभुवन युनिभर्सिटीबाट ज्ञानेन्द्रबहादुर कार्कीलगायतले जितेको राई स्मरण गर्नुहुन्छ ।
नेपाल विद्यार्थी संघमा रहँदा प्रजाान्त्रिक आन्दोलनमा उहाँको भूमिका सदैव अग्रगामी हुने गर्दथ्यो । आन्दोलनमा उहाँको सक्रियता बढ्दै गएपछि राष्ट्रवादी विद्यार्थी मण्डलले आक्रमण गरेर उहाँको दाहिने हात भाँचिदिएका थिए । उहाँमाथि आक्रमणको थप चेतावनी आएपछि नेपाली काँग्रेसका सर्वोच्च नेता गणेशमान सिंह स्वयम्ले सतुंगल स्थित रमेशचन्द्र प्रधानको घरमा तीन महिना लुकाउनु भएको थियो । त्यसपछि उहाँ भागेर धरान आउनु भयो । काठमाण्डौमा बस्न सक्ने अवस्था थिएन । धरान आएपछि उहाँले महेन्द्र वहुमुखी क्याम्पसमा विएल अध्ययन शुरु गर्नुभयो । त्यबसबेला उहाँले नेपाल विद्यार्थीसंघको इकाई सचिव, जिल्ला सदस्य हुँदै पार्टीको क्षेत्रीय सदस्य, जिल्ला सदस्य समेतको जिम्मेवारी निर्वाह गर्नुभयो । वि.सं. २०४२ सालको सत्याग्रह, २०४६ सालको जन आन्दोलन, २०६२÷०६३ को लोकतान्त्रिक आन्दोलनमा समेत उहाँको नेतृत्वदायी भूमिका रहको थियो । पटक पटक प्रहरी हिरासत र जेल समेत पर्नुभएका राईले यस भन्दा अगाडि कहिल्यै पदीय महत्वाकांक्षा देखाउनु भएन ।
निर्वाचन आयोगले आगामी मंसिर १४ गते विविध कारणले संघ, प्रदेश र स्थानीय निकायमा रिक्त रहेको पदमा निर्वाचन गराउने घोषणा गरेपछि राईले यस पटक धरान उपमहानगरपालिकको मेयरकोे प्रत्यासीको आकांक्षा राख्नु भएको छ । उहाँ भन्नुहुन्छ योगदान र योग्यताको पार्टीले मुल्यांकन गर्नुपर्छ । समाज शास्त्रमा एमए उत्तीर्ण राईको पक्षमा यतिबेला धरानका प्रवुद्ध वर्गहरु, प्राध्ययापक, व्द्यिार्थीहरुले लविङ्ग नै शुरु गरिसकेका छन् । अत्यन्तै सरल, मिजासिला, हालसम्म कुनै पदीय आकांक्षा नदेखाउनु भएका राईसँग यसपटक हामीले निर्वाचनमा पार्र्टीले दिने उमेद्वारी लगायतका विषयमा केन्दित रहेर वार्ता
गरेका छांैं । प्रस्तुत छन् वार्ताका सारसंक्षेपः
निर्वाचन आयोगले रिक्त स्थानमा उपनिर्वाचनको मंसिर १४ गतेलाई मिति नै घोषणा गरिसकेको छ । धरानमा पनि प्रमुखको निर्वाचन हुँदैछ । के तपाई प्रमुखको प्रत्यासीका लागि इच्छुक हो ?
–हो म यसपटक इच्छुक छु । मैले धेरै लामो समयपछि आकांक्षा
राखेको छु । यसमा मैले मलाई सहयोग गर्ने आश्वासन पाएको छु । मैले टिकट पाएँ भने मलाई आफ्नो पार्टीका साथीहरुको मात्र नभएर अन्य पार्टीका र स्वतन्त्र व्यक्तिले पनि मलाई सघाउनु हुन्छ । म पुरानो भएको हिसाबले मप्रति सबैको सेम्पेथी छ ।
तपाई यति पुरानो भएर पनि प्रतिष्पर्धामा अगाडि आउन किन सक्नु भएन ?
–पुरानो भएर पनि अगाडि आउन नसक्नुको कारणचाहिँ पार्टीभित्रको लविङ्ग नै हो । म नेपाली काँग्रेसप्रति मात्र इमान्दार छु । लविङ्गप्रति मेरो मोह र विश्वास छैन । हामी आज कमजोर लविङ्गले गर्दा नै भएका हौ । पुरानो मान्छेको मुल्यांकन गर्ने पद्धति पार्टीभित्र नभएर पनि हो । जसले चाकडी गर्छ, छट्याई फट्याइ गर्छ, जनाधार नभएता पनि नेताहरुको नजिक हुन्छ त्यसले मात्र अवसर पाउने संस्कार छ ।
यसमा नेतृत्वलाई के भन्नुहुन्छ ?
–अहिलेको अवस्थामा भन्ने हो भने अब नेतृत्वले विगतबाट पाठ सिक्नै पर्छ । सही मुल्यांकन, सक्षम,योग्यलाई पार्टीमा स्थान दिनुपर्छ ।
धरान २०१५ सालदेखिकै वामगढ भन्छन्। त्यसबेला देखि नै यहाँ वापपन्थीहरुले वर्चस्व जमाउँदे आएका छन् । यसलाई तोड्न तपाईसँग के भिजन छ ?
–वामगढ तोड्न मसँग धेरै भिजनहरु छन् । सबै कुरा यहँ बताउनु पनि उपयुक्त हुँदैन । यद्यपि म यहाँ केटकेटीदेखि हुर्किएको हुँ, सबैसँग म फेमिलियर छु । यसका अलावा म मा इमान्दारिता छ । आजसम्म कसैलाई भनेर विझाएको पनि छुइन र खाएर चिढ्याएको पनि छैन । म योग्य छु, पार्टीमा निरन्तर लागेको छु । धरान वडानं. १५ मा पहिला एउटा गाविस भवन थियो । घरहरु फाट्टफुट्ट थिए । त्यसबेलादेखि म सबैलाई चिन्छु । सबैसँग घुलमिल छु । सबैजना मेरो उमेद्वारीप्रति अर्थात पार्टीले प्रत्यासी बनाएमा उहाँलाई सघाउँछौ भन्नुहुन्छ । अर्काे कुरा विपक्षी पार्टी एमाले (पूर्व) मा वितृष्णा बढेको मैले पाएको छु । उहाँहरुले समेत मलाई आश्वासन दिनुभएको छ सहयोग गर्ने । धरान नगरपालिकाले जनतामा जथाभावि कर थोपरेको छ, खानेपानी, बसस्टेन्ड, एयरपोर्टको कुरामा धराने जनतालाई गुमहराहमा राखेको छ । त्यसबाट नेकपाप्रति जनता आक्रोसित भएका छन् ।
तपाईलाई पार्टीले उमेद्वारबनाएमा तपाईको चुनावी एजेन्डाचाहिँ के हुन्छ होला ?
–चुनावी र्एजेन्डा नगरको विकास नै हो । नगरपालिकाभित्रको भ्रष्टाचार नियन्त्रण गरी विकासलाई प्राथमिकता दिने नै पहिलो एजेन्डा हुनेछ ।
पार्टीमा तपाईले यति लामो समय सम्म योगदान गर्नुभयो । यसपटक पनि पार्टीले टिकट दिएन भने विद्रोह गर्नुहुन्छ ?
–म एउटा पार्टीको इमान्दार कार्यकर्ता हुँ । पार्टीले टिकट वितरणमा सही मुल्यांकन गरी दिए पुग्छ । विद्रोह नै गर्ने भन्ने कुरा हुँदैन तर अब पनि मेरो मुल्यांकन नगर्ने हो भने म माथि अन्याय हुन्छ । यस्तै प्रवृत्ति दोहोरिदै गयो भने कार्यकर्तामा वितृष्णा पैदा हुन्छ । मेरा पिताजी पनि काँग्रेसमा हुनुहुन्थ्यो । मेरो परिवार सबैले पार्टीमा लगानी गरेको छ । पिताजी भारतको दरभंगामा बस्दा नेपाली काँग्रेसको पर्चा पम्प्लेट बोकेर ल्याउनु हुन्थ्यो । उहाँले दरभंगाबाटै त्यसबेला एसएलसी गर्नुभएको थियो । पार्र्टीमा लाग्दा हामीले टिकट पाउला, पदमा पुगौला भनेर लागेका थिएनौं । सिद्धान्तकालागि लागेका थियौं ।
अन्त्यमा केही भन्नु छ ?
–सम्पूर्ण साथीहरु धरानबासी दिदी बहिनी, दाजु भाईलाई आग्रह गर्छु मैले कहिल्यै पदीय आकांक्षा देखाएको थिइन। सिद्धान्तको पछिलागेको पनि ३०–३५बर्ष भयो । पदमा नपुगी जनताको सेवा गर्न सकिदैन भन्ने लागेकोले मैले उमेद्वार हुने इच्छा देखाएको हुँ । यो कार्यमा मलाई सहयोग गरिदिनु हुन आग्रह गर्दै केन्द्रीय नेतृत्वलाई समेत कार्यकर्ताको सही मुल्याकन गरिदिनु अनुरोध गर्छु ।
