सवारी मजदुरको तीनपुस्ते विवरण संकलन शुरु

धरान/ सवारी दुर्घटनामा वृद्धि हुदै गएपछि सवारी मजदुरहरुको संघसंस्था, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरान, इलाका प्रहरी कार्यालय धरानले संयुक्त रुपमा सवारी मजदुरहरुको तीनपुस्ते विवरण संकलन शुरु गरेका छन् ।
धरानबाट पूर्व, पश्चिम तथा अन्य स्थानमा यात्रु बोकेर जाने सवारी मजदुरहरुको धरान ८ तीनकुने चेकपोष्टमा यातायात मजदुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी, धरान, इलाका प्रहरी कार्यालयले संयुक्त रुपमा यात्रुवाहक बसमा काम गर्ने चालक, सहचालक र परिचालकको तीनपुस्ते विवरण संकलन थालिएको
हो ।
पहिलो चरण अन्तर्गत धरानबाट छुट्ने सम्पूर्ण यात्रुबाहक बसका मजदुहरुको तीनपुस्ते विवरण संकलन गरी एकप्रति ट्राफिक कार्यालय, एक प्रति इलाका प्रहरी कार्यालय र मजदुर संघसंगठनहरुमा एक एकप्रति राखिने इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।
सवारी मजदुरको लापारबाहीका कारण दुर्घटना बढेको र ट्राफिक प्रहरीले कडाइका साथ चेकजाच नगरेको भन्ने व्यापक जनगुनासो आएपछि मजदुर संगठनबीच छलफल गरी ट्राफिक प्रहरी, इलाका प्रहरी कार्यालयले तीनपुस्ते
विवरण संकलन गरिएको उहाले बताउनुभयो । सबै पक्ष सचेत भएर अगाडि बढे दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षाका साथ धरानमा पहिलोपटक यात्रुवाहक बसमा काम गर्ने चालक, सहचालक र परिचालकको तीनपुस्ते विवरण संकलन शुरु गरिएको सरोकारवालाहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया