बंगवन्धु गोल्डकपमा नेपालले राम्रो प्रदेर्शन गनेै अपेक्षा

साफ च्याम्पियनसिपको सेमिफाइनलमा ‘घाइते’ बनेको नेपाल १५ दिनको अन्तरालमा अर्को मिसनका लागि बंगलादेश पुगेको छ । यसपाली दाउमा छ बंगबन्धु गोल्ड कप ।
डिफेन्डिङ च्याम्पियन भएको नाताले यो प्रतियोगिता नेपालका लागि प्रतिष्ठाको विषय हुने नै भयो ।
तर, उपाधि जोगाउन नेपाललाई सजिलो छैन । यो पटक बंगबन्धु गोल्डकपमा सहभागी आयोजक बंगलादेश र नेपालबाहेक अन्य ४ टिम नयाँ हुन् । प्यालेस्टाइन, लाओस, ताजिकिस्तान र फिलिपिन्सले पहिलोपटक यो प्रतियोगिता खेल्दैछन् । सहभागी टिममध्ये फिफाको वरियतामा नेपाल चौंथो स्थानमा छ ।
नेपाल फिफा वरियतामा १६० औं स्थानमा छ भने प्यालेस्टाइन १००, फिलिपिन्स ११४ र ताजिकिस्तान १२० औं स्थानमा छ । नेृपालभन्दा पछि लाओस १७८ औं र बंगलादेश १९३ औं स्थानमा छन् ।
बंगबन्धु गोल्डकपकै लागि भनेर नेपालले तयारी गरेको धेरै दिन भएको छैन तर, विगत लामो समयदेखि नेपाली टिम अभ्यास र प्रतियोगितामा ब्यस्त नै छ ।
साफ च्याम्पियनसिपमा गरेको गल्ति सुधारेर बगवन्धुको उपाधि रक्षा गर्ने लक्ष्य लिएको प्रशिक्षक बालगोपाल महर्जन बताउँछन् । उनले भने, ‘एट्याकिङ र मिड्फिल्डमा सुधार्दै डिफेन्स लाईनलाई बलियो बनाउँछौं । साफ च्याम्पियनसिपमा हाम्रो डिफेन्स कमजोर थियो । अब त्यस्तो हुने
छैन ।’
मिडफिल्डर निराजन खड्का नेपालका सबै प्रतिद्वन्द्वी निकै बलियो भएको बताउँछन् । जितका लागि
हरेक टिमसँग् आफ्नो उत्कृष्ट खेल प्रस्तुत गर्नुपर्ने उनको विचार छ ।
समूह चरणमा बलियो प्रतिद्वन्द्वी पाएको नेपालले अहिलेसम्म प्यालेस्टाइन र ताजिकिस्तानलाई
पराजित गर्न सकेको छैन । सेमिफाइनल प्रवेशका लागि दुई मध्ये एकलाई पन्छाउनुपर्ने हुन्छ । ‘हो, समुहमा हामीभन्दा राम्रा टिम पनि छन् । तर, हामी पनि कमजोर भने छैनौं’ प्रशिक्षक महर्जनले भने ।
कप्तान विराज महर्जन थप्छन्, ‘सबै टिम बलिया छन् । तर, हाम्रो लक्ष्य भनेको उपाधि जित्ने नै हो ।’
नेपालको पहिलो खेल मंगलबार ताजिकिस्तानसँग बंगलादेशको सिलहेट जिल्ला रंगशालामा स्थानीय समयअनुसार बेलुकी ६ः३० बजे सुरु हुनेछ । नेपाल र ताजिकिस्तान पछिल्लो पटक एसियन कप छनोटमा भेट भएका थिए । पहिलो लेगमा ३–० गोलले
पराजित भएको नेपाल दोस्रो लेगमा २–१ ले पराजित भएको थियो ।
किरण र रोहितको अभाव खट्किन सक्छ
गोलकिपर किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द नेपाली फुटबल टिमका महत्वपूर्ण सदस्य हुन् । तर उनीहरु यो पटकको बंगबन्धु गोल्डकपमा देखिने छैनन् । एन्फाले कमजोरीले यो अवस्था आएको हो । किरण माल्दिभ्स र रोहित इन्डोनेसियामा व्यावसायिक फुटबल खेल्दै आएका छन् । एन्फाले उनीहरुलाई समयमै बोलाउन चुक्यो । त्यसैले उनीहरु आउन भ्याएनन् ।
किरणको स्थानमा विशाल श्रेष्ठ आएका छन् भने रोहितको स्थानमा तेज तामाङले मौका पाएका छन् । उनीहरुले किरण र रोहितलाई बिर्साउन सजिलो छैन । त्यसो त किरणपछि नेपाली टिमको गोलकिपिङ विकेश कुथुले सम्हाल्दै आएका छन् । त्यसकारण विकेशले बंगबन्धुमा पहिलो रोजाईमै खेल्ने प्रवल सम्भावना छ । साफ च्याम्यिनसिपमा भने उनी बेञ्चमा बसेका थिए ।
साफ च्याम्पियनसिपमा नेपालको मुख्य कमजोरी डिफेन्समा देखिएको थियो । यो प्रतियोगितामा नेपालको डिफेन्समै प्रशिक्षकले फोकस गर्नेछन् ।
डिफेन्समा कप्तान विराज महर्जनसहित अनन्त तामाङ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, आदित्य चौधरी र सुमन अर्याल छन् । पेपरमा यो पंतिm बलियो लाग्छ तर, मैदानमा कस्तो खेल्छ यसै भन्न सकिन्न ।
साफ च्याम्पियनसिपमा अनन्त र आदित्यले सबै खेलमा पूरै समयसम्म खेलेका थिए र
राम्रो प्रदर्शन पनि गरेका थिए । मिड्फिल्डमा सुजल श्रेष्ठ, सुनिल बल, विशाल राई, निराजन खड्का, तेज तामाङ, हेमन गुरुङ छन् । यसैगरी फरवार्ड लाइनमा ४ जना स्टार खेलाडी छन् भरत खवास, नवयुग श्रेष्ठ, विमल घर्तीमगर र अन्जन विष्ट । उनीहरु चारै जना राम्रै लयमा छन् ।

तपाईको प्रतिक्रिया