धरान÷निर्माण व्यवसायी एवम् समाजसेवी अनुज भट्टराईको अपहरणको आशंकामा खोजिका लागि यतिबेला व्यापक प्रहरी परिचालन भएको छ ।
धरान १४ विजयपुर निवासी भट्टराई पौष २३ गते सोमबारदेखि एक्कासी बेपत्ता भएपछि परिवारले खोजी गरिदिन प्रहरीमा जाहेरी दिएका थिए । बेपत्ता भट्टराईका दाजु एवम् धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईका अनुसार भाई अनुज ठेक्का पट्टाको काम समेत गर्दै आएको र सोमबार सडक डिभिजन कार्यालय विराटनरमा पेमेन्ट लिन जान्छु भनेर हिडेको तर हालसम्म घर नफर्किएको बताउनुभयो ।
सडक डिभिजन कार्यालय विराटनगरले दिएको जानकारी अनुसार अनुज भट्टराई सोमबार कार्यालयमा आएनन् ।
भट्टराईकी धर्मपत्नी सुजातालाई अनुजकै मोवाइलबाट ११.५८ बजे तपाईको श्रीमान हामीसँग छन् बेलुका सम्म फर्कन्छन् भन्ने म्यासेज आए पनि पुन एसेमेस फलो गर्दा सम्पर्क नभएको दाजु कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाका अनुसार मोवाइल फ्रिक्वेन्सीमा पूर्वतर्फ लागेको देखिए पनि हालसम्म वास्तविकता थाहा हुन सकेको छैन । पारिवारिक स्रोतका अनुसार व्यवसायी भट्टराईले केही समय अगाडि विजयपुरको आÏनो स्वामित्वको जग्गा २ करोड ६० लाखमा बेचेका थिए । उनले जग्गा बेचेपछि केही जग्गा दलाल, केही स्थानीय डनहरुले कमिशन माग्दै आएका थिए । त्यसवापत भट्टराईले ८ लाख दिएको पारिवारिक श्रोतले जनाएको छ । त्यति रकम दिँदा समेत केही युवाहरुले रकम माग्दै आएकोले तिनै युवाबाट भट्टराई अपहरित भएको हुन सक्ने प्रहरी र परिवारको आशंका छ । यस सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी तिम्सिना भन्नुहुन्छ हामीले शंकास्पद केही युवाहरुलाई ल्याएर सोधपुछ गरेका छौं । अनुसन्धानमा असर पुग्ने भएकोले तिनका नाम सार्वनिक गर्न नसकिएको उहाले बताउनुभयो । उता प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी केदार घिमिरेसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा खोजी कार्यलाई हाल तिब्रता दिएको छ ।
भट्टराईलाई अपहरण गरेर पूर्वतर्फ लगेको मोवाइल फ्रिक्वेन्सीले देखाएको हुँदा उनलाई भारत तर्फ लगेको हाम्रो आशंका छ । यद्यपि अहिले अनुसन्धान भइरहेकोेले थप बताउन नसक्ने पनि डिआइजी घिमिरेले बताउनुभयो ।

