संकटा, विभागीय टोली एपीएफ र हिमालयन शेर्पा क्लब पल्सर शहिद स्मारक ‘ए’ डिभिजन लिगमा सोमवार विजयी भएका छन् । सातदोवाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको पहिलो खेलमा संकटाले जाउलाखेलाई २–० गोलले हरायो । एन्फामै भएको अर्को खेलमा एपीएफले फ्रेन्ड्स क्लबलाई १–० गोलले पराजित ग¥यो । हल्चोकस्थित एपीएफको मैदानमा भएको अर्को खेलमा शेर्पाले
सरस्वती युथ क्लबलाई १–० गोलले
पराजित ग¥यो ।
लिगमा संकटाको यो लगातार दोस्रो जित हो । जितसँगै संकटाले ६ अंक बनाएको छ । लिगको आफ्नो पहिलो खेलमा संकटाले सरस्वती युथ क्लबलाई १–० गोलले हराएको थियो । लगातार दुई खेल हारेको जाउलाखेले खाता खोल्न सकेको छैन । लिगको आफ्नो पहिलो खेलमा जाउलाखेल नेपाल पुलिस क्लबसँग १–० गोलले पराजित भएको थियो ।
खेलको सुरुवातमै १० खेलाडीमा समेटिएपनि संकटाले जाउलाखेललाई नियन्त्रणमा राखेको थियो । १९औं मिनेटमा संकटाका एलोन म्याक्सवेल दोहोरो पहेंलो (रातो कार्ड) पाउँदै बाहिरिएपछि संकटा १० खेलाडीमा समेटिएको थियो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा संकटाले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।
संकटाका लागि दुवै गोल अफ्रिकी खेलाडी सेड्रिक आबाले गरे । आबाले ५८ औं मिनेटमा सुवास गुरुङको पासमा खाता खोलेका थिए । उनले ८५ औं मिनेटमा अर्को गोल गर्दै टोलीको अग्रदा दोब्बर बनाए ।
इन्जुरी समयमा एपीएफको भाग्य
यसैगरी प्रतिस्पर्धात्मक खेलमा एपीएफले दोस्रो हाफको इन्जुरी समयमा गोलगर्दै लिगमा पहिलो जित हात पार्यो । एपिएफको जितमा प्रविन स्याङ्तान नायक बने । इन्जुरी समयमा फ्रेन्ड्सको रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै प्रविनले जाली चुमाएका थिए । जितसँगै एपिएफले दुई खेलबाटर चार अंक बनाएको छ । एपीएफ पहिलो खेलमा हिमालयन शेर्पा क्लबसँग बराबरीमा
रोकिएको थियो । दुवै खेलमा पराजय भोगेको फ्रेन्ड्ले पनि अंक जोड्न सकेको छैन । फ्रेन्ड्स पहिलो खेलमा थ्रीस्टार क्लबसँग पराजित भएको थियो ।
शेर्पाको सान
यसैगरी हल्चोक स्थित एपीएफ क्लबको मैदानमा भएको अर्को खेलमा हिमालयन शेर्पाले सरस्वती युथ क्लबविरुद्ध सानदार जित हात पारेको छ । शेर्पाले सरस्वतीलाई १–० गोलले पराजित ग¥यो । शेर्पाको जितमा विश्वास श्रेष्ठले गोल गरे । विश्वासले २९ औं मिनेटमा गरेको गोलनै शेर्पाका लागि प्रयाप्त बन्यो । शेर्पाले दुई खेलबाट चार अंक बनाएको छ । आफ्नो पहिलो खेलमा शेर्पा एपीएफसँग बराबरी खेल्दै अंक बाँडेको थियो । दुई खेलमा हार खेपेको सरस्वतीले पनि खाता खोल्न सकेको छैन ।

