धरान÷यस बर्षको एसईईको परीक्षा आगामी चैत्र १० गतेदेखि हुने भएको छ । यस अघि नै राष्ट्रिय परीक्षा बोर्डले सूचना प्रकाशित गरी चैत्र १० देखि ३१ गतेसम्म एसईईको परीक्षा कार्यतालिका प्रकाशित गरेको हो ।
यसपटकको एसईई परीक्षामा देशभरबाट करिब ५ लाख परीक्षार्थीहरुले परीक्षा दिने भएका छन् । यद्यपि, परीक्षार्थीहरुको फारम हाल धमाधम संकलन भइरहेकोले संंख्या केही बढ्न सक्ने परीक्षा बोर्डले जानकारी गराएको छ । स्कूल शिक्षाको जिम्मा स्थानीय तहलाई प्रदान गरिए तापनि स्थानीय तहले कुनै तयारी गर्न नसकेकाले बोर्डले नै सातवटै प्रदेशमा परीक्षा व्यवस्थापन कार्यालय स्थापना गरी परीक्षाको तयारी गरेको छ ।
प्रश्नपत्र र नतिजा प्रकाशनको काम राष्ट्रिय परीक्षा बोर्डले नै गर्ने भएता पनि परीक्षाको व्यवस्थापन र उत्तर पुतिकाको परीक्षण प्रदेश कार्यालयबाट हुने भएको परीक्षा नियन्त्रक रामशरण सापकोटाले जानकारी दिनुभयो ।
यस पटकको एसईई परीक्षाका कारण कक्षा ११ र १२ को परीक्षा भने प्रभावित हुने भएको छ । एकै समयमा दुवै परीक्षाको कार्यतालिका प्रकाशित भएपछि प्राविधिक र जनशक्तिको समस्या आउने देखिएको नियन्त्रक सापकोटाले बताउनुभयो ।
