धरान÷नेपाली काँग्रेस धरान उपमहानगर समितिले यहाँस्थित बीपी
कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाहिरी तत्वको चलखेलका विरुद्ध एकजुट हुन आग्रह गरेको छ ।
उपमहानगर समितिका सचिव श्याम पोखे्रलले एक विज्ञप्ती प्रकाशित गरी त्यस्तो आग्रह गर्नुभएको हो । विज्ञप्तीमा भनिएको छ, धरानको गहनाको रुपमा स्थापित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यासताका देखि नै विवाद र असफल बनाउनका लागि केही
राजनैतिक शक्ति लागि परेको धराने जनता सामू छर्लङ्ग छ । प्रष्ठिानको क्षमता, सेवा सुविधा र यसको इज्जत प्रतिष्ठा एसियामै मनन गर्न योग्य रहँदा रहँदै विभिन्न खाले बाहिरी हस्तक्षेप र राजनैतिक प्रतिशोध र कसैको व्यक्तिगत स्वार्थले आज संस्था धराशायी हुँदै गइरहेको नेपाली काँग्रेसले महसुस गरेको छ ।
नेपाली काँग्रसका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला शिलान्यास गर्न आउँदा तत्कालीन प्रतिपक्षी पार्टीको भूमिका र अहिलेको चलखेलले विगत स्मरण गराएको भन्दै विज्ञप्तीमा जो कसैलाई कुनै जिम्मेवारी प्रदान गरेपछि उसको कार्य क्षमतालाई मुल्यांकन नगरी प्रतिशोधको भावनाले असफल बनाउने प्रवृत्तिले संस्था नै रहने हो कि नरहने हो भन्ने शंका उत्पन्न भएको जनाएको छ । प्रतिष्ठानको आन्तरिक व्यवस्थापकीय भूमिका निर्वाह गरिरहेका पदाधिकारीहरुको समिति निर्माण गरी प्रतिष्ठान नेतृत्वलाई अवमूल्यन गर्ने नजिर र प्रक्रियागत त्रुटी, पूर्वाग्रही, मानसिकताबाट नेतृत्वलाई विस्थापित गर्ने किसिमको मानसिकताले सिँगो प्रतिष्ठान, नगरबासीहरु र कर्मचारीहरुलाई विभाजनतर्फ उन्मुख गराएको विज्ञप्तीमा जनाइएको छ ।
