‘कुटुम्ब धर्म नहुँदो हो त मैले जान्या थिएँ,’ पम्फाका बुवालाई साथीको यो धम्की सहेर बस्नुको विकल्प छैन । छोरी गर्भमै हुँदा साथीको छोरासँग बिहेको छिनोफानो भएको छ ।
छोराछोरी गर्भमै हुँदा अभिभावकले बिहे पक्का गरिदिने कर्णालीको प्रथा हो– गर्भ छिटा । मण्डला नाटकघरमा प्रदर्शन भइरहेको नाटक ‘गर्भ छिटा’ले देखाउन खोजेको कथा यही प्रथामा केन्द्रित छ ।
‘मेरो घरमा पनि गर्भ छिटाको चलन थियो । कारणवश् म त्यसबाट जोगिएँ,’ नाटक निर्देशक हिरा बिजुली नेपालीले भने, ‘तर यो कुरा मेरो दिमागमा गढेर बसेको थियो । यस्ता कुरा बाहिर ल्याउनुपर्छ भनेरै नाटक बनाएको हो ।’
हिराकाअनुसार नाटकमा देखाए झैं कर्णालीमा अझै पनि गर्भमै हुँदा बिहे छिन्ने प्रथा विद्यमान छ । विकासका पूर्वाधारहरू अझै नपुगेको कर्णालीका लागि यस्ता प्रथा बाधक हुन् । यस्ता प्रथाले केटाकेटी जबरजस्ती वैवाहिक जीवनमा बाँधिन बाध्य छन् । प्रेम गर्ने स्वतन्त्रता छैन। विशेषगरी, केटीहरू आमाबाको इज्जतका लागि केटा जस्तो सुकै भए पनि बिहे गर्न तयार हुनुपर्छ । जाँडरक्सी खाने वा बिग्रेका केटासँग पनि बिहे गर्न बाध्य हुन्छन् ।
नाटककै प्रमुख पात्र पम्फाको नियति त्यस्तै छ । मानसिक अपांगता भएका मनसुरसँग बिहे गर्न उनी बाध्य छिन् । पम्फाको माया त आफ्नै घरका ’कमारा’ चाउरोसँग बसेको हुन्छ । ऊ चाउरोसँग चाहेर पनि बिहे गर्न पाउँदिनन् । चाउरोको बच्चा आफ्नो गर्भमा भए पनि पम्फाले मनसुरसँगै बिहे गर्नुपर्छ ।
यता आफ्नी प्रेमिका अर्कैले बिहे
गरेको शोकमा चाउरोले आत्महत्या गर्छ । उसको निधनमा मालिक रहेका पम्फाका बाले भन्छन् ‘त्यसको लाश लगेर फाल्दे । न मासु खानु, हाड घोट्नु !’ यो संवादले समाजमा निम्न वर्गको व्यक्तिलाई गरिने व्यवहार उजागर गर्छ ।
त्योबाहेक नाटकमा कर्णालीमा प्रचलित परम्परागत भैली गीतहरू सुन्न पाइन्छ । विभिन्न ठाउँमा तिहारमा खेलिने भैली कर्णालीमा पुसमा हुन्छ ।
परम्परागत सेतो पहिरन लगाएका युवतीहरू छिमेकमा भैली खेल्दै हिँडछन् । यो पहिरन पनि कर्णालीको सांस्कृतिक एवम् सांकेतिक पोशाक हो ।
‘अविवाहित केटीले सेतो पोशाक लाउँछन् । विवाहितले कालो वा रातो,’ हिराले भने, ‘बिहे भए पनि स्वीकार्न नचाहनेले भने सेतै लगाउँछन ्। जसरी वैवाहिक जीवनमा खुसी नभएकी पम्फाले पनि सेतै लगाउँछिन् ।’
नाटकमार्फत कर्णालीको संगीत, संस्कृति, भेसभुषा नजिकैबाट नियाल्न सकिन्छ । कर्णालीमा सडक नाटक गर्ने स्थानीय कलाकार र खस भाषाको प्रयोगले नाटक जीवन्त बनेको छ । करिब एक दशकअघि ‘कर्णाली दख्खिन बग्दो छ’ नाटक मञ्चन गरेका हिराले कर्णाली आर्ट सेन्टरमार्फत यो नाटक ल्याएका हुन् । यो नाटकलाई कर्णालीकै क्षेत्र जुम्ला, मुगु लगायतमा पनि देखाउने योजना रहेको उनले बताए ।
कर्णाली थिएटरका अध्यक्षसमेत
रहेका हिरा कर्णालीका गीतहरूमा पनि अध्ययन गर्दै छन् । कर्णालीका भौतिक तथा अभौतिक कथाहरु खोतल्दैछन् । स्कुलका केटाकेटीलाई ती कुरा सिकाउन चाहन्छन् ।
भन्छन, ‘पुरानोसँग सीप छ, तर नयाँ पुस्तालाई सिकाउने प्रवृत्ति नहुँदा त्यो हराउँदै गएको छ । हामी हराउँदै गएको यही कुरा जोगाउने प्रयासमा छौं ।’
नाटक ‘गर्भ छिटा’ काठमाडौंलाई देखाउनुको उद्धेश्य भने धेरैलाई थाहै नभएको कर्णालीको व्यथा देखाउनु हो । मंगलबार नाटक प्रदर्शन गरिएको थियो । (स्रोत–सेतो पाटी)
