नेपालमा आगामी मंसिरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि विशेष प्रशिक्षण गर्न नेपाली बक्सिङ टिम सोमबार थाइल्याण्ड प्रस्थान गर्ने भएका छन् ।
थाइल्याण्ड जाने खेलाडीमा पुरुषतर्फ सुशील थापामगर, तेज बहादुर देउवा, पुरन राई, सनिल शाही, भूपेन्द्र थापा, विकास लामा, दिपक श्रेष्ठ, गणेश प्रधान, अर्जुन सिंगु र आशिष दुवाडी रहेका छन् ।
महिलातर्फ सुस्मा तामाङ, ललिता महर्जन, माला राई, मिनु गुरुङ, चन्द्रकला थापा, संगीता सुनार र पुनम रावल रहेकी छिन् ।
टोलीको प्रमुख प्रशिक्षकमा प्रकाश थापा मगर, वरिष्ठ प्रशिक्षकमा प्रविन तुलाधर, प्रशिक्षकमा राजु थापा र उमेश कटवाल रहेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले बक्सिङका खेलाडीलाई हाल बन्द प्रशिक्षणमा राखेर तालिम दिइरहेको छ । नेपाली बक्सिङ टिमले थाइल्याण्डको बैंककमा करिब २ महिना विशेष प्रशिक्षण लिए पश्चात् जुलाइ २० देखि २८ सम्म आयोजना हुने थाइल्याण्ड ओपन अन्तर्रािष्ट्रय बक्सिङ प्रतियोगितामा भाग लिने छ ।
त्यस्तै जुलाई २२ देखि २९ सम्म इन्डोनेसियामा हुने २३ औं प्रेसिडेन्ट अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका भुपेन्द्र थापाले प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ संघले जनाएको छ । विदाई कार्यक्रममा राष्ट्रिय खेलकुद
परिषद्का सदस्य अर्जुनबाहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले लगायतले विदाई गरेका थिए ।
नेपाली टिमलाई ललिपुर जिल्ला बक्सिङ संघको अध्यक्ष महेश सिंहले ट्रयाक सुट प्रायोजन गरेका थिए । नेपाली टोली भदौ १२ गतेसम्म थाइल्याण्डमा रहने छ ।
आठौँ राष्ट्रिय खेलमा महिला ४८ केजी तौल समूहकी स्वर्ण पदक बिजेता खेलाडी सुश्मा तामाङ्ग इलाइट प्रतियोगिता खेल्ने उमेर नपुगेको कारण दोस्रो स्थान प्राप्त गर्ने खेलाडी ललिता महर्जनले प्रशिक्षणको अवसर पाएकी छन् । तर सुश्मा पनि प्रशिक्षणका लागि थाईल्याण्ड जाने छिन् ।
त्यसैगरी महिला ५१ केजी तौल समूहमा आठौं राष्ट्रिय खेलकुदमा प्रथम स्थान प्राप्त गर्ने खेलाडी विमला श्रेष्ठ आफ्नो स्वास्थ्यको कारण प्रशिक्षणमा समावेश हुन नसक्ने जानकारी आएको कारण दोश्रो हुने खेलाडी माला राईलाई अवसर मिलेको छ ।
पुरुष ६० केजी तौल समुहमा आठौं राष्ट्रिय खेलकुदमा प्रथम हुन प्रकाश इजम लिम्बु र दोश्रो भएका एकवहादुर घले आफ्नो कार्य व्यस्तताका कारण प्रशिक्षणमा सहभागिता हुन नसक्ने जानकारी गराए पछि छनोट खेलमार्फत सनिल साही छनोट भइ टिममा पर्न सफल भए हुन् ।
पुरुष ८१ केजीका च्याम्पियन मनोहर बस्नेत (माक्स) आफ्नो स्वास्थ्यको कारण प्रशिक्षणमा जान नसक्ने भनि निवेदन दिएकाले दोश्रो हुने खेलाडी गणेश प्रधानलाई टिम प्रशिक्षणमा सहभागिता गराईएको संघले जनाएको छ ।

