धरानमा अहिले सडक बालबालिकाको अवस्था दिनप्रतिदिन विकराल बन्दै गएको छ । स्थानीय सरकारले बालमैत्री स्थानीय शासन लागू गरे पनि सडक बालबालिकाको अवस्थामा खासै सुधार आएको छैन ।
बालबालिकाको वृत्ति विकासमा केन्द्रित रहदै धरानको १३, १४ र २० लाई बालमैत्री घोषणा गरिसकेको अवस्थामा धरानको व्यस्त बजारमा सडक बालबालिकाको अवस्था दयनीय रुपमा देख्न सकिन्छ । यसको निराकणका लागि स्थानीय सरकार एक्लैले नसक्ने र त्यसमा सर्वसाधारणको भूमिका पनि सकारात्मक हुनुपर्ने भन्दै आरम्भ नाट्य समूहले सडक नाटकमार्फत जनचेतना फैल्याउदै बालबालिकाको अधिकार सुनिश्चित गर्न बालबालिकासंग सहकार्य गरेर विभिन्न कार्यक्रमलाई अगाडि सारेको छ । यस अन्तर्गत पहिलो चरणमा धरानमा रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरु सम्मिलित गराई जनजेतना मुलक सडक नाटकमा केन्द्रित बनेको छ ।
बाल अधिकार सबैका लागि बराबर भन्ने मूल मर्म बोकेको नाटक ‘परिवर्तनका स्वरहरु’ अहिले धरान १४ का विभिन्न बाल क्लबहरुलाई सम्मिलित गरेर आरम्भले सडक नाटक प्रदर्शन गर्ने गरेको छ । सडक नाटकमात्र हैन बालबालिकाको क्षमतालाई हेरेर अन्य अतिरिक्त क्रियालापमा समेत आरम्भले समावेश गर्दै आएको छ ।
मुलुकले नया संविधान पाएको पनि तीन बर्ष भयो । नया संविधान जारी भएसंगै मुलुक संघीयतामा गएपछि स्थानीय
सरकारमा धेरै अधिकार आयो । बालबालिका भोलिका कर्णाधार भएको महसुस गरी प्रत्येक स्थानीय सरकारमा बालमैत्री स्थानीय शासन लागू भइसकेको छ । तर पनि पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको अवस्थामा सुविधा सम्पन्नमा हुर्केको धनाढ्य बालबालिका मात्र हैन सडक बालिबालिकालाई पनि बालमैत्री स्थानीय शासन लागू हुने सन्देशका साथ ‘परिवर्तनका स्वरहरु’ नामक सन्देश मूलक नाटकमार्फन जानकारी दिनका लागि हरेक कार्यक्रम तथा सडकमा समेत यो नाटक प्रदर्शन गरिएको आरम्भका अध्यक्ष एवम् नाटकका लेखक गोपाल देवानले बताउनुभयो ।
त्यसो त आरम्भले हिडाएको बाटोमा धरान १४ का बालबालिका समेत पछ्याउदै हिडेका छन् । उनीहरु अहिले आफ्नो क्षमता अनुरुपको प्रतिभा प्रस्तुत गर्नमा माहिर देखिएका छन् । धरान १४ मा ८ वटा बाल क्लब छन् । यी सबै क्लबका बालबालिका नाटक, लेखन प्रतियोगता, वतृत्वकला प्रतियोगिता, निवन्ध लेखन प्रतियोगिता, बुद्धिचाल प्रतियोगिता लगायतका विविध क्रियाकलापमा संलग्न हुन थालेका छन् ।
पछिल्लो पटक प्रदर्शन गरिदै आएको सडक बालबालिकालाई लक्षित गरी तयार परिवर्तनका स्वरुहरु नामक नाटकमा अभियनय गर्नु पाउदा आफू सन्तुष्ट भएको अभिनयमा संलग्न बाल कलाकार मनिता कोइराला बताउछिन् । सडक बालबालिका र अन्य बालबालिकाको अधिकार एउटै हो भन्ने सन्देश बोकेको यो नाटकमा नुनुताको भूमिका निर्वाह गर्ने मनिताले यसमा अभिनय गर्न पाएकोमा खुशी व्यक्त गरिन ।
यस नाटकमा सडक बालबालिकाहरुले सडकमा आफ्नो साथीलाई राखिने बोलाउन राखिएको नाम प्रयोग गरिएको छ भने अभिनय गर्ने बाल कलाकारहरुले नाटकमा जीवन्तता अभिनय प्रस्तुत गरेका छन् ।
चटपटे स्वभावको रोललाई जस्ताकोतस्तै अभिनय गर्ने अर्थात शुकेको अभिनय गर्ने सिर्जित सुवेदीले नाटक वास्तविक घटनामा आधारित भएकोले अभियन गर्दा आफू सन्तुष्ट भएको बताउनुभयो ।
धरान १४ बाट शुरुवात गरिएको यो अभियान धरानका २० वडामा पु¥याइने बताइएको छ । धरान १४ का वडा अध्यक्ष १४ नंं वडाका बालबालिका हरेक क्षेत्रमा उत्तिकै अब्बल भएको बताउदै अब धरानका अन्य वडामा समेत विस्तार गर्दै लानुपर्नेमा जोड दिनुभयो ।
आरम्भले चालेको यो कदमले समाजमा सकारात्मक सन्देश प्रवाह
गरेको छ । स्थानीय सरकारले लागू गरेको स्थानीय बालमैत्री शासनका विषयमा बालबालिकालाई जानकार दिदै बालबालिकाको वृत्ति विकासमा सहयोग पुग्ने खालका कामहरु गरे पक्कै पनि सरकारले ल्याएको बालमैत्री शासन प्रभावकारी रुपमा अगाडि बढ्नेमा दुई मत छैन ।

