धरान÷नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति सुनसरीको शनिवार सम्पन्न भएको आठौं जिल्ला अधिवेशनले पूर्व प्रहरी नायव उपरीक्षक रुपम लामालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।
आगामी चार बर्षे कार्यकाल रहने संगठनको बरिष्ठ उपाध्यक्षमा पूर्व प्रहरी नायव निरीक्षक रामप्रसाद लामा, उपाध्यक्षमा पूर्व प्रहरी सहायक निरीक्षक धनकुमारी श्रेष्ठ, सचिवमा पूर्व प्रहरी हवल्दार बाबुराम कटुवाल, सह सचिवमा पूर्व प्रहरी नायव निरीक्षक शुभद्रा बस्नेत, कोषाध्यक्षमा पूर्व प्रहरी नायव निरीक्षक भगिन्द्रकुमार श्रेष्ठ, सह कोषाध्यक्षमा पूर्व प्रहरी हवल्दार पवित्रा बस्नेत र सदस्यहरुमा चन्द्र आचार्य, रमा श्रेष्ठ, राजकुमारी बस्नेत, मोहन राई, जगत श्रेष्ठ, थिरप्रसाद बन्जरालाई निर्विरोध निर्वाचित गरेको छ ।
चारसय २५ जना साधारण सदस्य रहेको संगठनको आगामी कार्यकालका लागि अध्यक्षको प्रत्यासीमा रुपम लामा, रामप्रसाद लामा, जुद्धबहादुर लोहनी प्रतिष्पर्धामा रहे तापनि पूर्व प्रहरी संगठन भित्रबाट निर्वाचनबाट पदाधिकारी छान्दा त्यसले राम्रो सन्देश नजाने भएपछि उद्घाटन सत्रदेखि नै सर्वसम्मतको प्रयास भएको र अन्तमा त्यसले उपयुक्त निकास दिएको संगठनका निर्वमान अध्यक्ष केदारबहादुर थापाले जानकारी दिनुभयो । बरिष्ठ उपाध्यक्ष लामाले आफ्नो संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, संगठनमा सिनियर अफिसर रुपम लामाको नाममा सर्वसम्मत हुनु संगठनका लागि
सकारात्मक कुरा हो । उता अध्यक्षका अर्का प्रत्यासीका रुपमा चर्चामा रहनु भएका जुद्ध लोहनीले भन्नुभयो जो भयो र साथीहरुबीचमा जुन सहमति भयो त्यो राम्रो भयो । मैले त इन्ट्रेस्ट मात्र देखाएको हुँ । केही दिनभित्रैमा म अमेरिका जाने भएकोले अन्तमा मैले रुपम लामालाई छाडिदिएँ ।
संगठनको उद्घाटन सत्रको प्रमुख अतिथि पूर्व डिआइजी भक्तिनाथ माझीले भूतपूर्व प्रहरी संगठन सुनसरी अन्य जिल्लाको तुलनामा सशक्त रहेको बताउनुभयो । राज्यलाई आवश्यक परेको बेलामा पूर्व प्रहरीले वहालमा रहेको अवस्थामा झै आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने प्रष्ट पार्नुभयो । उद्घाटन सत्रमा सुनसरीका प्रहरी प्रमुख राजन अधिकारी लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो भने सञ्चालन निवर्तमान सचिव याम कार्कीले गर्नुभएको थियो ।

