धरान सुुविधा सम्पन्न, धार्मिक पर्यटकीय, साहसीक पर्यटक गन्तव्यको रुपमा लिने गरिएको छ । धरानको विकासमालाई अझ गतिशिल बनाउन विगतमा बनाएका गुरु योजनाहरु केही बनेकै छैनन, केही बन्दा बन्दै बीचैमा लथालिंग भएका छन् । यसबारेमा केहीको उदाहरण यहा पेश गरिएको छ ।
बसपार्क सार्ने योजना अधुरै
अन्य सहरको तुलनामा धरान हरेक हिसाबले सम्भावना बोकेको शहरका रुपमा लिने गरिएको छ । यहाको वातावरण, हावापानी, मौसम, भौगोलिक अवस्था सबै क्षेत्रबाट विकासका लागि यो सहर सम्भावना नै सम्भावना बोकेको सहरका रुपमा लिने गरिएको छ । यति हुदा हुदै पनि यहा शुरु गरिएका विकास निर्माणले गति लिन नसक्दा, गुरुयोजनामा परेका विकास निर्माणका कामहरु केही शुरु नै नभएका, कही शुरु गरेर बीचैमा अलपत्र पारेर छाडिएका कारण लथांलिग र भताभुंग भएका छन् ।
यसको प्रत्यक्ष उदाहरणका रुपमा धरानको गुरु योजनामा परेको धरान १६ सप्तरंगी पार्क, धरानको बसपार्क र सपिङ कम्प्लेक्सलाई लिन सकिन्छ । यी योजनाहरु कोही शुरुवात नै भएका छैनन्, कोही शुरुवात गरेर लथांलिङ छाडिएको छ भने कोही त्यो योजनालाई थाति राखेर योजना नै तुहाउने काम भएको छ ।
धरानको भानुचौकमा रहेको बसपार्क दिनप्रतिदिन सागुरो बन्दै गएपछि धरान उपमहानगरपालिकाले धरान ८ सुन्दरबस्तीमा सार्ने १० बर्ष अगाडि नै योजना बनाए पनि ०७५ माघ २७ गते शिलान्यास गरियो । धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीले शिलान्यास गर्दा त्यहा सर्वसाधारणले विरोध गरे ।
विरोधका बाबजुद पनि शिलान्यास त भयो तर शिलान्यास भएको स्थानमा अहिलेसम्म काम शुरु भएको छैन । हचुवाको भरमा भन्दै शिलान्यास गरिएको ठाउमै विरोध जनाएपछि कामले तिब्रता नपाएको हो ।
धरान ८ सुन्दरबस्तीको ३५ कट्टा जग्गामा निर्माण गर्नकै लागि शिलान्यास गरिएको बसपार्कको स्थानीय जग्गाधनीहरुले हचुवाको भरमा ल्याएका बसपार्कको विरोध गर्दै त्यो बेला नाराबाजी गरेका थिए ।
सवारी चापका कारण दिनप्रतिदिन सागुरो बन्दै गएको भानुचौकमा रहेको बसपार्क सार्ने गुरुयोजना बनाए पनि त्यो बेला डिपिआर विना नै शिलान्यास गरिएको थियो । प्रदेश नं. १ सरकारको १ करोड लागतमा डिपिआरसहित घेरा बारबारा गर्ने काम गर्ने भनिए पनि अहिलेसम्म केही हुन नसकेको धरान उपमहानगरपालिकाका योजना विकास शाखाका प्रमुख इन्जिनियर सुरज श्रेष्ठ बताछन । यात्रुहरुका लागि प्रतिक्षालय, सुविधा समपन्न काउन्टर लगायतका सुविधासहित बनाउन लागिएको सो बसपार्कको अहिलेसम्म डिपिआर बनेको छैन । डिपिआरको जिम्मा प्रदेश सरकारले लिएको र दुई साताभित्र तयार भएर आउने इन्जिनियर श्रेष्ठ बताउछन ।
तर सर्वसाधारण अझ यसमा विश्वस्त छैनन् । राजनीतिक खिचातानी, कर्मचारीको मनोमानी, स्थानी जग्गाधनीको विवाद कायमै भएका कारण यो सम्भव नभएको धरान ११ का सुजन याख्खा बताउछन ।
बसपार्क सागुरो भएकै कारण सवारी साधन घण्टौ जाममा पर्नेमात्र हैन दुर्घटनाको जोखिम उत्तिकै छ । यसलाई व्यवस्थित गर्न बसपार्क सार्नु जरुरी भइसकको छ । यसका लागि विवाद समाधान समितिले स्थानीयहरुसंग छलफल र सहकार्य गरेर जान आवश्यक छ ।
सप्तरंगी पार्कको समेत हालत उस्तै
धरान १७ मा रहेको सप्तरंगी पार्कको अवस्था बसपार्कको भन्दा फरक छैन । २० बर्ष अगाडि विडिआर भन्ने संस्थासंग सहकार्य गरेर धरान १७ मा रहेको ६२ विगाहा जग्गामा सुविधा सम्पन्न सहित स्मारक पार्क, बाल उद्यययन, खेलकुदका गतिविधि लगायतका ठूलो महत्वांकांक्षी गुरु योजना बनाएर उपमहानगरपालिकाले थालेको काम बीचैमा रोकियो । करिब ३ करोड रुपैया त्यसबेला बालुवामा पानी हाले सरह भयो । यतिबेला संप्तरंगी पार्कको जग्गा समेत अतिक्रमणमा परेको छ । ६२ विगाहा जग्गामा अहिले ९ विगाहा क्षेत्रफल मात्र संप्तरंगी पार्कका लागि घेराबारा लगाएको छे भने बनाएका भौतिक संरचना समेत जीर्ण बन्दै गएका छन् । गुरु योजनामा परेको यो पार्कको समेत डिपिआर बिना नै शुरुवात गरिएको थियो । २०५५ सालमा विडिआर संस्थासंग सम्झौता भए पनि यसको काम भने ०६७ सालमा शुरु गरिएको थियो । अहिले त्यहा बनाइएका पिकनिक स्पोर्ट, सहीद स्मारक पार्क तथा त्यहा भएका भौतिक संरचना समेत जीर्ण बन्दै गएका छन्् ।
अब भने धरानको स्वामित्वमा रहेको ६२ विगाहा जग्गालाई एकीकृत गरी डिपिआर तयार गरेर अगाडि बढ्ने योजना रहेको धरान उपमहानगरपालिकाका योजना विकास प्रमुख इन्जिनियर सुरज श्रेष्ठ बताउछन् ।
गुरु योजनामा परेको यो स्थानमा बनेका भौतिक संरचना जीर्ण बन्नु दुखद् कुरा हो तर त्यो भन्दा ठूलो कुराचाहिँ ६२ विगाहा जग्गा अतिक्रमण भएर ९ विगतमा खु्िम्चनुलाई अब के भन्ने । यस विषयमा इन्जिनियर श्रेष्ठ उपमहानगरपालिकाको जग्गा एकीकृत गरेर डिपिआर पछि नया परिवेश अनुसार काम शुरु गर्ने बताउछन ।
२० बर्ष अगाडि २ देखि ३ करोड लागत अनुमान गरिएको यो पार्क अब भने २५ देखि ३० करोड लाग्ने अनुमान गरिएको छ ।
यता सर्वसाधारणले भने राजनीतिक खिचातानीका कारण, व्यक्तिगत स्वार्थका कारण यो पार्क निर्माण हुन नसकको बताउने गरेका छन् । धरान १९ का सुरज राईले विकासका नाममा भागबण्डा नमिल्दा खिचातानी हुने गरेका कारण समयमै कुनै पनि काम हुन नसकेका बताए ।
अहिले यो स्थानमा विभिन्न जातिको रुख रोपिएका छन्, प्रवेश गर्ने स्थानदेखि केही तलसम्म विभिन्न जातका फूल रोपेर फूल वगैचा जस्तो बनाएको छ । बाकी ठाउमा जताततै घास उम्रिएका छन् । अहिले धरान उपमहानगरपालिकाले त्यहा घुम्न आउनेलाई प्रतिव्यक्ति १० रुपैया लिने गरेको छ । यस्तो ठाउ भए पनि दैनिक ५० देखि ६० जनासम्म आउने गरेको त्यहाका कर्मचारी दिपक पौडेल बताउछन् ।
धरान उपमहानगरपालिकाका गुरुयोजना परेका यो पार्कमा उपमहानगरपालिकाले गम्भीरता नदेखाएकै कारण विभिन्न संघ संस्था, सुकुम्बासीहरुले अतिक्रमण गरेकै कारण सप्तरंगी पार्कका जग्गासमेत ६२ विगाहाबाट खु्िम्चएर ९ विगहा भएका छ, । यसतर्फ धरान उपमहानगरपाकिाले कहिले ध्यान पु¥याउने ?
सपिङ कम्प्लेक्स भने नबन्ने नै भयो
धरान उपमहानगरपालिकाको मुटु मनिएको भानुचौकमै सपिङ कम्प्लेक्स बनाउने योजना अन्तत तुहिएको छ । २० बर्ष अगाडि त्यहा रहेको सब्जी मण्डिलाई त्यहाका व्यवसायीहरुलाई विचल्ली बनाएर अन्ततः अहिले त्यस ठाउलाई खुल्ला क्षेत्र नै राख्ने योजना धरान उपमहानगपालिकाको छ ।
२०५६ सालमा तत्कालीन मेयर मनोजकुमार मेन्याङ्गबाले भानुचौकमा रहेको सब्जी मन्डी र फेन्सीसप टहरा भत्काएर धरान ९ पूर्ण पथमा सा¥यो । गुरु योजनामा परेका सपिङ्ग कक्प्लेक्स बनाउन सारिएको यो ठाउ अहिले छाडा टेम्पो, टेक्सी, माइक्रोबस लगायतका स्टेनमा परिणत भएको छ ।
अब भने त्यस स्थानमा सपिङ्ग कम्प्लेक्स नबनाउने पक्का पक्की नै भएको छ । अब यसलाई धरान विराटनगर मेघा सिटीको अवधारणा अनुरुप यो एरिया खुल्ला क्षेत्र र सुविधासम्पन्न पार्किङ्गका साथै पर्यटकका लागि अवलाकन गर्ने स्थान बनाउने योजनामा धरान उपमहानगरपालिका रहेको छ । यो योजना अनुरुप २३ करोड खर्च हुने धरान उपमहानगरपालिकाका योजना विकास प्रमुख इन्जिनियर सुरज श्रेष्ठ बताउछन् ।
उनले विराटनगर किमांथाका सडक भानुचौकबाट वाइवास भएर गएमा त्यहा त्यो एरियामा पर्ने सडक अन्डरग्राउन्ड हुने र पार्किङका व्यवस्था गर्न माथिल्लो तलामा पर्यटककका लागि अवलोकन गर्न स्थान बन्ने बताए ।
करिब १० कट्टा रहेको सो क्षेत्रमा जति पनि योजना बनाइएका छन् कुनै पनि योजनाको डिपिआर भने तयार नभएको स्वम् इन्जिनियर सुरज स्वीकार्छन ।
यसरी गुरु योजनामा परेका योजनाहरु समयमै नबन्नुको प्रमुख कारण उपमहानगरपालिकाले एकपटक योजनामा ल्याएपछि त्यसलाई ध्यान नदिनु नै हो । यस विषयमा इन्जिनियर सुरज श्रेष्ठ भने, धरान उपहानगरपालिकाले एक्लैले त्यत्रो बजेट खर्च गर्न नसक्दा स्थानीय लगानीकर्ताले समेत लगानी नगर्दिदा यस्तो समस्या आउने गरेको हो ।
यी तीनवटा गुरु योजनामा परेका विकास निर्माणका कार्यहरु त उदाहरणमात्र हुन् । यस्ता दर्जन भन्दा बढी गुरुयोजनामा परेका विकास निर्माणका कार्यहरु धरान उपमहानगरपालिकाले लगानी गर्ने छाड्ने काम भएको छ । अर्थात यस्ता योजनामा धरान उपमहानगरपालिकाको करोडौ, अरबौ लगानी बालुवामा पानी हाले सरह भएको छ । अब स्थानीय सरकार समेत आइसकेको समयमा यस्ता योजनाहरुमा गम्भीरता देखाउन जरुरी छ ।

