इनरुवा÷मित्रराष्ट्र भारतको ७३ औं स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा शनिवार सुनसरी जिल्लाको बबियामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
नेपाल भारत मैत्री संघ जिल्ला कार्य समिति इनरुवा सुनसरीद्वारा आयोजित तथा जियाउल हक मेमोरियल च्यारिटी ट्रष्ट शाखा कार्यालय इनरुवा र इनरुवा नगरपालिका वडा नं ९ को सहयोगमा एक दिने स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
स्वास्थ्य कार्यालय बबियाको प्रांगरणमा भएको स्वास्थ्य शिविरमा बबियाका स्थानीयँगै अन्यत्रका सर्वसाधारण समेत स्वास्थ्य परीक्षणका लागि आएकोे नेपाल भारत मैत्री संंघ जिल्ला कार्यसमिति सुनसरी इनरुवाका अध्यक्ष हेमराज पोख्रेलले जानकारी दिनुभयो । जियाउल हक मेमोयिल चयारिटी ट्रष्टका केन्द्रीय अध्यक्ष डा खालिद हुसैन हक, कोशी अञ्चल अस्पतालका फिजिसिएन डा. मनिष दाहाल, डा. मोहम्मद उमेर हकले स्वास्थ्य परीक्षणसँगै स्थानीयलाई स्वास्थ्य सम्बन्धी जानकारी गराउनु भएको थियो । झण्डै दुई सयजनाको स्वास्थ्य परीक्षण गरिएको थियो भने वेष्ट फार्माले निःशुल्क औषधि समेत वितरण गरेको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, नेपाल भारत मैत्री संघ इनरुवाका सचिव सन्तोष देव लगायतले भारतको ७३ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा शुभकामना दिनुभएको थियो ।

