नेपालको पर्यटन बर्ष २०२० लाई लक्षित गर्दै पौड्वाल भजन सन्ध्या हुँदै

चर्चित भारतीय गायिका
अनुराधा पौड्वालको आगामी भदौ १४ गते काठमाण्डौमा भजन सन्ध्या हुने भएको छ ।
नेपाल र भारतमा बसोबास गर्ने हिन्दुहरुको मात्र नभएर विश्वका जुनुसकै कुनामा बस्ने हिन्दुहरुको साझा पर्व तीज, गौरा, बोलबम र श्रीकृष्ण जन्माष्टमीमा गाइने भजनहरुलाई एक साथ स्रोताहरुमाझ पस्कने हेतु चर्चित गायिका पौड्वालको भजन सन्ध्या हुने भएको आयोजकले जनाएको छ ।
पौड्वाल भजन संगीत सन्ध्याका प्रायोजक प्राज्ञ यज्ञराज उपाध्यायका अनुसार कार्यक्रमको आयोजना नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरेरै गर्न लागिएको हो । सरकारले भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । आउने पर्यटकहरु नेपालका प्राकृतिक सम्पदा नियाल्न मात्र नभएर यहाँका धार्मिक स्थलहरुको अवलोकन गर्न समेत आउने हुँदा धर्म, सँस्कृति आदिमा थप उजागर गर्न पौडवाल भजन सन्ध्या हुन लागेको उहाँले बताउनुभयो ।
प्राज्ञ उपाध्यायका अनुसार कार्यक्रमको आयोजना प्रशंसा संरक्षण समूहले गर्ने भएको हो । भजन सन्ध्यामा गीता, गंगा, गायत्री र गोविन्द चार ‘ग’ले युक्त गीतहरु प्रस्तत हुने जनाइएको छ । यी चार ‘ग’ ले धार्मिक पर्यटकहरुलाई एक आपसमा जोड्ने आयोजकको विश्वास रहेको छ । गायिकका पौड्वाल भारतमा पदमश्री पुरस्कारबाट विभूषित मात्र हुनुहुन्न दर्जनौ राष्ट्रिय अन्य पुरस्कारबाट समेत विभुषित हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया