एएफसी यु–१६ महिला च्याम्पियनसिप छनोट फुटबलको सम्पूर्ण तयारी पूरा भएको छ ।
अखिल नेपाल फुटबल सघं (एन्फा) ले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार पत्रकार सम्मेलन गरी छनोट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
एएफसी यु–१६ महिला च्याम्पियनसिप छनोटको समूह ‘ई’ मा आयोजक नेपालसँगै मलेसिया, फिलिपिन्स र म्यानमार छन् । छनोट प्रतियोगिता पर्सि बुधबारदेखि हलचोकस्थित एपीएफको खेल मैदानमा हुनेछ ।
प्रतियोगिताको लागि सबै टिम काठमाडौं आइसकेका छन् । छनोट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा असोज ३ गते फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै आफ्नो दोस्रो खेलमा नेपालले ५ गते म्यानमारसँग र अन्तिम खेल मलेसियासँग ७ गते खेल्दैछ ।
यो समूहको शीर्ष २ मा पर्ने
राष्ट्रले आगामी वर्ष थाइल्यान्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपमा भाग लिन पाउने छन् । एन्फाका महासचिव इन्द्रमान तुलाधरले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताउँदै नेपाल च्याम्पियनसिपमा छनोट हुने दाबी गरे ।

