आईसीसी वरियतामा नेपाली खेलाडीको छलाङ

नेपालका तीन खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को बरियतामा आफूलाई उल्लेख्य सुधार गरेका छन ।
आईसीसीले जारी गरेको टी–२० क्रिकेटको पछिल्लो बलिङ बरियतामा नेपालका सोमपाल कामीले २२ स्थान सुधार गर्दै ७० औं स्थानमा आइपुगेका छन् । यसअघि उनी ९२ औं स्थानमा थिए । ४०९ रेटिङ अंक पाएका सोमपालका लागि यो करिअरकै सबैभन्दा राम्रो उपलब्धिसमेत हो । बलिङतर्फ नै नेपालका बसन्त रेग्मीले पनि आफ्नो वरियता सुधारेका छन्। कामीसँगको समान रेटिङ अंकसहित उनी ७१ औं स्थानमा छन्।
आईसीसीका अनुसार सन्दीप लामिछानेले पनि आफ्नो वरियतामा सबैभन्दा बढी ३६ स्थान सुधार गर्दै १५९ औं स्थानमा आइपुगेका हुन् । यो पनि उनको करियरकै सबैभन्दा उत्कृष्ट फड्को हो ।
अलराउन्डरतर्फ कप्तान पारस खड्काले ४० औं स्थानमा उक्लिएका छन्। उनले ७६ रेटिङ अंक पाउँदै ४० स्थानमा पुगेका हुन् । सोमपाल कामी पनि  अलराउण्डरतर्फ ५१ औं स्थानमा पुगेका छन् ।
ब्याटिङतर्फ भने कप्तान पारस ९० औं स्थानमा छन् । अन्य कुनै पनि नेपाली खेलाडी ब्याटिङको शीर्ष १०० भित्र परेका छैनन् ।
टी–ट्वान्टी क्रिकेटको ब्याटिङ वरियताको शीर्ष स्थानमा पाकिस्तानका बाबर अजाम छन् ।  बलिङतर्फ शीर्ष स्थानमा अफगानिस्तानका युवा बलर राशिद खान र अलराउन्डरमा अष्ट्रेलियाका ग्लेन म्याक्श्वेल यथावत छन् ।

तपाईको प्रतिक्रिया