थारू भाषाको नाटक ‘करोट’ शुक्रबादेखि सर्वनाम थिएटरमा मञ्चन भइरहेको छ। प्रणव आकाशको लेखन तथा निर्देशनमा तयार भएको नाटक थारु समुदायको मध्यमस्तरी परिवारमा लालचले निम्त्याएको कथा समेटिएको छ ।
गाउँघरमा एउटा भनाई छ– सुन भेट्नु राम्रो होइन। सुनले कलह निम्त्याउँछ । निर्देशक प्रणव आकाशले नाटकमा पनि सुनले निम्त्याएको कलहलाई देखाउन खोजेका छन् ।
मानिसमा जब लालच पलाउँछ, त्यहाँ कुनै न कुनै दुघर्टना भएकै हुन्छ। करोटको शाब्दिक अर्थ कोल्टे फेर्नु हो । लालचले परिवारलाई कसरी विचलनतर्फ धकेलिदिन्छ भन्ने पाठ नै नाटकमार्फत् देखाउन खोजेको निर्देशक प्रणव आकाशले बताए। उनले कथाको माध्यम थारु भाषा बनाइएपनि यो आम समुदायको कथा भएको बताए ।
दुई वर्षअघि सुशील चौधरीको लेखन तथा प्रणव आकाशकै निर्देशन रहेको भुरभुरा रहर नाटक मञ्चन भएको थियो । राजधानीको नाटकघरमा थारु भाषामा मञ्चन भएको यो पहिलो नाटक थियो । यो दुई वर्षको दौरानमा थारु भाषाको कुनै नाटक मञ्चन नभएपछि करोट मञ्चन गर्न अग्रसर भएको उनले बताए । यसले थिएटरमा थारु समुदायको युवाहरुलाई आकर्षण गर्नुका साथै थारु भाषा, सँस्कृतिलाई पनि प्रवद्र्धन गर्न सघाउ पुग्ने प्रणवको बुझाई छ ।
काठमाडौंमा मञ्चन सकेपछि मोफसलमा पनि नाटक देखाउने तयारी भइरहेको उनले बताए । प्रणवका अनुसार दाङ, बाँके, बर्दिया र कैलालीसम्म यो नाटक देखाउने योजना छ ।
एक घन्टामा समेटिएको नाटक बिहीबारबाहेक हरेक दिन साँझ ५ बजे सर्वनाम थिएटरमा मञ्चन हुनेछ । शनिबार भने १ बजे अतिरिक्त शो हुने निर्देशक चौधरीले बताए ।

