धरान÷सोझा साझा, घरमा परिवारका अन्य सदस्य नभएको मौका छोपेर लठ्याउने औषधि सुँघाएर, विष खुवाएर लुट्ने र चोरी गर्दै हिड्ने एक महिलालाई इलाका प्रहरी कार्यालय धरानले प्रक्राउ गरेको छ ।
सुनसरी जिल्ला साविकको भरौल ७ घर भई हाल इटहरी उपमहानगरपालिका वडा नं. १३ खनार बस्ने ५८ बर्षकी विष्णुकुमारी कटुवाल खड्का उर्फ राधा कार्कीलाई पीडितका परिवारले हुलियासहित दिएको जाहेरीको आधारमा प्रहरीले ती महिलालाई सोमबार धरान उपमहानगरपालिका वडा नं. १८ रत्नचौकबाट लठ्याउने औषधि र विषसहित प्रक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव
उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो ।
प्रक्राउ परेकी कटुवाल, खड्का उर्फ कार्कीले धरान उपमहानगरपालिका वडा नं. २ सदन रोडकी ७६ बर्षिया विष्णुकुमारी श्रेष्ठ, धरान १८ की धनमाया लिम्बुलाई लुटपाट गर्ने नियतले तीन दिन अगाडि लठ्याउने औषधि सुघाउदा दुवै महिलालाई परिवारले उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकष्मिक कक्षमा पु¥याउनु परेको थियो । धरान १८ की धनमाया लिम्बुकी बुहारी लक्ष्मी राईले दिएको जानकारी अनुसार शनिवार सासु आमा घर बाहिर फलैचामा बसिरहनु भएको थियो । उहाँको घुँडा दुख्ने गथ्र्यो । बुढाबुढी भएपछि ढाँड, घुँडा त दुखि हाल्छ । म निको बनाइदिन्छु भन्दै डिपो स्कुलको चउरमा पु¥याएर के खुवाएर ल्याइदिइन त्यसपछि उहाँ बेहोस हुनुभयो । तत्काल ती महिलालाई परिवारले स्कुटीमा खोजी गर्दे जाँदा बीपीभित्र कपडा फेर्दै गरेको अवस्थामा फेला पारी प्रहरीलाई बुझाइएको थियो । निज महिलाले धरान २ की विष्णुकुमारी श्रेष्ठलाई समेत त्यसैगरी सुँघाएर अचेत बनाएकी थिइन् । श्रेष्ठ र राईको परिवारले तत्काल प्रहरीलाई खबर गरी संयक्त जाहेरी समेत दिएका थिए ।
प्रहरी नायव उपरीक्षक पौड्यालले दिनुभएको जानकारी अनुसार ती महिलाको व्यागमा धुलो जस्तो सेतो पदार्थ र हरियो झ्यास समेत भेटिएको छ । धुलो के हो भन्ने एकीन नभएकोले सोको परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाउने तयारी भइरहेको छ । विष खुवाई जबरजस्ती चोरी, ज्यान मार्ने उद्योगमा निज महिला २०७० फागुनमा कारागार चलान भएकी र हालसालै जेलबाट छुटेकी थिइन् ।
