धरान÷वृहत विराटक्षेत्र अन्तर्गत प्रदेश नं. १ का कुनै पनि संरचना धरान आउने सम्भावना नरहेपछि धरानबासीहरु आक्रोसित मात्र होइन आन्दोलित समेत भएका छन् ।
प्रदेश राजधानी र नामका सम्बन्धमा नेकपाको दुई दिनसम्म चलेको बैठकले धरानमा
राजधानीको कुरा त परै छाडौ प्रदेशका कुनै पनि संरचना दिने सवालमा उच्चारण समेत गरेनन् । प्रदेश संसदमा नेकपाको दुई तिहाई वहुमत रहेको छ । धरान एमालेको बलियो पकड क्षेत्र पनि हो । स्थानीय निकाय, प्रदेशसभा र केन्द्रसम्म एमालेकै जनप्रतिनिधि निर्वाचित भएका छन् । तर धरानमा प्रदेश नं. १ को राजधानी राख्नुपर्छ भन्ने सवालमा स्थानीय, प्रदेश र केन्द्रका जनप्रतिनिधिहरुले कहिल्यै आवाज उठाएछन् । उनीहरुले औपचारिक रुपले पहल गरेको समेत धराने जनतालाई थाहा भएन ।
राजधानीका सम्बन्धमा वैसाख २२ गतेसम्म प्रस्ताव पेश गर्न नेकपाको दुई तिहाईको सरकारले आवहान गरे तापनि दुई दिन सम्म चलेको नेकपाको बैठकले स्थायी राजधानी विराटनगर भनेर निर्णय गरिसकेको छ । धरानलाई राजधानी बनाउनुपर्छ भन्ने सवालमा क्षेत्रीय स्तरका साना राजनैतिक पार्टीहरुले विगतदेखि नै आन्दोलन र दबाब दिँदै आएको भए पनि सत्तासीन नेकपाले यस सम्बन्धमा आजसम्म आफ्नो धारणा सार्वजनिक गरेन । चौतर्फी दबाबपछि राजधानी नभएपनि कुनै न कुनै संरचना
धरानमा पनि हुनुपर्छ भन्ने आवाज उठ्न थालेपछि बाध्य भएर स्थानीय निकायको नेतृत्वले धरानमा
राजधानीका कुनै न कुनै संरचना हुनुपर्छ भन्दै आइतबार प्रदेशका मुख्यमन्त्री, सभामुख, प्रतिपक्षी दलका नेता लगायतसँग भेट गरी ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएको थियो । यसै सम्बन्धमा यस पटक हामीले धरानका राजनैतिक दल, व्यवसायी, जनप्रतिनिसँग सोधेका छौं धरान सबै दृष्टिले उपयुक्त हुँदाहुँदै राजधानी किन भएन ? राजधानी त भएन भएन विराटक्षेत्र अन्तर्गत कुनै सरचना समेत दिने संकेत छैन । यस्तो अवस्थामा अब तपाईहरुको भूमिका के रहने ?
तिलक राई (सभापति नेपाली काँग्रेस धरान उपमहानगर समिति)
पूर्व एमाले हालको नेकपाले प्रदेशसभाको दुवै स्थान, संघमा यहाँबाट जितेको छ । एक नं प्रदेशको सभामुख समेत धरानबाटै छन् । यतिमात्र होइन नेकपाको एक नं. प्रदेशको एमालेको हाइकमाण्ड तथा इन्चार्च रहेका भीम आचार्य समेत यहीबाट निर्वाचित भएका छन् । स्थानीय निकाय धरान उपमहानगरपालिकाको मेयर, उपमेयर लगायत वहुमत वडा सदस्यहरु समेत एमालेले नै जितेको ठाउँ हो धरान । भीम आचार्यले निर्णय गर्दा यहाँ के हुँदैन ? राजधानी नै धरान बन्न सक्छ । वारम्बार जनताको मत धरानबाट लिने तर धरानलाई दिने कुरामाचाहिँ सदैव उपेक्षा गर्ने ? अब यो कुरा हामी जनतामा लैजान्छौं । काँग्रेसले यहाँबाट निर्वाचन हारेको छ । हाम्रो कुरा धरान उपमहानगरपालकाले समेत सुन्दैन । बजेट बनाउने कुरामा समेत हामीलाई वेवास्ता गर्छन् । राजधानी कहाँ राख्ने भन्ने कुराको निर्णय प्रदेश सभाले गर्ने हो । अब हामी धरानमा किन राजधानी भएन, राजधानीमात्र होइन प्रदेशका कुनै
संरचना समेत किन दिएन भनेर धरानका जनतालाई बुझाउँछौं । एमालेले धराने जनताको मतको अबमुल्यांकन
गरिरहेको छ ।
राजेन्द्र साह (अध्यक्ष सुनसरी उद्योग वाणिज्य संघ)
वास्तवमा भन्ने हो भने धरानमा त्यस्तो नेतृत्व नै देखिएन जसले धरानलाई अगाडि बढाओस् । केन्द्रसँगको पहुँचमै यहाँका नेताहरु कोही छैनन् । विगतमा साना राजनैतिक दल, पहिचानवादीहरुले राजधानीका विषयमा आन्दोलन गरे तर जनताको अभिमत लिएर स्थानीय नेतृत्वमा रवाफ जमाएका, प्रदेशमा आफ्नो उपस्थिति जनाएका र केन्द्रमा पुगेका एमालेहरुले धरानमा राजधानी हुनुपर्छ भनेर कहिल्यै भनेनन्, कहिल्यै आवाज उठाएनन्, कहिल्यै त्यसका लागि तयारी गरेनन् । केन्द्रमा पूर्व एमालेकै दुई तिहाईको सरकार छ, प्रदेशमा पनि उनीहरुकै दुई तिहाई छ । पहल पहिला देखि नै गर्नुपनेै होइन ? धरानेहरुको मत लिने तर दीर्घकालीन र ठोस काम कहिल्यै नगर्ने प्रवृत्तिका कारण धरानमा राजधानी आउन सकेन । कतिसम्म लज्जास्पद कुरा छ भने विराटक्षेत्र अन्तर्गत संरचनाहरुको विकेन्द्रीकरण हुँदा समेत धरानमा कुनै एउटा संरचना परेन ।
गजेन्द्रमा चोङवाङ क्याक लिम्बु
(सचिव संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च)
विराटनगरलाई स्थायी राजधानी अन्तर्राष्ट्रिय मापदण्ड विपरीत घोषणा गर्ने काम गरिएको छ । कुनैपनि देशले आफना संरचनाहरु निर्माण गर्दा २५ किमी दूरीको मापदण्ड कायम गर्नुपर्छ ।
विराटनगर राजधानी बनाउनु भनेको कालान्तरमा त्यसले अकल्पनीय परिणाम ल्याउछ । नेपाल नै नरहन सक्छ । अब आन्दोलनको विकल्प छैन । चाँडै हाम्रो केन्द्रीय कार्य समितिको बैठक बोलाई आन्दोलनका कार्यक्रमको घोषण गर्छौै ।
रमेश बस्नेत (सचिव नेकपा जिल्ला कार्यसमिति सुनसरी)
पहिलो कुरा त अस्थायी राजधानी तोक्ने पहिलाको कुराले समस्या उब्जायो । तोकिसकेको ठाउँबाट हटाउन अलि अप्ठेरो हुँदो रहेछ । विराटनगरबाट हँटाउने कुरा उठ्दा पनि त्यहाँ आन्दोलन शुरु भयो यतिमात्र होइन कुनैपनि कार्यालय हँटाउनु हुँदैन भनेर पनि आन्दोलन भयो । सबै राजधानीका संरचना ल्याउने भन्नुभन्दा पनि त्यसका केही संरचनाहरु ल्याउने भन्ने हो । धरान उपमहानगरपालिका भएकोले यहाँ पनि एउटा संरचना हुनुपर्छ भन्ने हो । हामीलाई आश्वासन पनि प्राप्त भएको छ । राजधानी ल्याउने कुरामा हाम्रो पहलकदमी कम भएको हो, नपुगेको हो । यद्यपि हामीले अहिले लविङ्ग गरिरहेका छौं । वर्तमान सरकारले पनि विराटनगर नै होस किन चलाइरहनु भन्ने मान्यता राखेको देखियो । पहाडी जिल्लाका मानिसहरुको बसाई सरेर आउने क्रम बढी अहिले इटहरीमा भएको छ । त्यसैले अधिकांश सांसदहरुको मनसाय इटहरी हुँदा धरानले चित्त बुझाउनुपर्छ भन्ने कन्भिन्स गर्ने काम भएको छ । विराटनगर राजधानी भएपनि ५० प्रतिशत सासदहरु इटहरीकै पक्षमा हुनुहुन्छ । उहाँहरु धेरैको इटहरीमा घर छ, डेरा छ, घडेरी छ । धरानका पक्षमा वकालत गरिदिने सांसद हुनु भएन । धनकुटाले प्रस्ताव दर्ता त ग¥यो तर धनकुटाका सासदहरुमात्र हुनुभयो, उहाँहरुको पक्षमा अरु सांसद देखिनु भएन । हिजो संघियता आउनु भन्दा क्षेत्रीय स्तरका धेरै कार्यालय धनकुटामा थिए । आज सबै उठेर गइसकेका छन् । अब त्यो सबै गुम्न थालेपछि संघीयताको के अर्थ हुने भयो भनेर उहाँहरुले प्रस्ताव दर्ता गराउनु भएको हो । जनसम्पर्क हुने, चहलपहल बढ्ने, निजी संरचनाहरु प्रदेशसभा, प्रदेश प्रमुख र मन्त्री परिषदको कार्यालय मध्ये एउटा धरानमा हुनुपर्छ भनेका छौं । हामीले पहल कदमी जारी राखेका छौं । केन्द्रीय नेताहरु, प्रदेशका नेताहरुसँग वार्ता गरिरहेका छौं । धरानबाट गएका सांसदहरुले प्रस्ताव नै दर्ता गराउन नसक्नुतर्फ संकेत गर्दै बन्नेतले भन्नुभयो नेपाली काँग्रेसको संस्थागत निर्णय नै त विराटनगरबाट नसार्ने भन्ने थियो । उहाँहरु संस्थागत निर्णय भन्दा बाहिर जान सक्नु हुन्न । बाँकी रहयो धरानका चार जना सांसद जसमा भीम आचार्य, प्रदेश इन्चार्ज भएकोले समग्र सांसदको भावनाहरु बुझेर निर्णय गुर्नपर्ने हुन्छ । दुई जना समानुपातिकका सांसदहरु पनि पार्टी लाइनमै रहनुपर्ने हुन्छ । अहिले पनि वहुमत सांसदहरु इटहरीको पक्षमा हुनुहुन्छ ।
मञ्जु भण्डारी (कार्यवाहक नगरप्रमुख धरान उपमहानगरपालिका)
मुख्यमन्त्रीले धरानमा
राजधानी अहिले नहुने कुरा बताउनु भयो । तर केही संरचनाचाहिँ
धरानमा दिने भनेर आश्वासन दिनुभएको छ । धरानबाट पाँचजना सांसद हुनुहुन्छ कसैले त एउटा दर्ता त गरिदिनुपथ्र्यौ नि धरानमा राजधानी चाहिँन्छ वा केही संरचना चाहिन्छ भनेर त्यो भएन किन त ? भन्ने सवालमा भण्डारी भन्नुहुन्छ खै त्यो कुरा त सांसदलाई नै सोध्नुपर्छ । सांसदलाई हामीले कसरी दबाब दिने ? सासदले त विवेक पु¥याउनुपथ्र्यो । दबाब सरकारलाई दिएर भए पनि धरानको विकास र समृद्धिका लागि सांसदले आफै कुरा बुझेर कमसेकम प्रस्ताव दर्ता गराउनुपथ्र्यो ।
राजधानी धरानमा आवश्यकता छ कि छैन, चुनावताका के भनेर भोट मागेका थियौ भनेर उहाँहरु आफैले विश्लेषण गर्नुपथ्र्योै । यो धरानका जनताका लागि दुर्भाग्य हो । धरानबाट त्यत्रा त्यत्रा भ्यार्टन व्यक्तित्वहरु हुनुहुन्छ । सभामुख हुनुहुन्छ, प्रदेश इन्चार्ज भीम आचार्य हुनुहुन्छ तर पनि एउटा प्रस्ताव समेत नपर्नु यहाँ भन्दा आपत्तिजनक र दुःखको कुरा केही हुन सक्दैन । तपाईहरुको पहुँच वा पहल नपुगेको हो कि भन्ने सवालमा भण्डारी भन्नुहुन्छ, त्यस्तो केही होइन । पहल भन्ने कुरा सांसदहरुले दर्ता गरेपछि हुने हो । विराटनगरले कति पहल ग¥यो र ? धनकुटाका सांसदले पहल गरे । इटहरीले पहल नगरेको होइन । नीति निर्माण तहमा बसेका नेतृत्वले विराटनगर भन्दा अन्यत्र जानै नसकिने भन्ने जुन निर्णय गर्नुभयो त्यो दुर्भाग्य हो । नेतृत्वले सांसदहरुलाई ह्वीप जारी गरेर त्यस्तो अवस्था आएको हो कि भन्ने सवालमा उहाँले भन्नुभयो मैले सांसदको वा नेतृत्वको भ्वाईस कसरी बोलुँ हजुर ? यो विषयमा सांसदलाई नै सोध्नुस् । भीम आचार्य प्रदिप भण्डारीलाई सोध्नुस् न । उहाँहरुलाई केन्द्रको ह्वीप कस्तो आयो भनेर सोध्नै मिल्दैन । हामीले धरानलाई राजधानी बनाउने भनेर चरणवद्ध आन्दोलन गर्छौ भनेका छौ । त्यत्रा पाँच पाँच जना सांसद थिए कमसेकम एक जनाले त प्रस्ताव गर्न सक्नुपर्ने थियो । पछि बरु प्रक्रियामा जाँदा सहमति सहकार्य गर्न सकिन्थ्यो । धनकुटाका सांसदले हवीव जारी गर्दा पनि प्रस्ताव दर्ता गराए ।
धरानलाई डेढ सिटी बनाउनै खोजिएको हो कि क्या हो भन्ने सवालमा भण्डारीले भन्नुभयो त्यो मलाई थाहा भएन । तर म
धरानलाई ग्रिन सिटी, भर्जिन सिटी बनाउन लागिपरेको छु अरुले के गर्छन् त्यो मलाई थाहा छैन ।
कृष्णकुमार अग्रवाल (बरिष्ठ उद्योगी एवम् समाजसेवी) ः
धरानमा राजधानी आउँदैमा केही भइहाल्छ भन्ने कुरा होइन । यद्यपि हाम्रो प्रयासमा कमी देखिएको हो । सबै राजनैतिक दलहरु एक भएर कहीँ पहुँच पु¥याए जस्तो मलाई लागेन । हामी यो कुरामा पछि परे पनि विकासमै पछि पर्छौ जस्तो मलाई लाग्दैन । राजधानी हुँदैमा विकास हुन्छ भन्ने होइन । हाम्रो यहाँ भएका राजनैतिक दलहरुको अनुभवमा कमी देखियो । आज यस्तो भयो भोलि यहाँका नेताहरुको खिचातानीले अन्य योजनाहरुमा पनि पछि पर्न सक्छौं । त्यसैले सबै राजनीतिक दलहरुले आफ्नो सोच, गतिविधिमा परिवर्तन ल्याउनै पर्छ ।
राजधानीका संरचना एकै ठाउँमा हुन्छ त्यो आफनै ठाउँमा छ तर वृहत विराटक्षेत्र अन्तर्गत धरानमा पनि केही
संरचना दिनुपथ्र्यो । हाल जुन
सरकार छ त्यो सरकारलाई २०१५ सालपछिदेखि नै धरानका जनताले अगाडि बढाएका हुन् । त्यही
सरकारले हामीलाई अहिले आएर पाखा लगाइदिएको छ । यो
सरकारले धरानेको आवाज सुन्न सकेन । यही क्षेत्रबाट जितेर गएको मान्छे सभामुख छन्, नेकपाका प्रदेश इचार्ज छन् यति हुँदा पनि धरानलाई राजधानी घोषणा गर्न नसक्नु दुर्भाग्य हो । हुन त २०४८ सालको निर्वाचनमा मनमोहन अधिकारी निर्वाचित भएर पनि यस क्षेत्रबाट जाँदा यहाँका क्षेत्रीय कार्यालयहरु, पुनरावेदन अदालत यहाँबाट गएकै हो । त्यतिका प्रभावशाली नेताहरु हुँदा पनि
धरानलाई केही गर्न सकेनन् । यसमा मलाई अत्यन्तै दुःख लागेको छ । वडा स्तरीय, घरको नेतादेखि लिएर धरानको नेतृत्व गर्नेहरुको पहुँच नै कमजोर छ । नत्र धरान राजधानी हुन सबै भन्दै भन्दा राम्रो ठाउँ हो । चाहे पर्यावरण होस, चाहे सुरक्षा दृष्टिले होस् । यो कुरा किन नबुझेको होला ? धराने जनताले एमालेलाई निर्वाचित गराएको परिणाम नै आज धरानमा राजधानी नआउनु हो ।
नारायण सुवेदी (कार्यवाहक अध्यक्ष नेकपा धरान उपमहानगर समिति)
मुख्यमन्त्रीले राजधानी नै चााहिँ धरानमा हुँदैन तर केही संरचनाहरुचाहिँ हामी धरानमा दिन्छौं भनेर आश्वासन दिनुभएको छ । पछि कार्यान्वयनको पक्ष कस्तो रहन्छ त्यो अलग कुरा हो । मुख्य कुरा राजधानीका सम्बन्धमा हाम्रो पहुँच कति रहयो भन्ने हो । अधिकांश सासदहरु इटहरीका पक्षमा देखिए । हाम्रा यहाँका सासदहरुमध्ये नेपाली काँग्रेसका सांसद विराटनगरकै पक्षमा लविङ्ग गरिरहेका थिए । सभामुखले मात्र कति लविङ्ग गर्ने भन्ने कुरा हो । उहाँ एक्लैको सबै जोर चल्दैन । उहाँले खुलेर ओपन्ली लविङ्ग गर्ने कुरा पनि आउँदैन । हाम्रो वहुमत भएर पनि निर्णायक अवस्थामा पुग्न नसकेको अवस्थाचाहिँ हो । हामीले विगतमा पनि धरानलाई अस्थायी राजधानी बनाउनुपर्छ भनेर पहल कदमी गरेकै थियौं । सबै पार्टीका सांसदहरु विराटनगरको पक्षमा थिए । नेकपाका वहुमत सांसदहरु इटहरीको पक्षमा थिए । कन्नेक्टीसिटी लगायतका हिसाबले अन्य पार्टीका सासदहरु विराटनगरकै पक्षमा देखिए । केन्द्रीय स्तरमा कुनै पार्टीको पहुँच नपुगेर नै धरानमा राजधानी आउन नसकेको हो । हिजो अस्थायी राजधानी विराटनगरलाई काँग्रेसले तोक्यो । धरानलाई तोक्नुपर्छ भनेर हामीले त्यसबेला भनेका थियौं । आज हेटौडाबाट राजधानी काभ्रेमा सार्नुपर्छ भनेर लभिङ्ग गरेकै थिए तर सार्न सकेनन् । अस्थायी नै स्थायी हुन्छ भनेर प्रायः सबैले बुझेकै थिए ।

