राजधानी÷सदियौदेखि धार्मिक, साँस्कृतिक, ऐतिहासिक समानता रहेको तथा अन्य विविध वहुआयामिक सम्बन्ध रहेको नेपालको अत्यन्तै निकटको मित्र राष्ट्र भारतको ७३ औै स्वतन्त्रता दिवसको उपलक्ष्यमा काठमाण्डौमा आयोजित सांगीतिक क्षेत्रका विश्वविख्यात व्यक्तित्व हरिप्रसाद चौरसियाको सांगीीतक कार्यक्रमले सहभागी सबैलाई मन्त्रमुग्ध तुल्यायो ।
भारतीय राजदुतावास काठमाण्डौद्वारा आयोजित सांगीतिक कार्यक्रम नेपाली सेनाको भद्रकाली स्थित सैनिक सभामण्डपमा विहीबार सम्पन्न भएको हो । पण्डित हरिप्रसाद चौरसियाको सांगीतिक कार्यक्रममा समाजवादी पार्टीका अध्यक्ष, संघीय सरकारका उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली विशेष अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो ।
सांगीतिक कार्यक्रममा प्रवुद्ध व्यक्तित्व, राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यकार, सञ्चारकर्मी, विद्यार्थी लगायत झण्डै सात सयको उपस्थिति रहेको थियो । पण्डित हरिप्रसाद चौरसियाका साथमा विवेक सोनर (बाँसुरी), देवोप्रिया रणदिने (बाँसुरी), अमृता उप्रेति (तानपुरा), सुभांकर बेनर्जी (तबला) मा रहेका थिए । पण्डित हरिप्रसाद चौरसिया सांगीतिक क्षेत्रका विश्व विख्यात व्यक्तित्व हुन् । उनको सांगीतिक समूहले सांगीतिक प्रस्तुतिलाई अविस्मरणीय बनाएको थियो । उनले आधुनिक तथा शास्त्रीय बाँसुरी वादनद्वारा समस्त दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए ।
