धरान÷प्रदेश नं. १ को नामाकरण लिम्बुवान किराँत खम्बुवान राख्नुपर्ने माग राखी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालले प्रदेश सभा संसदमा सोमबार धर्ना दिएको छ ।
प्रदेश नं. १ लाई लिम्बुवान किराँत खम्बुवान नामाकरण गरिनुपर्ने भन्दै लामो समयदेखि आन्दोलित हुँदै आएको मञ्चले सोमबार केन्द्रीय अध्यक्ष कुमार लिंगदेनको नेतृत्वमा संसद भवन अगाडि विराटनगरमा धर्ना दिएका हुन् ।
धरान, इटहरी, धनकुटा, तेह्रथुम, पथरी, दमक, विर्तामोड, इलाम, पाँचथरदेखिका लिम्बुवान कार्यकर्ताहरु धर्नाका लागि विराटनगर पुगेका थिए । भदौ १ गतेदेखि सशक्त चरणवद्ध आन्दोलनमा उत्रिएको मञ्चले लिम्बुवानको सबै जिल्ला सदरमुकाम र प्रमुख सहरहरुमा कोणसभा, इटहरीदेखि विराटनगरसम्म मार्च पास, राके जुलुस प्रदर्शन गरिसकेको छ । दिउँसो दुई बजे शुरु भएको धर्ना कार्यक्रम ५ बजे सम्पन्न भएको थियो । सो अवसरमा बोल्दै मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिंगदेनले भन्नुभयो, प्रदेश नं. १ को नाम सगरमाथा, कोशी राखे त्यसको परिणाम प्रत्युत्पादक हुनेछ । त्यसपछिको आन्दोलनको सामना गर्न उहाले चुनौति दिनुभयो । प्रदेश नं. १ को नाम लिम्बुवान किरात खम्बुवान नभए हजारौ लिम्बुवानी आएर प्रहरीको तारवार घोरा तोडेर सभामुखको कुर्सीैमा आफै बजेर प्रदेशको नाम राख्नेछौं ।
अध्यक्ष लिंगदेनले अगाडि भन्नुभयो, वर्तमान ओलीको सरकार नेपालका सम्पूर्ण जनजातिको पहिचान मेट्ने षड्यन्त्रमा लागेको छ । उहाँले चुनौति दिँदै भन्नुभयो प्रदेशको नामका लागि दुई नं प्रदेशका जनताले सबैभन्दा बढी रगत बगाएका छन् । पहिला दुई नंं प्रदेशको नाम राख्नुपर्छ । प्रदेश ४ लाई गण्डक प्रदेश नामांकन गरेर त्यहाका गुरुङ्ग, मगरको पहिचान मेटेको समेत बताउनुभयो । अध्यक्ष लिंगदेनको सम्बोधन अगाडि भेला भएका लिम्बुवान कार्यकर्ताले मुख्य मन्त्री शेरधन राईको राजीनामा माग गरेका थिए । एउटा सिडिओले समेत नटर्ने हैसियतमा रहेका मुख्यमन्त्री भन्दै उनीहरुले राजीनामा माग गरेका थिए ।

