अवैध रुपमा सञ्चालित कलेजलाई कारबाहीको निर्देशन

इनरुवा÷जिल्ला प्रशासन कार्यालय इनरुवा सुनसरीले अवैध रुपमा सञ्चालित इनरुवा स्थित एलेन कलेज अफ इन्जिनियरिङ्ग प्रालिलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रतिले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटीको पूर्व क्षेत्रीय कार्यालय इटहरीको २०७५ माघ १७ गतेको च.नं.१९३ को पत्र मुताविक कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिनु भएको हो ।
सिटिइभिटीका पूर्व क्षेत्रीय निर्देशक डा. शिवप्रसाद दाहालद्वारा हस्ताक्षरित उक्त पत्र जिल्ला प्रशासन कार्यालयमा दर्ता भएसँगै कलेजलाई कारबाही गर्न निर्देशन दिइएको जिल्ला प्रशासन स्रोतले जानकारी दिएको छ । दर्ता गरिएको पत्रमा भनिएको छ, इनरुवा नगरपालिक वडा न. १ मा  रहेको एलेन कलेज अफ इन्जिनियरिङ्ग प्रा.लि.ले सिटिइभिटीको सम्बन्धन प्राप्त भनि विज्ञापन मार्फत विद्यार्थीहरुलाई प्रलोभन देखाइ बढी शुल्क लिई कम्प्युटर सिस्टम एडमिनेस्ट्रेसन एण्ड डेभलोपमेन्ट १३२० घण्टाको कार्यक्रम गैरकानुनी रुपमा सञ्चालन गरेको पाइएको हुँदा कलेजले उक्त कार्यक्रम बन्द गराई विद्यार्थीहरुलाई क्षतिपूर्ति दिलाउन आग्रह गरिएको छ । क्षेत्रीय निर्देशक दहालले कलेजलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाइ सकिएको बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया