खेम अधिकारी
कोटेश्वर (काठमाण्डौ)÷प्रधानमन्त्री केपी शर्मा ओलीको काठमाण्डौसम्म विद्युतीय रेलमार्ग सञ्चालन गर्ने भन्ने चुनावताका गरेको प्रतिबद्धताले अब चाहिँ पूर्णता पाउने भएको छ ।
दक्षिण एसियाका सात मुलुक नेपाल, भारत, बंगलादेश, म्यानमार, थाइल्याण्ड, भुटान र श्रीलंका सम्मिलित वहुप्राविधिक तथा आर्थिक सहयोगका लागि वंगालको खाडीको प्रयास ‘विमस्टेक’को चौथो शिखर सम्मेलनका क्रममा काठमाण्डौलाई
रेलमार्ग मार्फत भारतसँग जोडने समझदारी (एमओयु) भएको छ ।
यसका लागि रक्सौल काठमाण्डौ विद्युतीय रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन (प्रिलिमिनरी इन्जिनियरिङ्ग एण्ड ट्राफिक सर्भे) भारत सरकारले आफ्नै लगानीमा गरिदिने भएको छ । विमस्टेक शिखर सम्मेलनमा काठमाण्डौ आउनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा गत शुक्रबार त्यस्तो समझदारी (एमओयु) भएको हो । दुवै प्रधानमन्त्रीको समुपस्थितिमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसुदन अधिकारी र नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ । हस्ताक्षरित सहमति पत्र दुवै देशका प्रधानमन्त्रीले एक अर्कालाई हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरित सहमति अनुसार भारत सरकारको लगानी एवम स्वमित्वमा रहेको कन्कण रेलवे कपोेरेशन लिमिटेडले नेपालतर्फको अध्ययन गरिदिने भएको छ ।
रेल्वे अध्ययनका सम्बन्धमा दुवै देशका भौतिक मन्त्रालय, रेल्वे विभागका पदाधिकारीहरुका बीचमा एमओयु हुनुभन्दा अगाडि छलफल समेत भएको थियो । नेपाल रेल्वे विभागका महानिर्देशक अनन्त आचार्यका अनुसार आगामी चार महिना भित्रमा अध्ययन सिध्याउने योजना रहेको छ । अध्ययनका लागि कति लागत लाग्ने भन्ने कुनै कुरा नभएको र यो सबै भारत सरकारले व्यहोर्ने जनाइएको छ । आचार्यका अनुसार प्रारम्भिक प्राविधिक सम्भाव्यता अध्ययनका लागि भारत सरकारको रेल्वे मन्त्रालयले पहिले नै त्यहाँको सरकारी कम्पनी छनौट गरिसकेको छ । एमओयुमा हस्ताक्षर नभएका कारण काम अगाडि बढ्न सकेको थिएन । कम्पनीले आफ्नो अध्ययन पूरा गरेर प्रतिवेदन दिएपछि अन्य अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीसँगै निर्माण प्रक्रियाका कार्य आरम्भ हुने आचार्यले बताउनुभयो ।

