धरान÷झण्डै चार दशक शिक्षण पेशाबाट अवकाश जीवन विताइरहनु भएका चन्द्रप्रसाद श्रेष्ठ (चन्द्रसर)ले यसपटक आफ्नो ८४ औं जन्मोत्सव अनाथ बालबालिकाहरुसँग मनाउनु भएको छ ।
जीवनको उत्तरार्धमा समेत उस्तै स्फूर्ति,जोश र जाँगरका साथ आफ्ना उद्देश्यहरुमा निरन्तर लागिरहनु भएका चन्द्र सरले दर्जन भन्दा बढी शिक्षण संस्थाहरुमा छात्रवृत्ति कोषको स्थापना, धार्मिक संघ संस्थाहरुलाई सहयोग, परोपकारी संघ संस्थाहरुमा निश्चित उद्देश्यकालागि लाखौ रुपैयाँको अक्षय कोष स्थापना गरिदिनु भएको छ ।
विगतका बर्षहरुमा भन्दा भिन्न ढंगले जेठ १ गते आफ्नो ८४ औं जन्मोत्सव मनाउन फलफूल लगायत अन्य खाद्यान्न सामाग्री बोकेर उहाँ धरान ३ तुर्केस्थित सरस्वती बाल अनाथाश्रम पुग्नु भएको थियो । विगतमा घर परिवारसँगै आफ्नो जन्मदिन मनाउदै आउनु भएका चन्द्र सरले अनाथाश्रमका २४ जना आश्रित बालिकालकाहरुलाई फलफूल र खाद्यान्न सामाग्रीमात्र वितरण गर्नुभएन उनीहरुको व्यवसायिक तालिमका लागि १ लाख २५ हजार समेत प्रदान गर्नुभएको थियो । उक्त रकम उहाँले आश्रमकी अध्यक्ष नैनकला न्यौपामनेलाई हस्तान्तरण गर्नु भएको थियो । उक्त रकमको व्याजबाट प्रत्येक बर्षको बाल दिवसका अवसरमा आश्रमका विद्यार्थीहरुलाई प्राविधिक शीप प्लम्बरिङ्ग हाउस वाइरिङ्ग, मोवाइल मर्मत लगायतका तालिम प्रदान गर्न लिखित सहमति भएको श्रेष्ठले बताउनुभयो ।

