इनरुवा÷भारतीय सीमासँग जोडिएको घुस्कीमा स्थानीय र सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बीचमा उत्पन्न विवादमा झडप हुँदा सात जना घाइते भएका छन् ।
झडपमा पाँच सशस्त्र प्रहरी र दई जना स्थानीय घाइते भएका छन् । गत हप्ता हरिनगरा ६ जटवारामा नेपाल प्रहरीसंग संयुक्त गस्ती गरेर फर्कदै गरेको सशस्त्र प्रहरीको टोली भारत तर्फबाट बाख्रा लिएर आउँदै गरेका स्थानीय महिला बीचमा भन्सार काट्ने विषयमा भएको विवाद अन्ततः झडपमा परिणत भएको थियो ।
विवाद बढ्दै जाँदा सशस्त्र प्रहरीले हरिनगरा गाउँ पालिका वडा नं. ७ बस्ने ३० बर्षीय गर्भवती महिला मेहनाज खातुनलाई कुटपिट गरेपछि विवादले उग्र रुप लिएको थियो । स्थानीयले दिएको जानकारी अनुसार नेपाल भारत सीमा क्षेत्रका स्थानीयहरु चरिचरनका लागि दुवैतर्फ आउजाउ गर्छन् । तर सशस्त्र प्रहरीले बाख्राको भन्सार काटेको रसिद चाहियो भनेर विवाद झिकेका थिए । बाख्रा चराएर आएका महिलाहरुले बर्षौदेखि आफूहरु भारततर्फ गएर बाख्रा चराएर ल्याउने गरेको बताउँदा बताउदै सशस्त्र प्रहरीले एक्कासी गर्भवती मेहनाजलाई आक्रमण गरेका थिए ।
सशस्त्र प्रहरीले महिलामाथि कुटपिट र गालीगलौज गरेपछि ठूलो संख्यामा स्थानीयहरु प्रहरीको ज्यादतिको प्रतिकारमा उत्रिएका थिए । सो क्रममा स्थानीयले प्रहरीको
राइफल समेत खोसेको थियो भने प्रत्युत्तरमा प्रहरीले हवाई फायसर गरेको थियो । खोसिएको राइफल पछि घुस्की प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक प्रेम कटुवालले फिर्ता ल्याएका थिए । स्थानीयको उपस्थिति बाक्लिदै गएपछि प्रहरीले अश्रु ग्याँस प्रहार गर्दैै घुस्की प्रहरी चौकी पुगेको थियो । स्थानीयले दिएको जानकारी अनुसार प्रहरीको गोली प्रहारबाट कैयुम जटको हातमा गोली लागेको छ । तर सशस्त्र प्रहरीका अनुसार जट भाग्ने क्रममा लडेर घाइते भएको बताउँछ । जटलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएको र अन्य थुप्रै स्थानीय घाइते भएको समेत स्थानीय दाउद अन्सारीले बताए । झडपमा सशस्त्र प्रहरीका नायव निरीक्षक दिलबहादुर तामाङ्ग, हवल्दार नेत्रबहादुर बस्नेत, जवानहरु भीम सुनुवार , डिल्लीराम दाहाल र विक्रम राजभर घाइते भएका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतिले थप स्थिति विग्रन नदिन घुस्की लगायतका क्षेत्रका प्रहरीको संख्या बढाइएको बताउनुभयो ।

