विराटनगरमा हुने एनसिएल वुमन्स टी–२० क्रिकेट वैशाखमा, विजेताले १० लाख पाउने

विराटनगर÷आगामी वैशाख ७ गतेदेखि विराटनगरमा हुने एनसिएल वोमन्स टी–२० क्रिकेट लिग प्रतियोगिताको विजेताले १० लाख रूपैयाँ नगद पुरस्कार पाउने भएका छन् ।
विराटनगरस्थित बैजनाथपुर क्रिकेट मैदानमा हुने खेलमा ४ फ्रेन्चाइज टोलीको सहभागिता रहने छ ।
राजधानीमा सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक एनसिएल स्पोट्र्स प्राईभेट लिमिटेडले प्रतियोगिता बारे सम्पूर्ण जानकारी गराएको हो ।
प्रतियोगितामा विराटनगर रोअरिङ लायोनेस, भैरहवा क्विन्स, धनगढी वन्डर वुमन र काठमाडौं सुपर च्याम्पियन्स गरि चार टोलीको सहभागिता रहने जानकारी गराइयो । नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री (भैरहवा), सीता रानामगर (धनगढी ), नेरी थापा
(काठमाडौं),करूणा भन्डारी (विराटनगर) टोलीको मार्की खेलाडीका रुपमा छन् ।
सहभागी टोलीका मालिकमा अनुप सक्सेना (विराटनगर रोअरिङ्ग लायोनेस), दीपक सुवेदी र अनिल भण्डारी (भैरहवा क्विन्स), हरि खनाल (धनगढी वन्डर वोमेन) र नायिका रेखा थापा (काठमाडौं सुपर च्याम्पियन्स) रहेका छन् ।
टोलीको खेलाडी छनोटका लागि केही दिनमा अक्सन हुने जनाईएको छ ।
प्रतियोगितामा ग्रेड ए, बी र सी गरि तीन तहमा विभाजन गरिएको छ । अक्सनमा ग्रेड ए अन्तर्गतका खेलाडीको न्युनतम मूल्य ४० हजार र अधिकतम मूल्य ७५ हजार रूपैयाँ रहने छ । बी ग्रेडका खेलाडीको न्यूनतम मूल्य रु २५ हजार र अधिकतम मूल्य रु ५० हजार रुपैयाँ रहनेछ । त्यस्तै सी ग्रेडका खेलाडीको न्युनतम मूल्य १५ हजार र अधिकतम मूल्य रु २५ हजार रुपैयाँ रहनेछ ।
प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १० लाख रूपैयाँ र उप विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
हरेक खेलको प्लयेर अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीलेसमेत नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
एनसिएल स्पोट्र्सले एसियाकै पहिलो महिला फ्रेन्चाइज्ड लिग हुन लागेको दाबी पनि गरेको छ । यसभन्दा अघि चैत १ गते हुने भनिएको यस प्रतियोगिता मुख्यमन्त्री कप र यसै महिना प्रदेश ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका कारण चैत १ देखि ९ सम्मका लागि तय भएको क्रिकेट निर्धा्रित मितिमा हुन नसकेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया