आइसिसी महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एसिया छनोटमा नेपालले चीनलार्ई पराजित गरेको छ । सोमबार थाइल्यान्डमा भएको खेलमा चीनलाई पराजित गर्दै नेपालले जारी प्रतियोगितामा चौथो जीत दर्ता गरेको हो। बैंककको डथाई क्रिकेट मैदानमा भएको पाँचौँ खेलमा नेपालले चीनलाई पाँच रनले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७७
रन बनाएको थियो । ७८ रनको विजय लक्ष्य पछ्याउने क्रममा चीनले २० ओभर खेल्दै ६ विकेट गुमाएर ७२ रनमात्र बनायो । चीनका लागि झान मेईले सर्वाधिक ३३ रन तथा सियोन झौले १८ रन जोडिन्। बलिङतर्फ नेपाललकी सीता राना मगरले तीन तथा कृष्ण कुँवरले १ विकेट लिइन । त्यसअघि ब्याटिङ गर्दै नेपालका लागि काजल श्रेष्ठले सर्वा्धिक १८ रन, सीता राना मगरले ११, बिन्दु रावलले १०, इन्दु बर्माले ८, नेरी थापाले अविजित ७ रन तथा सरिता मगरले ६ रन जोडिन। बलिङतर्फ चीनकी वाङ मेङ र हान लिलीले दुई–दुई विकेट लिए । जीतसँगै नेपाल ८ अंकसहित तेस्रो स्थानमा छ । नेपालले बुधबार कुवेतसँग खेल्नेछ ।
