प्रतिष्ठान हाताभित्र निर्माण हुन लागेको फन पार्क रोक्न माग

धरान÷धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र सञ्चालित डिपो माविले फन पार्कको नाममा तेस्रो पक्षलाई जग्गा लिजमा दिएको विषयमा प्रतिष्ठानका कार्यरत चिकित्सक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरुले आपत्ति जनाउदै त्यसलाई रोक्न माग गरेका छन् ।
प्रतिष्ठानको मेडिकल एण्ड डेन्टल फेकल्टी वेलफेयर सोसाइटी, कर्मचारी कल्याण समाज, जुनियर रेजिमेन्ट वेलफेयर सोसाइटी र विद्यार्थी कल्याण समाजले संयुक्त रुपमा विज्ञप्ती प्रकाशित गरी प्रतिष्ठानको अनुमति विना फन पार्क निर्माण गरेकोप्रति आपत्ति प्रकट गर्दै निर्माण कार्यलाई
नरोकिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
मेडिकल एण्ड डेन्टल फेकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा. मधुर बस्नेत, कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङ, जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीकाका अध्यक्ष डा. कविराज पौडेल र विद्यार्थी कल्याण समाजका अध्यक्ष डा.अभिषेक अमरको संयुक्त हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘ नेपालकै एक अग्रणी स्वास्थ्य विज्ञान प्रतिष्ठान एवं पूर्वकै प्रमुख रेफरल अस्पताल भएको वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको एक प्रमुख धरोहर हो भन्नेमा कसैको दुइ मत नहोला । त्यसैगरी प्रतिष्ठानकै हाताभित्र सञ्चालित डिपोट स्कुलको पनि धरानको शैक्षिक क्षेत्रमा छुट्टै प्रतिष्ठा र गरिमा रहेको छ । तसर्थ प्रतिष्ठान र डिपोट स्कुलको संरक्षण, सम्वर्धन एवं जगेर्ना गर्नु यहाँ कार्यरत शिक्षक कर्मचारी र अध्ययनरत विद्यार्थीहरुको मात्र नभई सम्पूर्ण धरानवासी, पूर्वाञ्चलवासी र समग्रमा देशकै पनि जिम्मेवारी हो भन्ने हाम्रो ठहर छ ।’
पछिल्लो समय प्रतिष्ठानको सहमतिमा नेपाल सरकारले विद्यालयको प्रयोजनका निम्ति भोगाधिकार अर्थात उपभोग गर्न मात्र अधिकार दिएको जग्गा प्रतिष्ठान हाताभित्र रहेको डिपोट स्कूलले प्रतिष्ठान र नेपाल सरकारको सहमति विना तेस्रो पक्षलाई फन पार्क निर्माणका निम्ति ३० वर्षे लीजमा दिएको घटनाप्रति आफूहरुको ध्यानाकर्षण भएको भन्दै प्रतिष्ठान प्रशासन, स्थानीय तह एवं जिल्ला प्रशासनले कार्य अगाडी नबढाउन गरेको अनुरोधलाई समेत बेवास्ता गर्दै धमाधम् निर्माण कार्य अघि बढेकोप्रति गम्भीर बनाएको भन्दै सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएका छन् ।
डिपोट स्कुलले भोगाधिकारको उद्देश्य र प्रयोजन विपरित हुनेगरी प्रतिष्ठान र नेपाल सरकारको अनुमति विना फन पार्कका लागि ३० वर्ष लीजमा दिने कार्यले प्रतिष्ठानसंगको सम्झौता, प्रतिष्ठानको कार्यकारिणी समिति, संचालक परिषद र
मन्त्रिपरिषदको निर्णय एवम् भूमिसुधार तथा व्यवस्था मन्त्रालयको निर्देशनको ठाडो उल्लंघन भएको छ । त्यसैले यस किसिमको कार्य तुरुन्त रोक्न स्कुललाई यसै विज्ञप्ति मार्फत अनुरोध गरिएको छ । अनुरोधलाई नमाने ं संघर्षमा उत्रन बाध्य हुने पनि चेतावनी समेत दिएका छन ।

तपाईको प्रतिक्रिया