धरान÷ सामुदायिक विद्यालयको स्तर उकास्न सरकारले जतिसुकै योजना ल्याए पनि विद्यालयको स्तर माथि उस्कन सकेको छैन ।
ग्रामीण भेगमा रहेका सामुदायिक विद्यालय मात्र हैन सहरकेन्द्रीत सामुदायिक विद्यालयको हालत पनि
फरक छैन ।
यसको प्रत्यक्ष उदाहरण धरान ४ पत्रङबारीमा रहेको पञ्चकन्या आधारभूत विद्यालयलाई हेर्दा पुग्छ । सुविधा सम्पन्न उपमहानगरपालिकामा रहेको यो समुदायिक विद्यालयमा बालकक्षादेखि कक्षा ५ सम्म ३६ जना विद्यार्थी अध्ययनरत भएपनि विद्यालयमा आउने विद्यार्थीको सख्ष्या मुस्किलले १० जना हुने गरेको छ ।
धरान उपमहानगरपालिकाभित्र पर्ने यो सामुदायिक विद्यालय अत्यन्तै विकट, सवारी साधनको पहुचभन्दा बाहिर रहेको छ । यसले गर्दा पनि यो विद्यालयमा विद्यार्थीहरु कम आउने गरेको विद्यालयका प्राद्यानाध्यापक
नारायणप्रसाद राना मगर बताउनुहुन्छ । छ्यासछ्यास्ती खुलेका निजी विद्यालयका कारण सामुदायिक विद्यालयमा विद्यार्थीहरु कम आउने गरेको प्रअ. मगर बताउनुहुन्छ ।
यस विद्यालयमा ४ जना शिक्षक, एक जना कर्मचारी र एक जना अस्थायी शिक्षक छन् । उनीहरु समेत नियमित नआउने गरेको त्यहा अध्यनरत विद्यार्थीहरु बताउछन् । यो विद्यालयमा बाल कक्षामा ९ जना, कक्षा १ मा ६ जना, कक्षा २ मा ५ जना कक्षा ३ मा ५ जना, कक्षा ४ मा ५ जना, कक्षा ५ मा ६ जना विद्यार्थी अध्ययनरत छन् । तर यीसबै विद्यार्थी आउने गरेका छैनन ।
विद्यालयको अवस्था उस्तै नाजुक छ, त्यहा रहेका डेस्क बेन्चको अवस्था झनै नाजुक छ । भाचिएका तर मर्मत नगरी राखिएका छन् । यसरी लथालिंग हुनुमा सरकारी बजेट प्रर्याप्त नआएकै कारण भएको बताउनुहुन्छ प्र.अ. मगर । तलबसहित बार्षिक १ लाख रुपैया मात्र यो विद्यालयमा आउने गरेको बताउनुहुन्छ उहा ।
विद्यालयमा समेत समय अवधिभर पढाइ नहुने विद्यार्थीहरु बताउछन् । धरान १५ बगरकोटबाट एक घण्टाका बाटो पदलै हिडेर अध्ययनका लागि पुग्नु हुने कक्षा ५ मा अध्ययनरत अस्मिता विसंंखुले शिक्षक धेरै जस्तो नियमित नआउने बताउनुहुन्छ ।
सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न विद्यालयमा अध्ययनरत, दलित, आदिवासी लगायतका कोटामा सरकारले छात्रवृत्ति प्रदान गर्ने गरिएको छ भने दैनिक खाजा वापत १५ रुपैया प्रदान गर्ने गरेको छ । तर पनि विद्यालयको आकर्षक सामुदायिक विद्यालयमा हुन सकेको छैन । स्थानीय स्तरको शिक्षालाई स्थानीय सरकारले हेर्नका लागि प्रत्येक स्थानीय तहमा शिक्षा समिति गठन पनि गरिएको छ । तर सामुदायिक विद्यालयको शैक्षिक स्तर बढ्नुको साटो दिनप्रतिदिन खस्किदै गएको पाइएको छ । सहरी भेगमा
रहेका यस्ता सामुदायिक विद्यालयका अवस्था यस्तो छ भने ग्रामीण भेगमा रहेकाहरुका कस्तो अवस्था होला सहजै अनुमान गर्न सकिन्छ । बोलीमा भन्दा पनि कार्यान्वयनमा जोड दिएर शैक्षिक गुणस्तर बढाउन सकिएन भने सामुदायिक विद्यालयमा भोलिका दिनमा विद्यार्थीको शून्य उपस्थिति हुने देखिन्छ । यसतर्फ स्थानीय, प्रदेश र संघीय सरकार गम्भीर हुन आवश्यक छ ।

