धरान÷धरान साप्ताहिकले झण्डै दुई बर्षदेखि अन्तर्राष्ट्रिय स्तरको नन प्राक्टिसिङ्ग मेडिकल कलेज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रको चरम भ्रष्टाचारका विरुद्धमा कलम चलाउँदै आएको पाठकहरुबाट लुकेको छैन । एक्लो वृहस्पति झुठो हुन्छ भनेझै केन्द्रदेखि स्थानीय स्तरसम्मका अन्य सञ्चार माध्यमहरुले वास्तविकतालाई देखेनन् या देखेर पनि नियतबस उजागर गर्न चाहेनन् ।
अन्तत ः धरान साप्ताहिकले उठाएका मुद्दाहरु सरकार र राजनैतिक दलका समेत मुद्दा बन्न पुगे र सिनेटको ४२ औं बैठकले फागुन १७ गते शुक्रबार त्यसलाई प्रमाणित समेत गरेको छ । प्रतिष्ठानको ४२ औं सिनेट बैठकले प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई पदमुक्त गर्न प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली समक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानमा भएको भ्रष्टाचारका सम्बन्धमा छानविन समिति बन्ने संकेत गर्नुभएको छ । छानविन समिति बनेमा रौनियारसँगै निजका अन्य मतियारहरु समेत जेल जाने सम्भावना देखिएको एक सिनेटरले बताए ।
प्रतिष्ठानभित्रको भ्रष्टाचार, अनियमतिता, विकृति र विसंगतिका विरुद्धमा समाचार सम्प्रेषण गर्दा धराना साप्ताहिकलाई समेत प्रभावमा पार्न अनेकौ प्रयास भएका थिए । खुद्रे सप्लायर्स, ठेकेदार, मतियार र केही राजनैतिककर्मीहरुले गरम नरमको भाषा समेत प्रयोग गरेका थिए । तर धरान साप्ताहिक आफ्नो मिशनबाट विचलित भएन । धरान साप्ताहिकलाई मात्र नभएर नेपाली काँग्रेसका सुनसरी क्षेत्र नं. १ का प्रभावशाली नेता तथा प्रदेश सभा सदस्य चन्द्रप्रसाद श्रेष्ठलाई समेत काँग्रेसभित्रका केहीले धम्की दिएका थिए । यस सम्बन्धमा श्रेष्ठसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो मलाई पनि धम्की दिएका थिए । उपयुक्त समयमा ती नाम म उजागर गरौला उहाँले भन्नुभयो । धम्की दिनुको प्रमुख कारण प्रदेश सभा सदस्य श्रेष्ठले झण्डै एक बर्ष अगाडि संसदमा उपकुलपति रौनियारको चरम भ्रष्टाचारले प्रतिष्ठान अस्तव्यस्त भएकोले दोषीलाई सरकारले कारबाही गर्नुपर्ने प्रसंग उठान गर्नुभएको थियो । धरान साप्तहिकसँगको भेटमा प्रदेशसभा सदस्य श्रेष्ठले भन्नुभयो रौनियार भिसी बनेर आएदेखि नै प्रतिष्ठानको दुरावस्था शुरु भएको हो । उनी गलत व्यक्तिको सल्लाह र सुझावमा हिडे । अंकोलोजी, कार्डियोलोजी, एमसिएच भवन निर्माण प्रभावित बनाए, उपकरण खरिदका नाममा करोडौ अपचलन गरे । स्वास्थ्य मन्त्री दिपक बोहोरादेखि लिएर उपेन्द्र यादवसम्मले सिनेट बोलाउन दिएको निर्देशन उल्लंघन गरे । सिनेट बोलाएर फेस गर्दै गएको भए अहिले निजलाई बर्खास्तै गर्नुपर्ने अवस्था नआउन सक्थ्यो । पदाधिकारीको अधिकार खोस्ने, पाँच हजारको चेकमा समेत आफै हस्ताक्षर गर्ने, आफ्ना वरिपरिका दुई चार जना बाहेक कसैलाई विश्वासै नगर्ने र अन्तमा प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव केदारबहादुर अधिकारी र प्रधानमन्त्रीको निर्दैशनमा स्वास्थ्यमन्त्री संयोजक रहेको छानविन समितिको प्रतिवेदन अनुसार चरम भ्रष्टाचारको अभियोगमा निजलालई बर्खास्त गर्नुपर्ने अवस्था आयो, प्रदेश सदस्य श्रेष्ठले भन्नुभयो । उहाँले भन्नुभयो प्रतिष्ठान धरानेहरुको मात्र नभएर मुलुककै गहना हो । अब आउने उपकुलपति राजनीतिबाट माथि उठेको हुनुपर्छ । व्रिफकेश बुझाएर उपकुलपति बन्ने परम्परा कायम भए आगामी दिनमा पनि रौनियार प्रवृत्ति दोहोरिन सक्छ ।
को को हुन् रौनियारका मतियार
उपकुलपति राजकुमार रौनियारले आफ्नो झण्डै दुई बर्षे कार्यकालमा आर्थिक रुपमा प्रतिष्ठानलाई धरासायी मात्र बनाएनन् प्रशासनिक संयन्त्र, उपचार पद्धति समेत डावाडोल बनाएको कर्मचारीहरु बताउँछन् ।
उपकुलपति रौनियारले करिब ४ करोड नजराना लिएर नियुक्ति गरेका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साह, सहायक अस्पताल निर्देशक विकास साह, एसोसिएसट प्रोफेसर डेन्टल कलेजका डा. मन्नु विक्रम रौनियार, शिविल इन्जिनियर मदन साह, एमआरआई घोटाला गर्न उपकुलपतिलाई उकास्ने उपकुलपतिका मुख्य योजनाकार डा. प्रभात रञ्जन पोख्रेल लगायत राजनैतिक आडमा आफनो हस्ताक्षर सम्म गर्न सक्ने केही कर्मचारीहरु रहेका छन् ।
प्रधानमन्त्री कार्यालय स्रोतले दिएको जानकारी अनुसार रौनियारसँगै निजका मतियारहरुमाथि समेत कारबाही हुने भएको छ । सिनेटको ४२ अैं बैठकले राजकुमार रौनियारका गलत काममा साथ दिने माथि छानविन गर्ने निर्णय समेत गरेको छ । उपकुलपति रौनियारले नै डा. साहलाई अस्पताल निर्देशकमा नियुक्तिका लागि सिफारिस गरेका थिए । डा. साहलाई समेत बर्खास्ती सम्मको कारबाही हुने जनाइएको छ । प्रारम्भदेखि नै उपकुलपति रौनियारको निर्देशनमा डा. साहले खरिद गरिने उपकरण, औषधि सप्लायर्ससँग मोटो रकम कमिशन लिने गरेका थिए । यिनै साहले कम्प्युटर शाखाका इन्जिनियर सञ्जीव कर्णलाई आफ्नो कार्यकक्षमा बोलाएर गाली गलौजसँगै हातपातको प्रयास समेत गरेका थिए ।
होटलमा महत्वपूर्ण निर्णय
अस्पतालका महत्वपूर्ण निर्णयहरु गर्नुपर्दा लिक हुने भयले कतिपय निर्णयहरु होटलमा समेत बसेर गर्ने गरिएको निर्णयमा संंलग्न एक कर्मचारीले बताए । रौनियारको बर्खास्तीको निर्णयपश्चात छेपारोले रंगं
फेरे झै फेरिएका ती कर्मचारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने तरहराको लामा होटलको माथिल्लो तलामा बसेर पनि कतिपय निर्णयहरु भएका छन् ।
सहायक अस्पताल निर्देशक विकास साहले अस्पताल निर्देशकको सबै योजना बनाउने, बोलपत्र मुल्यांकनमा अन्य सदस्यहरुलाई डर त्रास देखाई उपकुलपतिको इसारा अनुसार अनियमित तरिकाले मुल्यांकन गर्ने गरेको, उपकुलपतिको जासुसीको भूमिकामा रही सहकर्मी शिक्षक तथा कर्मचारीहरुलाई अनावश्यक दुःख दिने कार्य गरेको उनले बताए । यसैगरी डा. मन्नु विक्रम रौनियारले उपकुलपतिको जासुसीको कार्यसँगै डेन्टल सम्बन्धी सप्लायर्सहरुसँग उपकुलपतिका लागि कमिशन बार्गेनिङ्ग गर्ने गरेको, सिभिल इन्जिनियर मदन साहले भवन ठेक्काको लागत अनुमानमा घोटाला गर्ने गरेको,
रजिष्टार लगायतका पदाधारीको जासुसी गरी उपकुलपति समक्ष पेश गर्ने गरेको, डा. प्रभात रञ्जन पोखे्रेलले समेत उपकुलपतिको गलत क्रियाकलापमा साथ दिएको कर्मचारीहरु नै बताउँछन् ।
