नेपाली साहित्यमा पहिलो पटक छामेर पढ्ने मुक्तक प्रकाशित

नेपाल मुक्तक प्रतिष्ठान मार्फत मुक्तकको उन्नयनमा क्रियाशील मुक्तिकार रामकाजी कोनेले ब्रेल लिपिमा मुक्तक संग्रह ल्याएका छन–मुक्तक मोह । दृष्टिविहीनहरूलाई मुक्तक पढाएर मुक्तक लेखनमा प्रोत्साहित गराउन ‘मुक्तक मोह’ प्रकाशन गरिएको कोने बताउँछन् । यो नेपाली साहित्यको पहिलो ब्रेल मुक्तक संग्रह हो ।
प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकमा ६९ मुक्तक छन् । पुस्तकमा जीवनका सबै रंग भेटिन्छ । मुक्तकमा उनले व्यावहारिक, दार्शनिक, धार्मिक, सामाजिक, प्रेमिल र राष्ट्रिय भाव पस्केका छन् ।
पुस्तकको पहिलो खण्डमा ब्रेल लिपिमा मुक्तक छन, दृष्टिविहीनले छामेर पढ्न सक्छन् । दोस्रो खण्डमा तिनै मुक्तक नेपाली भाषामा पनि छ । पुस्तकको अन्त्यमा नीशा केसीले ‘मुक्तक कसरी लेख्ने’ शीर्षक लेखमा सैद्धान्तिक
परिभाषा, तत्व आदिको जानकारी दिएकी छिन् ।
‘मुक्तक मोह’ कोनेको चौंथो कृति हो । यस अघि उनले ‘मुक्तक मेला’, ‘मुक्तक मन्त्र’ र ‘मुक्तक मोहिनी’ नामक कृति निकालेका थिए ।मुक्तक मोहको विमोचन क्रममा कोनेले दृष्टिविहिन प्रतिभाले लेखेका मुक्तकको पुस्तक र सिडी निकाल्ने घोषणा गरेका थिए । विमोचन गत फागुन २५ गते काठमाडौंमा भएको थियो । २०७० सालमा स्थापित प्रतिष्ठानका अध्यक्ष कोने स्थापित पर्यटन व्यवसायी पनि हुन् । (स्रोत सेतो पार्टी)

तपाईको प्रतिक्रिया