धरान÷ महिलाहरुको महान चाड तीजको चहलपहल बढ्दै गएको छ । तीजको पूर्व सन्ध्यामा अहिलेदेखि नै महिलाहरु सामुहिक रुपमा नाचगान गर्ने, दर खाने क्रम बढ्दै गएको छ ।
पछिल्लो समय तीज महिलाहरुको साझा पर्व बन्दै गएको छ । विगतमा हिन्दु महिलाहरुको तीज पर्व भनिए पनि अहिले सबै जातजति, धर्म, संस्कृतिमा आवद्ध महिलाहरुले यो पर्व मनाउन थालेका छन् ।
यसले गर्दा तीज पर्व पछिल्लो पटक तडकभडक र्र खर्चिलो बन्दै गएको छ । तर महिला सञ्जाल धरानले भने तीज पर्वको पूर्व सन्ध्यामा सन्देशमूलक र महिलाहरुलाई आय आर्जनमा अभिप्रेरित गर्ने काम गर्ने भएको छ । सञ्जालले महिला उद्यमी बजार प्रवद्र्धन तथा प्रदर्शनी मेलाको आयोजन गर्ने जनाएको छ । यसमा उद्यमी महिलाहरुले उत्पादन गरेको सामाग्री प्रदर्शनमा राख्ने भएको जनाएको छ ।
महिलाहरुको हक अधिकारका साथै सामाजिक कार्यमा अग्रसर सञ्जालले गत बर्षदेखि महिलाहरुलाई समेत आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गर्दै आएको हो । यस बर्ष पनि यसलाई निरन्तता दिएको छ ।
सञ्जालले आगामी भदौ ५ गतेदेखि ७ गतेसम्म धरान १२ अमान बजारमा आयोजना हुन लागेको मेलामा पूर्वको इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा तथा राजधानीका महिलाहरुले उत्पादन गरेका सामाग्रीका ३० वटा स्टल रहने कार्यक्रमकी संयोजक एवम. महिला सञ्जालकी बरिष्ठ उपाध्यक्ष चेतना श्रेङले जानकारी दिनुभयो । महिलालाई आत्मनिर्भर बनाउन सन्देशमूलक मेलाको आयोजन गर्न लागिएको उहाँल जानकारी दिनुभयो । पछिल्लो समय तीज विकृति उन्मुख हुदै गएकोले सकारात्मक सोचका साथ तीज मनाउने परम्पराको थालनी गर्ने उद्देश्यले उद्यमी महिलाहरुलाई सहभागी गराई मेलाको आयोजना गर्न लागिएको बताउनुभयो ।मेलामा महिलाहरुले उत्पादन गरेका हस्तकला सामाग्रीहरु, ढाका अल्लोका कपडा, जुत्ता चप्पल, श्रृंगारका सामाग्री, हाते झोलाहरु, अर्गानिक तरकारी, नेपाली खाजा परिकार आदि राखिने महिला सञ्जाल धरानकी अध्यक्ष सविता राईले बताउनुभयो ।
८ लाख ५५ हजार लागत लाग्ने बताइएको सो मेलाका लागि प्रदेश नंं १ सामाजिक विकास मन्त्रालय, पर्यटन उद्योग तथा वन मन्त्रालय, सुनसरी उद्योग वाणिज्य संघ, एनआइसी एसिया बैंक, मितेरी बंैक, एनएमबि बैंक, सन राइज बैंक र धरानका २० वटै वडा कार्यालयले सहयोग गर्ने बताइएको छ । गत बर्षदेखि शुरु गरिएको यो मेलाले महिलामा आत्मनिर्भर बन्न सहज भएको बुझाई महिलाहरुको छ ।
