विराटनगर÷नीजि क्षेत्रको लगानीमा बन्न लागेको विराटनगरको रानीदेखि सुनसरीको इटहरी–तहरासम्मको ३० किमीको दूरीमा चल्ने मनोरेलकालागि ७० प्रतिशत स्रोत जुटिसकेको मोनोरेल नेशनल प्रालिका अध्यक्ष पर्मानन्द मेहताले जानकारी दिनुभएको छ ।
कम्पनीले मनोरेलको सम्भाव्यता अध्ययन पूरा गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको तयार गरिरहेको र स्रोतका लागि कुनै समस्या नभएको मेहताले बताउनु भएको छ । कम्पनीले इटहरी–विराटनगर मनोरेलका लागि ३० अर्ब रुपैया खर्च हुने र २१ अर्बको सुनिश्चितता भइसकेको जनाएको छ ।
मोनो रेल निर्माणका लागि सात जना व्यवसायीहरु सम्मिलित मोनो रेल इन्टर नेशनल प्रालि नामको कम्पनी दर्ता गरेर विराटनगरमा कार्यालय समेत स्थापना भइसकेको छ । गत हप्ता कम्पनीका अध्यक्ष मेहताले एक औपचारिक समारोहबीच मोनोरेल कार्यालयको उद्घाटन समेत गर्नुभएको छ ।
उद्घाटन समयमा बोल्दै मेहताले विदेशमा रहेका नेपाली उद्योगी तथा अन्य वैदेशिक लगानीकर्ता समेत लगानी गर्न इच्छुक देखिएको र धेरै कम्पनीले साझेदारी गरिसकेको जानकारी गराउनु भएको थियो । यही फ्रेबुअरी भित्रमा लगानीकर्ताहरुसँग सम्झौता गर्ने तयारीमा कम्पनी जुटेको पनि उहाँले जानकारी दिनुभयो । कम्पनीले स्थानीय तहसँग पनि लगानीका लागि छलफल अगाडि बढाइएको, प्रदेश सरकारले पनि प्रारम्भिक अध्ययनका लागि अनुमति दिइएको समेत अध्यक्ष मेहताले बाउनुभयो । उहाँका अनुसार विराट मोनोरेल इन्टरनेशनल प्रा.लिमा यतिबेला १६ जना लगानी कर्ता छन् भने वैदेशिक लगानी जुटाउन कम्पनीले म्यानेजिङ डाइरेक्टर काजीमान आत्रेय र उपाध्यक्ष अजयकुमार सत्याललाई जिम्मेवारी दिइएको छ ।

